कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लालपुर्जा माग गर्दै र्‍याली

प्रताप विष्ट

हेटौंडा — मनहरी गाउँपालिकामा रहेको भूमिहीन तथा अव्यवस्थित बसोवासीहरुले जनस्तरबाट प्रदर्शनी गरी सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले तीन किलोमिटर दूरी सडक जाम गरेरै र्‍याली निकालेका थिए । लालपुर्जा दिलाउने प्रक्रिया नै रोक्न खोज्ने पर्सा राष्ट्रिय निकुन्जलाई ऐन कानुन ठूलो कि जनताको माग ठूलो भन्दै उनीहरुले चेतावनी दिएका थिए । 

लालपुर्जा माग गर्दै र्‍याली

मनहरीमा शनिबार भूमिहीनहरुले सरोकारवालालाई बोलाएर आफ्नो मागप्रति प्रतिबद्धता जनाउन दबाबसमेत दिएका थिए । माग पूरा नगर्ने भए मनहरी ‘भोट बैक’का लागिमात्रै होइन भन्ने सन्देश जनप्रतिनिधिहरुलाई दिएका थिए ।

संघीय सांसद महेशकुमार बर्तौला, वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेश सांसद इन्द्रबहादुर बानियाँ, संविधानसभा सदस्य राजाराम स्याङ्तान, वाग्मती प्रदेशका पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङ, पूर्वसांसद ओमबहादुर ग्लान, कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीसहितलाई साक्षी राखेर ‘भोट बैक’को रुपमा मात्र मनहरीलाई नलिन भूमिहीन किसानले चेतावनी दिएका थिए । यसरी जनस्तरबाट प्रश्न उठिरहँदा नेपाली कांग्रेसका जिल्ला सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ, राष्ट्रिय भूमि आयोगका अध्यक्षसमेत रहेका नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाल, माओवादी केन्द्रका वाग्मती प्रदेश सदस्य वीरबहादुर ग्लानलगायत कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा भूमिहीनको तर्फबाट हरिचन्द्र शाही ठकुरीले संघीय सांसद, प्रदेशका मन्त्री र सांसद तथा स्थानीय सरकारलाई छुट्टाछुट्टै प्रश्न राखेका थिए । ‘तपाईंहरु कानमा तेल हालेर बस्नु भएको हो कि अध्यक्षको आसनबाट बोल्दै भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समिति संयोजक क्षेत्रबहादुर मुक्तानले पर्सा राष्ट्रिय निकुन्जले अवरोध खडा गरेकाले अवरोध हटाएर तत्कालै लालपुर्जाको प्रक्रिया सुरु गर्न गराउन माग गरेका थिए । राष्ट्रिय भूमि आयोग गठन भएर स्थानीय सरकारले लालपुर्जाका लागि गरेको प्रयत्नमा समेत निकुन्जको तर्फबाट पत्राचार गरी किन अवरोध गरियो ?’ यसको जवाफ भूमिहीनले खोजेको भन्दै उनले भने, ‘सडक संघर्षको मैदानमा आफूहरु उत्रिएका छौं ।’

कार्यक्रममा सांसद बर्तौलालले आफूले नवनियुक्त वन तथा वातावरणमन्त्रीलाई मध्यवर्तीका देशभरिका समस्या हल गर्नका लागि वार्ता गर्न समय मागेको र त्यसबेला संघर्ष समितिका प्रतिनिहिरुलाई पनि लिएर भेट्न जाने प्रतिबद्धता जनाए । ‘म तपाईंहरुले भनेजस्तो कानमा तेल हालेर बसेको छैन’, उनले भने, ‘सम्मानित सदनमा यहाँको समस्या जस्ताको तस्तै उठाइरहेको छु ।’

वाग्मती प्रदेश सामाजिक विकासमन्त्री मोक्तानले प्रदेशभरकै समस्या समाधानका लागि सरकार सक्रिय रहेको जानकारी गराइन् । मध्यवर्ती क्षेत्रमा पर्ने मकवानपुरका केही स्थानीय तहका वडाहरुका समस्या समाधानका लागि ऐन नै संशोधन गर्नुपर्ने अवस्था रहेको र त्यो समस्या समाधानका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् ।

प्रदेश सांसद इन्द्रबहादुर बानियाँले लालपुर्जा प्राप्त हुने ठोकुवा गर्दै जनस्तरबाट कुरा उठ्न अझै ढिला भएको टिप्पणी गरे । ‘मध्यवर्ती क्षेत्रभित्रका बासिन्दाको जग्गा नापी नहुने भन्ने कुरा बाहिर आएपछि तपाईंहरु तात्तिनु भएको हो’, उनले भने, ‘तपाईंहरु यसरी तात्तिएपछि हामीलाई पनि काम गर्न सजिलो भएको छ, हामी पनि ऐन संशोधनका लागि घच्घच्याउने तहमा अब पुग्छौं ।’ भूमिहीनको समस्या समाधानका लागि रकम संकलन गरेर दुरुपयोग नगर्न समेत उनले आग्रह गरे ।

मनहरी-७ मनकामना मन्दिर परिसरमा अन्तरक्रिया कार्यक्रम सुरु हुनुअघि रमन्टार र सिमपानीबाट छुट्टाछुट्टै र्‍याली गरिएको थियो । र्‍यालीमा सहभागी सयौंका संख्याका भूमिहीनहरुले लालपुर्जाको माग गर्दै भ्रष्टाचारविरुद्ध समेत नाराबाजी गरेका थिए । स्वत:स्फूर्त रुपमा नागरिकको तहबाट आन्दोलन थालिएको र यसले निरन्तरता पाउने संघर्ष समितिका संयोजक क्षेत्रबहादुर मुक्तानले बताए ।

प्रकाशित : जेष्ठ १३, २०८० २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार रकम घोषणा गरेर दिन ढिलसुस्ती गर्ने सरकारी नियतलाई के भन्नुहुन्छ ?