तालमारासँग सेल्फी

जमेका पानीका छिटोछिटो फैलिएर ताल–पोखरी ढाक्ने जलकुम्भी फुल्दा फोटो–भिडियो खिच्न होड
रमेशकुमार पौडेल

चितवन — संरक्षणकर्मीहरू ‘जलकुम्भी’ झारलाई ‘तालमारा’ भन्छन् । जसरी ‘वनमारा’ वनका रूखबिरुवाका लागि घातक हुन्छन्, छिटोछिटो फैलिएर ताल, पोखरी र खोनालानाला ढाक्ने जलकुम्भी पनि जल क्षेत्रका लागि समस्या बन्छ । पोखरेलीलाई बर्सेनि फेवातालमा बगेर आउने जलकुम्भी हटाउन ठूलो सकस छ ।

तर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका सामुदायिक वनभित्र केही तालहरूमा फैलिएर फुलेका जलकुम्भी फोटो र भिडियो खिच्नेका लागि रमाइलो दृश्य बनेको छ । जलकुम्भीका बैगुनी रंगका फूललाई पृष्ठभूमिका पारेर सामाजिक सञ्जालमा पोस्ट गर्नेको होड चलेको छ ।

सामाजिक सञ्जालमा पोस्ट हुने गरेका फोटो–भिडियोमध्ये कुन बेला के भाइरल हुन्छ थाहा नै हुँदैन । जब केही भाइरल हुन्छ त्यसपछि त्यही शैलीको फोटो भिडियो खिचेर पोस्ट गर्ने लहर चल्छ । अहिले बरन्डाभार क्षेत्रका विभिन्न तालतलैयामा फुलेका जलकुम्भीको गाँज निकै भाइरल भइरहेका छन् । पहिलापहिला महिना दिनमा फाट्टफुट्ट ताल डुल्न पुग्नेहरू हुन्थे । अहिले दिनमै सयौं जना जान थालेका छन् ।

भरतपुर–६ केशरबागको नवज्योति मध्यवर्ती सामुदायिक वनभित्र छ ‘किङ फिसर’ ताल । त्यो ताल वरपर अहिले छुट्टै चहलपहल छ । शुक्रबार बिहान १० बज्दानबज्दै वनका कर्मचारी प्रवेश टिकट काट्न बसिसकेका हुन्छन् । ‘आज त त्यस्तो अलि भीड हुँदैन । भोलि शनिबार राम्रै चहलपहल हुन्छ । घुम्न आउनेलाई बेच्न खाजा पसलहरू पनि यहाँ वरपर खुल्ने छन्,’ शुक्रबार वनका एक कर्मचारीले भने । सामुदायिक वनका अध्यक्ष भीमलाल आचार्यका अनुसार गेट १० देखि ५ बजेसम खुला हुन्छ । दिउँसो २ बजेपछि बल्ल चहलपहल बढ्छ । ‘अरू दिन त्यस्तै दुई/तीन सय आउँछन् । शनिबार सात सयसम्म आउँछन्,’ अध्यक्ष आचार्यले भने, ‘अरू बेला महिना दिनमा पनि सय जना पुग्न गाह्रो थियो ।’ १५/२० दिनयता ताल ढाक्ने गरेर जलकुम्भी फुलेपछि एकाएक भीड बढेको उनले बताए ।

आउनेहरूले फोटो–भिडियो खिच्छन् । फर्कने बेलामा ‘गमलामा सार्छौं’ भनेर पनि केहीले फूलसहितका जलकुम्भी लैजान्छन् । काठमाडौंदेखि मान्छेहरू ‘भाइरल’ भएको ताल कुन हो ? भन्दै खोज्दै आएको उनले बताए । कोही कोहीले त भिडियो फोटो हेरेर कमलको फूल होला भन्ने ठान्ने बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनकी अध्यक्ष ज्ञानु सुनारले बताइन । ‘यहाँ आएर जलकुम्भी पो रहेछ भनेर अलि निराश पनि हुन्छन् । नभए यहाँ आएर नरमाउने कोही छैन,’ उनले भनिन् । फोटो–भिडियो खिच्नेहरू जलकुम्भीको गाँजमा नै बस्न जाने गरेको दक्षिणकाली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बाबुराम न्यौपानेले बताए । ‘अलिअलि त अघिल्ला वर्षहरूमा पनि फुल्थ्यो । यो वर्ष यसरी ढकमक्क फुल्यो,’ उनले भने, ‘पानी कम परेर पो यसो भएको हो कि ? बितेका वर्षहरूमा पानीले ताल भरिन्थ्यो । अहिले पानी छैन । मान्छे बीचबीचमा गएर फोटो भिडियो खिच्छन् ।’

वन प्रवेश गरेको एक जनाको २५ रुपैयाँ लाग्छ । मान्छे धेरै आउँदा आम्दानी नभएको होइन तर तालमा जलकुम्भी फुल्दा मन भने नरमाउने वन समूहका अध्यक्षहरू बताउँछन् । ‘यो जलकुम्भीले ताललाई राम्रो गर्दै गर्दैन । तर मान्छेले त्यसैलाई रमाइलो माने,’ नवज्योति मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भीमलाल आचार्यले भने । पानी बग्ने क्षेत्रभन्दा जमेका पोखरीलाई जलकुम्भीले ढाकोका छन् ।

जलकुम्भी फैलिनुलाई चितवन राष्ट्रिय निकुञ्जले भने समस्या मानेको छ । ‘यो फूल्छ, कहिन्छ र यसले ताल नै पुर्छ,’ निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले भने । बरन्डाभार क्षेत्रको महत्त्वपूर्ण जलाशय बीसहजारी तालको जलकुम्भी हटाउन ठूलो मिहिनेत र रकम खर्च भएको उनले बताए । ‘त्यसैले मान्छे आए, फोटो भिडियो खिचे रमाएर भनेर त्यसै छाड्न हुन्न । यसलाई निकालौं । नभए यसले ताल ढाक्छ । अन्य जलचरलाई संकटमा पार्छ र एक दिन ताल नै सुकाउँछ,’ यादवले भने । उनी जलकुम्भीलाई ‘तालमारा’ अर्थात् ताल नाश गर्ने मिचाहा झार भएको बताउँछन् ।

निकुञ्जको बरन्डाभार मध्यवर्ती उपभोक्ता समितिका कावा अध्यक्ष देवराज सापकोटा पनि यो समस्या ल्याउने मिचाहा झार भएको बताउँछन् । तर उनको फरक तर्क पनि छ । ‘यसको फूल राम्रो देखेर मान्छेहरू झुम्मिए । सबै ठाउँमा त होइन तर केही दुई/चार ठाउँमा यसलाई फूल खेल्न छाडिदिए मान्छे आउने थिए । तर त्यो काम व्यवस्थित र अन्यत्र फैलन नपाउने गरेर नियन्त्रित रूपमा हुनुपर्छ,’ सापकोटाको सुझाव छ ।

चितवन निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरे पनि सापकोटाको सुझावसँग सहमत छन् । निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना जलकुम्भीको फूल देखाएर पर्यटक बढाउन खोज्ने चिन्तनले तालहरू नै नरहने जोखिम बढ्ने बताउँछन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका प्रमुख रचना शाहले जलकुम्भी जोगाउनभन्दा उखेल्न उपयुक्त हुने बताउँछिन् । बाटुली पोखरी ताललगायत बरन्डाभार क्षेत्रमा रहेका तालतलैयाहरू गंगानगर सिँचाइ आयोजनाको मुहान हो । यी तालहरू कृषि प्रणालीसँग पनि जोडिएका छन् । ‘त्यसैले तालका लागि घातक मानिने जलकुम्भीको नियन्त्रण बेलैमा गर्नु आवश्यक छ,’ राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरेले भने ।

प्रकाशित : जेष्ठ १२, २०८० २२:११
प्रतिक्रिया
पठाउनुहोस्

खेलकुद प्रतिभाबाट ६ खेलाडी सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार राष्ट्रिय खेलकुद प्रतिभाबाट ६ खेलाडीसहित ९ खेलकर्मीलाई नगदसहित सम्मान गरेको छ । सम्मानित हुनेमा प्रशिक्षक, निर्णायक र खेल चिकित्सक पनि छन् ।

खेलाडीतर्फ उसुका विश्व बुढामगर र मीना ग्लान, तेक्वान्दोका गीता विष्ट, नीरज देउवा र प्रेमकुमार दर्नाल तथा पारा बास्केटबलका रामबहादुर तामाङ सम्मानित भए ।

प्रशिक्षकमा करातेकी तारा गुरुङ श्रेष्ठ, निर्णायकमा तेक्वान्दोका दीपेन्द्र ढकाल र खेल चिकित्सकमा प्रा.डा. नवीसमान सिंह प्रधान सम्मानित भएका छन् । सबैलाई जनही १ लाखसहित सम्मान गरिएको हो ।

यसैबीच खेलकुद मन्त्रालयले खेल पत्रकारिता सम्मान तथा प्रोत्साहन पुरस्कार गरी १० जनालाई प्रदान गरेको छ । सेतोपाटीका सीताराम कोइराला खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भए । उनले ५० हजारसहित सम्मान थापे ।

प्रदेशतर्फ खेलपत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनेमा कोशीबाट कान्तिपुर टेलिभिजनका अर्जुनकुमार सुवेदी, मधेशबाट इकागजका सन्जिवकुमार शाह, वाग्मतीबाट रेडियो कान्तिपुरका सुवास बिडारी, गण्डकीबाट आदर्श समाजका धनबहादुर गुरुङ, लुम्बिनीबाट आदर्श समाजकै विजय नेपाल, कर्णालीबाट अन्नपूर्णका ललितबहादुर बुढा र सुदूरपश्चिमबाट अनलाइन सुदूरआजका पूर्णबहादुर खड्का छन् । पत्रकारिता प्रोत्साहन पुरस्कार समावेशीतर्फ कान्तिपुर दैनिकका सुर्खेतकी ज्योति कटुवाल र पोखराका दीपक परियार सम्मानित भए । उनीहरूले २५ हजारसहित प्रशंसापत्र प्राप्त गरे ।

उनीहरूलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले सम्मान प्रदान गरे ।

प्रकाशित : जेष्ठ १२, २०८० २२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×