रामेछापका २८ सामुदायिक वनमा एकैसाथ डढेलो

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापका विभिन्न वनमा लागेको डढेलोले महामारीको रुप लिएको छ । मन्थली नगरपालिका र आसपासको क्षेत्रका २८ वटा सामुदायिक वनमा एकैसाथ डढेलो फैलिएको छ । एकपछि अर्को वन क्षेत्रमा ठूलो डढेलो लागेकाले नियन्त्रणका प्रयास असफल हुँदै गएका छन् ।

रामेछापका २८ सामुदायिक वनमा एकैसाथ डढेलो

डिभिजन वन कार्यालय रामेछापका प्रमुख रामशरण गौतमले विपदको जोखिम उच्च भएकाले महामारीको अवस्था सिर्जना भएको बताए ।

‘यो महामारी नै हो, सामान्य अवस्थाले आगो निभाउन सकिँदैन,’ गौतमले भने । गौतमका अनुसार जिल्लाका हरेक सामुदायिक वनका पदाधिकारीलाई डढेलो नियन्त्रणमा लिन, डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउनका लागि आग्रह गरिएको बताए ।

उनले डिभिजनल वन कार्यालय र सव डिभिजनल वन कार्यालयको टिम सामुदायिक वनका पदाधिकारी संगको सहकार्यमा जुटेको बताए ।

जिल्ला सदरमुकाम आसपासको जंगलमा जताततै डढेलो लागेको तर नियन्त्रणमा लिन कठिनाइ भएपछि बुधबार जिल्ला विपद व्यवस्थापन समितिको आपतकालीन बैठक बसेको छ । सेना प्रहरी सशस्त्र प्रहरी आवश्यक संख्यामा परिचालन गरिएका, स्थानीय बासिन्दाहरु रातभर डढेलो नियन्त्रणमा लिन लागेको तर नसकिएकाले तत्काल उपाय सुझाउनका लागि बैठकको आयोजना भएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले स्थानीय सरकार, सामुदायिक वनका पदाधिकारी, राजनीतिक दल, सुरक्षाकर्मी सबैको साझा प्रयास तत्कालको समस्या समाधानमा केन्द्रीत हुनुपर्ने बताए । उनले दिर्घकालीन रुपमा डढेलोबाट हुनसक्ने जनधनको क्षति न्यूनिकरणका लागि योजनासमेत बनाउन आग्रह गरे ।

मन्थली नगरपालिका वडा नम्बर १ को सानीमदौ, वडा नम्बर ३ को ठुलीमदौं, ५ नम्बरको सुनारपानी, वडा नम्बर ७ को भटौली, ८ को चिसापानी, २ को टेकनपुर, ११ र १२ को गेलु, १३ को फुलासी, रामेछाप नगरपालिका ५ को रामपुर, ७ को सुकाजोर र ८ को रामेछापका जंगलमा एकै साथ डढेलो लागिरहेको छ । रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले डढेलोबाट रामेछाप नगरपालिकामा ११ वटा घरगोठ जलेको बताए ।

अधिकांश जंगलमा सोमारदेखि लागेको डढेलो अझै निभेको छैन । मन्थली २ का रुद्र श्रेष्ठका अनुसार टेकनपुर जंगलमा लागेको डढेलो निभाउनका लागि सामुदायिक वनका सबै जंगलमा जुटेका छन् । तर नियन्त्रणमा लिन नसकिएको उनले बताए ।

डिभिजनल वन कार्यालयका प्रमुख रामशरण गौतमले डढेलो लगाउने व्यक्तिको खोजी गरी नियन्त्रणमा लिनेलाई १० हजार पुरस्कारको घोषणासमेत गरेका छन् । वन ऐन बमोजिम जंगलमा डढेलो लगाउनेलाई ३ वर्षसम्म कैद हुने उल्लेख छ ।

प्रकाशित : चैत्र १५, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?