२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

२५ ‘जनयोद्धा’ सहिदमा अटाएनन्

‘जनयुद्ध’ मा होमिएर ज्यान गुमाएका सिन्धुपाल्चोकका १ सय ८२ जनाको नाम रहेको तथ्यांक छ
अनिश तिवारी

सिन्धुपाल्चोक — नेपाल सरकारले सशस्त्र द्वन्द्वका क्रममा सहादत पाउने सबैलाई सहिदको मान्यता दिएर हालै ८ हजार ३ सय ७१ जनाको नामवली राजपत्रमा प्रकाशित गर्‍यो । तर , सशस्त्र द्वन्द्वकै क्रममा सेना र प्रहरीको धरपकडमा मारिएका सिन्धुपाल्चोकका अधिकाशं ‘जनयोद्धा’ राजपत्रको सहिद सूचीमा परेनन् । माओवादी केन्द्रको ‘सशस्त्र विद्रोह’ आधारभुमी चौतारा साँगाचोकगढी नगर–४ कुविण्डेसहित विभिन्न स्थानमा प्रहरी र सेनाको धरपकडसँगै सशस्त्र द्वन्द्वमा धेरैले योद्धाले ज्यान गुमाउनुपर्‍यो ।

२५ ‘जनयोद्धा’ सहिदमा अटाएनन्

कञ्चन प्रियदर्शी (ईश्वर बुढाथोकी) साहित्यकार तथा सञ्चारकर्मीका रूपमा परिचित व्यक्ति हुन् । नेकपा माओवादी सम्वद्ध उनी चौतारा साँगाचोकगढी नगर पीपलडाँडा गाउँनिवासी उनी जनयुद्धमा होमिएका थिए । माओवादी सिन्धुपाल्चोकको तथ्यांकअनुसार ०५९ साल वैशाख १२ गते जलविरे बजारक्षेत्रमा प्रियदर्शी मारिएका थिए । सेनाको ‘सर्च’मा परेर बजारमै मारिएका थिए । प्रियदर्शीसँगै मारिएका चौतारा साँगाचोकगढी स्याउलेका प्रेमबहादुर श्रेष्ठ (सुमन) भने सहिदको सूचीमा परेका छन् ।

एउटै युद्धमा सँगसँगै मारिएकाहरू कोही सहिद हुने, कोही गुमनाम गर्न खोज्नु अन्याय भएको प्रियदर्शीका परिवारले अनुभव गरेका छन् । प्रियदर्शीका बुबा आहिले शारीरिक रुपमा पक्षघात समस्या झेलिरहेका छन् । रोगमाथि संघर्षरत परिवारमाथि यो खबरले झनै हताशको बनाएको छ । प्रियदर्शीकै सम्झनामा वाग्मती प्रदेश सरकारबाट १५ लाख बजेट छुट्याइएर पीपलडाँडामा कञ्चन स्मृति पार्क र सालिकसमेत बनाइएको छ । तर सहिदको सूचीमा नराखिएको आश्चर्य लागेको उनका भाइ सुनिल बुढाथोकीले बताए । ‘सरकारले नै बजेट खर्चेर उहाँ (कञ्चन प्रियदर्शी) लाई सम्झिएर पार्क, सालिक बनाएर सम्मान गरेको छ तर सहिदमा नाम नराखेर अपमान गरेजस्तो भयो,’ बुढाथोकीले दुखेसो गरे । प्रियदर्शीका परिवारझै तत्कालीन जनयुद्धमा आफन्त र परिवारका सदस्य गुमाएकाहरू सोधिरहेछन्, ‘किन सहिदमा अटाएनन् कञ्चनसहित २५ जनयोद्धा, के उनीहरूचाहिँ सहिद होइनन् र ?’

माओवादी केन्द्रका सिन्धुपाल्चोक अध्यक्ष गोविन्द पराजुलीका अनुसार राजपत्र अध्ययन गर्दा कञ्चनसहित २५ जनाको नाम सहिदको सूचीमा छुटेका छन् । ‘जनयुद्ध’मा होमिएर ज्यान गुमाएका सिन्धुपाल्चोकका १ सय ८२ जनाको नाम रहेको तथ्यांक छ । जसमा कञ्चनसहित २५ सहादत पाएकाको नाम छुटेको छ । देशभर सशस्त्र विद्रोह सुरु हुनुअघि तत्कालीन जनमोर्चा (भट्टराई समूह) को बलियो संगठन थियो । कुविण्डेमा २०५२ साल माघ १८ मा शिक्षक रुद्रप्रसाद शर्मालाई प्रहरीले समात्न खोज्दा विद्यार्थी र युवाले विद्रोह गरेका थिए । त्यसै क्रममा एक प्रहरीको हत्या भएपछि यहाँका अधिकांश भूमिगत भएका थिए ।

त्यसयता चलेको ‘जनयुद्ध’मा कुविण्डेमा मात्रै २२ जनाले सहादत प्राप्त गरेका थिए । ‘माथिल्लो तहतप्कामा नाम छुटेर यस्तो हुँदा जिल्ला तहमा दुखद् प्रभाव परेको छ, यसले सबैलाई दुखित तुल्याउनु स्वाभाविक हो,’ अध्यक्ष पराजुलीले भने, ‘त्यसैले यसबारे गहन छलफल गरेर छुटेका २५ जनाको सूची समावेश गरेर प्रधानमन्त्री कार्यालयमा पठाएका छौँ ।’

प्रकाशित : चैत्र १४, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?