रामेछापमा वृद्धमाथि खुकुरी प्रहार

रामेछाप — रामेछापको गोकुलगंगा–४ बेतालीको लिसेखानीमा अज्ञात व्यक्तिले स्थानीय ८० वर्षीय वृद्ध शम्शेरबहादुर थापामगरमाथि खुकुरी प्रहार गरी सख्त घाइते बनाएका छन् ।
सोमबार साँझ आफ्नै घरमा बसिरहेका थापामगरलाई पछाडिबाट खुकुरी हानेर अपरिचित व्यक्ति भागेका छन् । घरमा उनी एक्लै बस्थे । पल्लो घरमा रहेकी छोरीले भाग्दै गरेको कालो दौरासुरुवाल लगाएको व्यक्ति देखेको तर नचिनेको बताएकी छन् ।
घटनाको जानकारी हुनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट जिल्ला प्रहरी कार्यालयका प्रमुख होमबहादुर पराजुली नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ । घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला सदरमुकामतर्फ ल्याउँदै गरेको पराजुली जनाएका छन् । उनका अनुसार घाइते थापामगरको अवस्था गम्भीर छ ।