चेपाङ गाउँका लागि कफीका बिरुवा हुर्कंदै

रमेशकुमार पौडेल

चितवन — हर्लक्क बढेका कफीका बिरुवाले परेवाकोटको एउटा पहाडी टाकुरो नै हरियो भएको छ । परेवाकोट राप्ती नगरपालिका–१ पिप्लेमा पर्ने पहाडी गाउँ हो । त्यहाँ आदिवासी चेपाङ समुदायको मुख्य बसोबास छ ।

चेपाङ गाउँका लागि कफीका बिरुवा हुर्कंदै

पिप्ले परेवाकोटमा हुर्कंदै गरेका कफी नर्सरीमा धनबहादुर श्रेष्ठ । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

चेपाङसँगै तमाङ पनि बसेका छन् । ब्राजिल पुगेर फर्केका राप्ती–२ का धनबहदुर श्रेष्ठले ती कफीका बिरुवा हुर्काएका हुन् । तर समूह बनाएर चेपाङ र तमाङ समुदायलाई कफी खेती गर्न लगाउने उनको योजना छ ।

उनले कफीका दुई लाख बिरुवा हुर्काएका छन् । यसले १८० बिघा जमिनमा कफी खेती गर्न मिल्ने उनले बताए । ब्राजिलको अरबिका जातको कफी ल्याएको उनले बताए । ‘यो कफी समुन्द्र सतहबाट तीन सयदेखि एक हजार मिटर उचाइसम्म खेती गर्न सकिने जातको हो । राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा यसको खेती सम्भव छ,’ श्रेष्ठले भने । पानी परेपछि कफी रोप्न सुरु गरेको उनले बताए ।

परेवाकोटमा उनले व्यक्तिगत तवरमा पनि खेती गर्न लाग्दैछन् । साथै स्थानीयलाई समेटेर पाँचवटा समूह पनि बनाएका छन् । प्रत्येक समूहमा १५ जना छन् । ‘यो समूह चेपाङ र तमाङलाई नै राखेर बनाएको छ । समूहका लागि निःशुल्क कफीका बिरुवा दिनेछु । किनकि नर्सरी राख्दा उहाँहरूको श्रम परेको छ । यो पहाडी भेगमा अन्य खेती खासै भएको छैन । कफी नै यहाँको जिवनस्तर उकास्ने आधार हुने छ,’ श्रेष्ठले भने ।

रोपेको दुई वर्षपछि फल दिन सुरु भएर ३० वर्षसम्म निरञ्तर फल्ने उनले बताए । सुरुमा दुई तीन किलो फले पनि मल पानी राम्रो भए २० किलोसम्म फल दिने उनले बताए । ब्राजिलमा यही कफी खेतीमा लागेका आफन्त भएका कारण आफूले नेपाल आएर खेती गर्न आँटेको उनले बताए । रापेछापबाट ५४ सालमा चितवन आएका श्रेष्ठले सुरुमा कृषि नै गरेका थिए । उनले चितवनसहित मकवानपुरमा पनि कफी खेती गर्दैछन् ।

मकवानपुरमा पनि बिरुवा हुर्किरहेको उनले बताए । सबै ठाउँमा गरेर चार सय बिघामा कफी खेती गर्ने उनको तयारी छ । समूहबाहिर अन्यलाई पनि शुल्क लिएर कफीका बिरुवा बेच्ने उनले बताए । राप्ती नगरपालिकाका मेयर शमशेर लामाले आम्दानीको राम्रो स्रोत हुने भएका कारणले कफी खेतीलाई नगरपालिकाले प्रोत्साहित गर्ने बताउँछन् । ‘आर्थिक सहयोग होइन, अन्य नीतिगत विषयमा हाम्रो साथ छ’ मेयर लामाले भने ।

प्रकाशित : जेष्ठ १७, २०८० ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?