उपचारका लागि संकलित रकमबाट ५० लाखको अक्षय कोष

काठमाडौँ — क्यान्सरको कारण दिवंगत त्रिभुवन विश्वविद्यालयकी कान्छी प्राध्यापक उर्मिला प्याकुरेलको उपचारका लागि संकलित रकमको अक्षय कोष स्थापना गरिएको छ ।

उपचारका लागि संकलित रकमबाट ५० लाखको अक्षय कोष

प्याकुरलेको ४५ दिनको पुण्यतिथिमा शनिबार आयोजित श्रद्धाञ्जलीसभामा ५० लाखको ‘प्रा डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान’ घोषणा गरिएको छ । कार्यक्रममा परिवारको सदस्यले अक्षय कोष घोषणा गरेका हुन् ।

प्राध्यापक प्याकुरेलको उपचारका लागि ५६ लाख रुपैयाँ संकलन भएको थियो । उपचारमा खर्च गरेर बाँकी ४८ लाख रुपैयाँसहित परिवारका सदस्यले थपेर ५० लाखको कोष स्थापना गरिएको हो । कोषको ब्याजबाट हरेक वर्ष अध्ययन/अनुसन्धान, साहित्य र क्यान्सरविरुद्ध जनचेतना फैलाउने काममा खर्च गरिने उर्मिलाका दाइ उद्धव प्याकुरलले जानकारी दिए । ‘विश्वविद्यालयमा अध्ययन अनुसन्धानमा उत्कृष्ट काम गर्ने विद्यार्थी, गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, साहित्य क्षेत्रमा योगदान गर्नेलाई सम्मान, क्यान्सरविरुद्ध जनचेतना फैलाउनेलगायत क्षेत्रमा सदुपयोग गरिनेछ,’ उनले भने । प्याकुरेलका गुरु तथा त्रिभुवन विश्वविद्यालयमा गणित विभागका प्रमुख टंकनाथ धमलाको संयोजकतत्वमा ‘प्राडा उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान’ प्रस्ताव पनि गरिएको छ ।

४२ वर्षीय प्याकुरेलको गत चैत २९ गते निधन भएको थियो । उनी ८ वर्षदेखि क्यान्सरसँग जुध्दै आएकी थिइन् । प्याकुरेलको उपचारमा संलग्न चिकित्सक राजेन्द्रप्रसाद बरालका अनुसार उनी स्तन, डिम्बाशय, कलेजो र फोक्सोजस्ता क्यान्सरसँग जुध्दै आएकी थिइन् । क्यान्सर भएकै बेला त्रिभुवन विश्वविद्यालयबा गणित विषयमा पीचएडी गरेकी थिइन् भने ४१ वर्षको उमेर प्राध्यापक भएकी थिइन् । ‘यो प्राज्ञिक क्षेत्रको लागि ठूलो क्षति हो,’ टंकनाथ धमलाले भने, ‘उर्मिलाजस्तो प्रतिभा जन्माउन सजिलो छैन ।’

आफ्नो जीवनभरको कमाइ उपचारमा सकिएपछि गत फागुन २४ गते प्याकुरेलले सहयोगका लागि अपिल गरेकी थिइन् । त्यसपछि उनको उपचारमा सहयोग गर्न अभियान चलाइएको थियो । ‘जति प्रयास गर्दा पनि बचाउन त सकिएन,’ बरालले भने, ‘भौतिक शरीर नभए पनि प्याकुरेल गर्न खोजेका अधुरा काम प्रतिष्ठानले गर्नु पर्नेछ । त्यसका लागि मेरो पूरै सहयोग रहनेछ ।’

सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका प्याकुरेलले सन् २०१६ मा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)बाट युवा वैज्ञानिक पुरस्कार पाएकी थिइन् । प्याकुरेल साहित्यिक क्षेत्रमा चाहिँ मधुश्री नामबाट चिनिएकी थिइन् । उनका कथा, गीतिकथा, कवितालगायत रेडियो नेपालको मधुवन कार्यक्रमबाट श्रृंखलाबद्धरुपमा सार्वजनिक भएका थिए । उनले बिरामी अवस्थामै पुस्तकसमेत लेखेकी थिइन् । त्यसलाई प्रतिष्ठानले जस्ताको तस्तै प्रकाशन गर्ने संयोजक धमलाले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १३, २०८० १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?