रामेछाप विमानस्थलबाट लुक्लाको उडान सुरु

रामेछाप — विगत चार महिनादेखि बन्द रहेको रामेछाप विमानस्थल लुक्लातर्फको उडानका लागि शनिबारदेखि फेरि सञ्चालनमा ल्याइएको छ । विमानस्थलबाट काठमाडौं र देशका अन्य विमानस्थलमा भने उडान भएको छैन ।

बसन्त ऋतुमा सगरमाथा क्षेत्रतर्फ जाने पर्यटकलाई लक्षित गरी विमानस्थलबाट उडान र अवतरण थालिएको हो । रामेछाप विमानस्थलबाट सोलुको लुक्लातर्फ निजी क्षेत्रका तारा, सीता र समिट एयरले शनिबार बिहानै देखि उडान थालेका हुन् । केही दिनदेखि रामेछाप विमानस्थलमै जहाजलाई रात्रिकालीन पार्किङ गरेर उडान थालिएको भए पनि नियमित उडान भने शनिबारबाट आरम्भ भएको रामेछाप नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
यसअघि सन् २०२२ को नोभेम्बरसम्म रामेछापबाट लुक्लाको उडान हुने गरेको थियो । काठमाडौंभन्दा पूर्व तर्फको सबैभन्दा नजिकको रामेछाप विमानस्थलसम्म पर्यटकहरुलाई सडक मार्ग हुँदै पुर्याउने र रामेछापबाट जहाजमा लुक्ला लैजाने व्यवस्था गरिएको छ । बिहान ६ बजेदेखि रामेछाप विमानस्थलमै रहेका जहाजहरुलाई प्रयोग गरी तीनवटै कम्पनीका जहाजले यात्रु ओसार्ने छन् ।
काठमाडौं विमानस्थलमा जहाजको अवतरण र उडान धेरै भएकाले लामो समय प्रतिक्षामा बस्नुपर्ने समस्या हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापलाई वैकल्पिक विमानस्थलको रुपमा अघि सारहेको हो । कोभिड महामारीभन्दा अघिका दुई वर्ष पनि रामेछापबाट लुक्लाको उडान गरिएको थियो ।
प्रकाशित : चैत्र १८, २०७९ १९:५९