आफ्नो प्याड आफैं बनाउँदै 

घरेलु कपडाबाट बनाइने भएकाले साबुनपानीले धोइपखाली पुनः प्रयोग गर्न सकिने, रसायनमुक्त कपडा भएकाले तुलनात्मक रूपमा स्वस्थकर पनि
ज्योति श्रेष्ठ

काभ्रे — महिनावारीका बेला प्रयोग हुने प्याड स्कुलमा आफैंले बनाउन सिकेपछि यहाँका किशोरी दंग छन् । ‘हामी आफैंले पनि प्याड बनाउन सक्दा रहेछौं,’ चौरीदेउराली गाउँपालिका–५ की पूर्णिमा विकले भनिन् । सियो, धागो चलाउने सीप भएकाले प्याड बनाउन धेरै गाह्रो नहुने उनले बताइन् । 

‘प्याड बनाउन सोचेभन्दा सजिलो रहेछ, सामान भए घरमै बनाउन सक्ने रहेछौं,’ विद्यालयमा प्याड बनाउन सिकेकी उनले भनिन्, ‘कागज, वाटर प्रुफ कपडा, टाँक, सियो, धागोजस्ता सामान भए पुग्छ । प्याडको आकार बनाएर कपडा कटिङ गर्ने, वाटर प्रुफ कपडा राख्ने, त्यसलाई दुवैपट्टि सिलाउने र सिल्ड गरेपछि प्याड तयार हुन्छ ।’

सुरु–सुरुमा अलि समय लाग्ने र जानेपछि धेरै समय नलाग्ने सुनाइन् । पहिला ४ वटा बनाउन २ दिन लागेको जनाइन् । छात्रा विकले जानेको सीप आफूमा मात्र सीमित राखेकी छैनन् । साथी र घरपरिवारमा त्यसको उपयोगिता र फाइदाबारे छलफल चलाउने गरेकी छन् । बजारमा पाइने सेनिटेरी प्याडभन्दा घरेलु प्याड केमिकल मुक्त हुने भएकाले स्वास्थ्यका हिसाबले फाइदाजनक हुने उनले बताइन् ।

आफूले प्रयोग गर्ने प्याड आफैंले बनाउन सकिने भएपछि गोठपानीकी १२ वर्षीया रविना विक हौसिएकी छन् । उनले ३ घण्टा टाढादेखि धाएर सीप सिकिन् । घरेलु प्याड बनाउने मात्र नभएर महिनावारी, महिनावारीका बेला गरिने सरसफाइ र स्वास्थ्यका बारेमा पनि शिक्षा पाइन् । ‘यहाँ आएर प्याड बनाउन जानें । प्रयोग भएको प्याडलाई व्यवस्थापन गर्ने, महिनावारीका बेला सरसफाइ गर्नेबारे ज्ञान पाइयो,’ उनले भनिन्, ‘हामीले प्रयोग गर्दै आएको सेनिटेरी प्याडभन्दा घरेलु प्याड स्वस्थकर हुने थाहा पाइयो ।’

चौरीदेउराली–४ धुसेनीकी १३ वर्षीया सजिना परियारले घरेलु प्याड बनाउन जानेदेखि बजारको सेनिटेरी प्याड प्रयोग गर्ने गरेकी छैनन् । उनले भनिन्, ‘एक पटक प्रयोग गरेपछि, यसलाई पुनः प्रयोग गर्न मिल्छ, प्रयोग गरिएको प्याडलाई साबुनपानीले धोइपखाली गरेर सफा ठाउँमा सुकाउनुपर्छ, नत्र संक्रमणको जोखिम हुन सक्छ ।’

महिनावारीको समयमा आफूलाई स्वस्थ राख्नेबारे सचेत छिन् । यस्तै छेडाकी १४ वर्षीया सेनिशा तामाङ घरेलु प्याड बनाउन जानेदेखि विद्यालयका संगी, साना बहिनी, शिक्षिकालाई सिकाउने गरेको बताइन् । विद्यालयमा हुने कार्यक्रममा उनको सीपलाई प्रदर्शनीमा राख्ने गरिएको छ । ‘प्याड बनाउने मात्र नभएर सुरक्षित महिनावारी र सरसफाइका बारेमा जानकारी पाएँ,’ उनले भनिन्, ‘जानेको सीप अरूलाई सिकाउन पाउँदा राम्रो लागेको छ ।’

चौरीदेउराली–५ केउरेनीकी ४० वर्षीया अम्बिका तिवारीले आजभोलि सरसफाइमा विशेष ध्यान दिने गरेको बताइन् । कारण, उनकी छोरीले उनलाई सरसफाइका विषयमा दैनिकजसो जानकारी गराउने गरेकी छन् । ‘छोरीले स्कुलमा सिकेको सीप घरमा हामीलाई पनि सिकाउँछे,’ उनले भनिन्, ‘उनले सिकाएदेखि सरसफाइमा विशेष ध्यान दिन थालेका छौं ।’ त्यस्तै केउरेनीकै ९० वर्षीया चन्द्रमाया गौतमले पनि केटाकेटीले स्कुलमा सिकेको कुरा घरमा पनि सिकाउने गरेको बताइन् ।

यसरी दुई महिनाअघि चौरीदेउराली गाउँपालिकाका १२ वटा विद्यालयमा पढ्दै गरेका छात्रालाई घरेलु प्याड बनाउने सीप सिकाइएको थियो । उनीहरूले सिकेको सीप अरूसम्म बाँड्ने गरेका छन् । वाटर ऐड र सिविक फोरमको साझेदारीमा गाउँपालिकाको ३८ वटै विद्यालयमा खानेपानी, स्वास्थ्य र सरसफाइको क्षेत्रलाई समेटेर ‘फाउन्डेसन फर फ्युचर’ परियोजना सुचारु छ ।

परियोजनाअन्तर्गत गाउँपालिकाको १२ वटा विद्यालयका छात्रालाई घरेलु प्याड बनाउने सीप सिकाइएको हो । सुरक्षित महिनावारी र सरसफाइका बारेमा जानकारी गराउने किशोरीलाई घरेलु प्याड बनाउने सीप सिकाइएको फाउन्डेसन फर फ्युचरकी संयोजक सान्त्वना कार्कीले जानकारी दिइन् । पहिलो चरणमा माध्यमिक तहका विद्यालयमा अध्ययनरत छात्रालाई सिकाइएको हो । विद्यालयका छात्रालाई प्रतिनिधिमूलक रूपमा प्याड बनाउने सीप सिकाइएको हो । बाँकी विद्यालयमा समेत सिकाइने जनाइएको छ ।

प्रकाशित : चैत्र १८, २०७९ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्

नवजोतसिंह सिद्धू शनिबार रिहा हुँदै

एजेन्सी

चन्डिगढ — कांग्रेस नेता तथा पूर्वक्रिकेटर नवजोतसिंह सिद्धू शनिबार रिहा हुने भएका छन् । ३४ वर्ष पुरानो रोडरेज(सडकमा यात्राका क्रममा मारपिटको घटना) प्रकरणमा गत वर्षदेखि जेलमा रहेका सिद्धू शनिबार छुट्ने सम्भावना रहेको उनको ट्विटर ह्यान्डलबाट जानकारी दिइएको छ ।

सिद्धूलाई गत मई १९ मा एक वर्षको जेल सजाय र एक हजार जरिवाना सुनाइएको थियो । उनको ट्विटर ह्यान्डलबाट शुक्रबार नै शनिबार रिहा हुने जानकारी दिइएको हो ।

त्यस्तै शनिबार पटियाला जेलबाट रिहा भएपछि मिडियासँग कुराकानी गर्ने जानकारी दिइएको छ । उनी १० महिनादेखि पटियाला जेलमा सजाय काटिरहेका छन् । सिद्धूका वकिल एपीएस वर्माले पञ्जाब जेल नियमअनुसार राम्रो आचरण देखाउने कैदीबन्दीको सजायमा छुट दिइने बताएका छन् ।

के हो पुरानो घटना ?

सन् १९८८ डिसेम्बर २७ का दिन पञ्जाबको पटियालामा पार्किङमा सिद्धु र ६५ वर्षीय गुरनाम सिंहबीच हातपात भएको थियो । सरकारी अभियोजकका अनुसार सिद्धु र उनका अर्का साथी रुपिन्दर सिंह पटियालाको शेरनवाला गेटनजिकै विवादपछि गुरनामसँग हातपात गरी फरार भएका थिए । उनीहरू गुरनाम ढलेपछि भागेका थिए । पछि उपचारका क्रममा गुरनामको अस्पतालमा मृत्यु भएको थियो ।

गुरनामका परिवारले सिद्धु र उनका साथीविरुद्ध पछि मुद्दा दायर गरेका थिए । सन् २००६ मा उच्च अदालतले सिद्धु र उनका साथीलाई दोषी ठहर गर्दै ३/३ वर्ष जेल सजाय र एक/एक लाख रुपैयाँ जरिवानासमेत गरेको थियो ।

तर सिद्धुले उच्च अदालतको फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा अपिल गरेका थिए । उनी गुरनामको मृत्युबारे चिकित्सको राय स्पष्ट नभएको भन्दै सर्वोच्च गएका थिए । त्यतिबेला सर्वोच्चका न्यायाधीश जे चेलमेश्वेर र एसके कौलको इजलासले सिद्धुलाई भारतीय दण्ड संहिताको धारा ३२३ अन्तर्गत 'स्वेच्छाले चोट पुर्‍याएको' अपराधमा दोषी करार गरेको थियो । त्यसमा उनलाई भारतीय दण्ड संहिताको धारा ३०४ अनुसार दोषी ठहराउन नसकिने बताइएको थियो । सन् २००६ को पञ्जाब एन्ड हरियाणा उच्च अदालतले भने त्यही धाराअन्तर्गत उनलाई दोषी करार गरेको थियो ।

उच्च अदालतले गुरनामको मृत्युको कारण 'हृदयघात' नभई 'सबड्युरल ह्यामरेज'(मस्तिष्कको बाहिरी सतहमा हुने रक्तश्राव)भएको उल्लेख गरेको थियो । तर सर्वोच्चले भने उच्च अदालतले भनेअनुसारको 'सब्ड्युरल ह्यामरेज' को कुनै प्रमाण नभएको र केवल अनुमानमा आधारित भएको उल्लेख गरेको थियो । त्यही आधार देखाएर सिद्धुलाई सर्वोच्च अदालतले एक हजार जरिवाना मात्र गरेको थियो ।

उक्त सजाय कम भएको भन्दै पीडित परिवारले सर्वोच्च अदालतमा अपिल गरेको थियो । सर्वोच्चले सिद्धुलाई दोषी ठहर गर्दै एक वर्ष जेल सजाय सुनाएको हो ।

प्रकाशित : चैत्र १८, २०७९ १४:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×