सडक डिभिजनका चालकको मृत्युपछि प्रदर्शन

केदार शिवाकोटी

दोलखा — डिभिजन सडक कार्यालय चरिकोटका चालकको रहस्यमय मृत्यु भएपछि छानबिनको माग गर्दै मृतकका आफन्त र स्थानीयहरूले जिल्ला प्रहरी कायार्लय घेराउ गर्दै प्रदर्शन गरेका छन् ।

पीडितलाई क्षतिपूर्ति र अनुसन्धानको माग गर्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय घेराउ गर्नुका साथै दोलखा सिंगटी सडक अवरुद्ध पारेका छन् । उनीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्नुका साथै सडक अवरुद्ध पारेका हुन् ।

जेठ ८ गते माता मनकामना कन्ट्रक्सन निर्माण कम्पनीले निर्माण गरिरहेको सडक निर्माणको काममा डिभिजन सडक कार्यालय चरिकोटबाट गएका भीमेश्वर नरगपालिका- १ का ३४ वर्षीय नारायण थामी तामाकोशी नदीमा मृत फेला परेका थिए ।

उनीहरूले प्रहरीविरूद्व नाराबाजी गर्नुका साथै ठेकेदारलाई कारबाही र उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । पीडितले सडक अवरुद्ध पारेपछि दोलखा, सिंगटी चरिकोटको यातायात प्रभावित बनेको छ । डिभिजन सडकमा कार्यालय टिपर चालक रहेका थामीलाई सडक कार्यालयबाट निर्माण कम्पनीले कामका लागि निर्माण गरिरहेको क्षेत्रमा लगेको थियो ।

उनी गत ७ गते तामाकोशी नदीमा बेपत्ता भएका थिए । दोलखाका प्रहरी प्रमुख दिपक खड्काले निर्माण कम्पनी र मृतकको परिवारबीच सहमित भएको बताएका छन् । पीडित पक्षले भने आफूहरूसँग कुनै सहमित नभएको भन्दै तीन दिनदेखि मृतकको शव बुझ्न मानेका छैनन् ।

प्रकाशित : जेष्ठ १०, २०८० १५:५०
प्रतिक्रिया
पठाउनुहोस्

जलनपीडितको उपचारका लागि सुविधासम्पन्‍न अस्पताल र सहयोग चाहिन्छ : सांसद भण्डारी

ग्यास बाल्ने, बिजुली बाल्ने, सडक क्रस गर्ने जस्ता विषय स्कुले पाठ्यक्रममा नै समेट्नका लागि सांसद भण्डारीले सरकार समक्ष आग्रह गरेका छन् ।
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जलन पीडितलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । क्यान्सर, मुटु र किड्नीका बिरामीलाई सरकारले उपचार खर्च दिइरहेको र त्यसमा जलन पीडितलाई पनि दिन आग्रह गरेका छन् ।

खाना पकाउने ग्याँसको जलेर घाइते भई भारत र नेपालमा उपचार गराएका सांसद भण्डारी पहिलोपटक बुधबार प्रतिनिधिसभा बैठकमा बोलेका हुन् । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा भण्डारीले दुर्गम क्षेत्रका र आर्थिक अवस्था कमजोर भएका जलन पीडितको पक्षमा सरकारले निर्णय गर्नुपर्ने माग गरेका छन् ।

गत पुस ३ गते भण्डारी बस्दै आएको बुद्धनगरस्थित घरमा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका थिए । उनकी आमाको भने निधन भएको थियो । आफू शौभाग्यबस बाँचेर संसद्मा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरू विश्वका कुनै पनि चिकित्सकहरू भन्दा कम नभएको पनि उनले बताए ।


सांसद भण्डारीले नेपालमा जलन अस्पतालको स्थापना गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । 'छिमेकी देशमा मलाई पठाएर मैले त्यहाँ गएर हेरेँ । डाक्टरहरूले भन्नु भयो–विगत ३ वर्षमा ३ जना मानिसमात्रै भेन्टिलेटरमा गएर बाँचेका रहेछन् । त्यसमध्ये म एउटा नेपाली सौभाग्यले बाँचेर यहाँ बोल्न पाएको छु । यसको बारेमा मैले केही बोल्नुनै पर्ने हुन्छ । आज गर्वका साथ म भन्न चाहन्छु–अरु देशमा भन्दा हाम्रा देशका स्वास्थ्यकर्मीहरू, डाक्टरहरू कम छैनन् । कन्फिडेन्ट डाक्टरहरू छन्,' उनले भने, 'हाम्रो कीर्तिपुरमा ११-१२ जना डक्टर हुनुहुन्छ । सुष्मा ट्रष्टमा उत्तिकै डाक्टर हुनुहुन्छ । फिजियोथेरापिष्ट र नेपालको डाक्टर त विश्वकै प्रतिस्पर्धी हुनुहुन्छ भन्ने लाग्छ मलाई । यसकारण मैले आउँदाआउँदा पनि प्रधानमन्त्रीजीलाई अनुरोध गरेँ–हामीले एउटा हस्पिटल बनायौं भने एसियाकै सबैभन्दा सबल हस्पिटल नेपाल बन्न सक्छ । क्लाईमेटको हिसाबले पनि, खर्चको हिसाबले पनि ।' जलन पीडितको उपचार गर्ने अस्पताललाई भवनको आवश्यकता रहेको पनि उनले बताए ।

यस वर्ष मात्रै जलनबाट १११ जनाको मृत्यु भइसकेको उल्लेख गर्दै सांसद भण्डारीले जलनको विषयलाई गम्भीर रुपमा लिनुपर्ने बताएका थिए । साथै यस्ता विषयलाई सरकारले स्कुले पाठ्यक्रममा नै समेट्नुपर्ने उनको सुझाव थियो । 'ग्यास कसरी बाल्ने, बिजुली बाल्ने, सडक कसरी क्रस गर्ने जस्ता विषय पाठ्यक्रममा नै समेटिनुपर्छ,' भण्डारीले भनेका थिए ।

सांसद भण्डारीले ग्यासको रेगुलेटर स्वचालित मात्रै प्रयोग गर्ने कानुनी व्यवस्था र कडाइका साथ कार्यान्वन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले स्वचालित रेगुलेटर प्रयोग गर्ने व्यवस्था गरेमा धेरैको ज्यान जोगिने बताए । जलनमा परेकाको उपचार दुर्गम र आर्थिक अवस्था कमजोर भएकाको झनै समस्यामा रहेको भण्डारीको भनाइ थियो ।


प्रकाशित : जेष्ठ १०, २०८० १५:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×