नीति निर्माणमा बिचौलियाको सहभागिता देखियो : प्रमुख सचेतक काफ्ले 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका प्रमुख सचेतक कुन्दनराज काफ्लेले सरकारको नीति निर्माणमा बिचौलियाहरुको सहभागिता देखिएको भन्दै विरोध गरेका छन् ।

सत्तारुढ दलको प्रमुख सचेतक रहेका काफ्लेले मंगलबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै नीति निर्माणमा बिचौलियाहरु हाबी भएको आरोप लगाएका हुन् । ‘भ्रष्टाचारका कुरा सबैतिर सुनिन्छ ।तीन तह नै भ्रष्टाचारमा लिप्त भएको ठाउँ-ठाउँमा सुनिन्छ । प्रदेश सरकारले त्यसलाई रोक्न पहल लिनुपर्ने हो । तर यहाँ सरकारको नीति तथा कार्यक्रम निर्माणमै विचौलियाहरु हाबी भएको देखिएको छ,' उनले भने ।

उनले सरकारले सबैतिर हाबी भएका बिचौलिया नियन्त्रणमा प्रभावकारी कदम चाल्न सक्नुपर्ने बताए । उनले सरकारले नराम्रो काम गर्दा सांसदहरुले खबरदारी गर्न सक्नुपर्ने बताए ।। आफ्नै दलको नेतृत्व भए पनि सरकारले गरेका नराम्रा काममा ताली पिट्नेभन्दा खबरदारी गरेर संघीयतालाई थप विश्वसनीय बनाउनुपर्नेमा उनको जोड थियो । ‘सांसदहरुले सरकारले गरेका नराम्रा कुराहरुलाई खबरदारी गर्नुपर्दछ,’काफ्लेले भने, 'सत्तापक्ष वा विपक्ष भनेर गलत प्रवृत्तिलाई बढावा दिन मिल्दैन ।'

उनले देश संघीयतामा गए पनि प्रदेशहरु अझै केन्द्रकै भर पर्नुपर्ने अवस्था देखिएको बताए ।

प्रकाशित : जेष्ठ ९, २०८० १९:४९
प्रतिक्रिया
पठाउनुहोस्

नाडाले भन्यो- एसेम्बलिङ उद्योगको छुट कटौती गर्न पाइन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी बजेटमा एसेम्बलिङ उद्योगलाई भन्सार र अन्तःशुल्कमा दिइँदै आएको छुट सुविधा कटौती गर्न नपाइने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बलिङ उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न लाग्ने महसुलमा विभिन्न छुट र नीतिगत सुविधाको व्यवस्था गरेकाले त्यसलाई यथावत् राख्नुपर्नेमा नाडाको जोड छ ।

‘नेपालमा ४ वटा दुईपांग्रे सवारीसाधनको एसेम्बल उद्योगले उत्पादन गरिरहेको, अरु दुई उद्योग तत्काल उत्पादनको अवस्थामा रहेको र केही उद्योग खुल्ने तयारीमा छन्,’ नाडाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही चारपांग्रे सवारीसाधन उत्पादन तथा एसेम्बल गर्ने उद्योगहरु खुल्ने क्रममा छन् । सरकारले ल्याउन लागेको बजेटमा एसेम्बलिङ उद्योगलाई दिइँदै आएको महसुलमा छुटलगायत नीतिगत सुविधा कटौती गर्न लागेको भन्ने विषयमा नाडाको विशेष ध्यानाकृष्ट भएको छ ।’ सवारीसाधनको एसेम्बल तथा उत्पादन उद्योग स्थापनामा धेरै पुँजी तथा लगानी चाहिने उद्योग भएको नाडाले जनाएको छ ।

एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधारणले केही सस्तो मूल्यमा सवारीसाधन प्राप्त गर्ने मात्र नभई थप रोजगारी सिर्जना हुने र विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्रविधिज्ञको क्षमता विकासमा ठूलो सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख छ । सुविधा कटौती गर्ने नीति ल्याइए त्यस्ता एसेम्बल उद्योगमा लगानी गरिरहेका व्यवसायीहरुको धेरै लगानी डुब्ने मात्र नभई नेपालको ओद्योगिकीकरणको दौड अझै पछाडि पर्ने निश्चित रहेको नाडाको दाबी छ ।

‘सरकारले सबै नागरिकले सवारीसाधन प्रयोग गरुन् भन्ने उद्देश्यले सोहीअनुरुप नीतिगत प्रोत्साहनका प्याकेज ल्याउँदै जानुपर्नेमा थोरै वर्षको अन्तरालमा भएकै नीतिहरुलाई समेत पटकपटक हेरफेर गर्दै जानु गलत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा एसेम्बलिङ उद्योग खुल्ने त कुरै छाडौं, भएकै एसेम्बल उद्योग पनि बन्द हुने अवस्था आउँछ ।’

सरकारले तत्कालको समस्या अर्थात् राजस्वलाई मात्र दृष्टिगत गरी नीति बनाउँदा त्यसको दीर्घकालीन असरलाई पनि ध्यान दिनुपर्ने नाडाको भनाइ छ । ‘यस्ता विभिन्न वस्तुगत तथ्यलाई मनन गर्दै आगामी वर्षको बजेट तर्जुमा गर्दा सवारीसाधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गरोस् भन्ने नाडाको धारणा छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० १८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×