१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भरुवा बन्दुकसहित दुई युवक निकुञ्‍जको नियन्त्रणमा

रमेशकुमार पौडेल

चितवन — वन्यजन्तुको चोरी सिकारी गर्न लागेको सूचनाका आधारमा चितवन राष्ट्रिय निकुञ्जको टोलीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट दुई नाल भरुवा बन्दुक पनि बरामद भएको निकुञ्जले दाबी गरेको छ । चितवनको पहाडी क्षेत्र कालिका नगरपालिका–११ सिद्धीको सैपाम बस्ने २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा चेपाङ पक्राउ परेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

निकुञ्ज कार्यालय र निकुञ्जमा तैनाथ नेपाली सेनाको खड्क दल गणको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

सुरुमा जेठ १३ गते दिउँसो रत्ननगर नगरपालिका–६ सौराहाबाट राज चेपाङ समातिएका थिए । त्यसपछि सैपामबाटै सुन्दर पक्राउ परेका हुन् । घरबाट समातिएका सुन्दरले राखेको दुई थान भरुवा बन्दुक पनि बरामद गरिएको तिवारीले बताए ।

निकुञ्ज कार्यालयले बरामद गरिएको बन्दुक चितवन जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । प्रहरीले यस बारेमा थप अनुसन्धान गर्ने तिवारीको भनाइ छ । वन्यजन्तु सम्बन्धी कसुरका विषयमा चितवन निकुञ्जले नै थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : जेष्ठ १७, २०८० १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?