मह नबिकेर चिन्तित चितवनका किसानले यसरी मनाए मह दिवस

रमेशकुमार पौडेल

चितवन — नेपालमा सोमबार १७ औं राष्ट्रिय मह दिवस मनाइरहँदा सरकारी निकाय चितवन भरतपुरको कृषि ज्ञान केन्द्रमा महको महत्त्व र सम्भावनाका बारेमा व्यापक चर्चा भयो । तर मह उत्पादक किसानहरुको चिन्ता र छटपटी अर्कै थियो ।

महत्त्वपूर्ण खाद्य पदार्थ भए पनि नेपाली किसानले उत्पादन गरेको मह पछिल्ला दिनहरुमा बिक्री हुनै छाडेको छ । त्यसैले कृषि ज्ञान केन्द्रको कार्यक्रमपछि किसानहरु जिल्ला प्रहरी कार्यालय नजिक रहेको प्रतीक्षालयमा भेला भए । त्यहाँ उनीहरुले पाउरोटीमा मह राखेर सर्वसाधरणलाई वितरण गरे ।

सरकारी निकाय चितवन भण्डाराको मौरी विकास कार्यक्रमका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले नेपालमा वर्षमा आठ हजार मेट्रिक टन मह खपत हुने गरेको तथ्याङ्क पस्तुत गरे । तर नेपालमा वर्षमा चार हजार २६ मेट्रिक टन मह उत्पादन हुने गरे पनि बिक्री नहुने समस्या देखिएको उनको भनाइ छ । उनले गत वर्ष मात्रै किसानसँग पाँच सय मेट्रिक टन र व्यपारीसँग हजार मेट्रिक टन मह स्टक रहेको बताए ।

भरतबाट एक हजार पाँच सय ५६ मेट्रिक टन मह आयात भएको पनि उनले जानकारी दिए । ‘पोखरेल सरले नै नेपालमा आठ हजार मेट्रिक टन मह खपत हुने गरेको बताउनु भयो । हाम्रो उत्पादन गत वर्ष कै एक हजार पाँच सय मेट्रिक टन मह अहिलेसम्म बिक्री भएको छैन । आयात समेतलाई जोड्दा पनि खपतको अनुपात मिल्दै । भनेपछि नेपालीले महको नाममा के खाएका छन् त ?,’ नेपाल मौरी पालक महासंघका पूर्व अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले प्रश्न तेर्स्याए । अवैध रुपमा महको नाममा अन्य वस्तु भित्रिएको उनले बताए ।

‘यता हाम्रो उत्पादन बिक्री भएको छैन । उता उपभोक्ताले के खाएका छन् ? यसको खोज बिन हुनु पर्‍यो,’ उनको माग छ । गत वर्षको माघमा काठमाडौंमा ठूलो मात्रामा ‘नक्कली मह’ फेला परेको खबर आएपछि उपभोक्ताहरु सशंकित भएर मह सेवन घटाएको पौडेलको अनुमान छ । त्यसैले नेपाली मह अचेल फिटिक्कै बिक्री नभएको उनले सुनाए । ‘म ५८ सालदेखि मौरी पाल्दै आएको छ । यस्तो संकट पहिलो पटक आएको छ । मेरो घरमा १२० बाल्टी मह जम्मा भएर बसेको छ । बिक्री हुँदैन,’ उनले भने । एक बाल्टीमा ३० किलो मह अट्छ ।

नेपालमा मह उत्पादन गर्दा प्रतिकिलो चार सय रुपैयाँका हाराहारीमा लागत लाग्ने उनले बताए । भारतबाट वैधानिक रुपमा आयात गर्दा पनि २११ देखि २५० रुपैयाँमा मह नेपाल नै आएको वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले जानकारी दिए । सस्तो भएका कारण भारतीय मह आएको नेपाली किसानहरु बताउँछन् । ‘नेपाली उत्पादन यसरी बिक्री नै नहुँदा भारतबाट सस्तो मह आउनबाट कसरी रोक्ने ? भन्सार दर बढाएर हुन्छ वा अरु के उपाए छ ? सरकारले सोचोस्,’ मौरी पालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले भने ।

सरकारले तत्काल राहतका योजनाहरु नल्याए नेपाली मह उत्पादक किसानहरु पूर्णरुपमा विस्थापित हुने खतरा बढेको महासंघका पूर्वअध्यक्ष शिवप्रसाद शर्मा पौडेलले बताए । यो आर्थिक वर्षको सुरुवाती चार महिनामा पनि भारतबाट दुई सय टन मह आयात भइसकेको भन्सार कार्यालयको तथ्याङ्कमा देखिने पौडेलको भनाइ छ । ५६ साल चैत्र १३ मा आठ जिल्लाका मह उत्पादक किसान भेला भएर संगठित भएको दिन पारेर ६३ साललेखि चैत्र १३ मा किसानहरुकै सक्रियतामा राष्ट्रिक मह दिवस मनाउन सुरु भएको हो ।

प्रकाशित : चैत्र १३, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्

कोहलपुरको विकासका लागि ‘भिजन कम्पिटिसन’

रुपा गहतराज

नेपालगन्ज — कोहलपुर नगरपालिकाले नगरको योजना निर्माण तथा कार्यक्रम चयनमा ‘भिजन कम्पिटिसन’ गराउने भएको छ । चालू आर्थिक वर्ष २०७९–०८० को कार्यक्रम अन्तरगत कोहलपुरको समग्र विकासलाई समेट्ने गरी विज्ञ समूह तथा व्यक्तिलाई भिजन कम्पिटिसनमा सहभागी हुन प्रस्ताव माग गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।

‘कोहलपुरको दीर्घकालीन विकास, निर्माणका लागि जनप्रतिनिधिले नदेखेको सामान्य देखिएका ठूला विषय पनि हुन सक्छन् । त्यस्ता विषयहरु बौद्धिक व्यक्तिबाट आओस् भन्ने हाम्रो सोचाइ हो,’ नगर प्रमुख आचार्यले भने, ‘भिजन कम्पिटिसनबाट नयाँ योजना, विचार र आइडिया आउने र त्यसले कोहलपुरको समग्र विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं।’

स्वदेश तथा विदेशमा रहेका विद्यार्थी सोधकर्ता, सम्बन्धित क्षेत्रका विज्ञ, योजनाकार, स्वतन्त्र अन्वेषक, लेखक, बुद्धिजिवी, नेपाली नागरिक र संघसंस्थाले उक्त प्रतियोगितामा भाग लिन सक्ने छन् ।

यसरी प्रस्तावना पेश गर्दा कोहलपुरको वर्तमान अवस्थाको विश्लेषण गरी कोहलपुरको विकास, निर्माण, सुशासन लगायतका विषयमा आगामी दिनमा गर्नुपर्ने कामको योजनासहित अनुमानित रकम प्रस्तावनामा समेट्नु पर्नेछ।

नगरपालिकाको पूर्वाधार विकास, आर्थिक विकास, संस्थागत विकास, सुशासन, वातावरण तथा विपद् व्यवस्थापनमा नवीनतम प्रविधिको प्रयोगका साथै सूचना, सञ्चार एवम् कुनै भए सो समेत उल्लेख गरी सो क्षेत्रको सुधारका लागि नगरपालिकाले अबलम्वन गर्नुपर्ने नीति एवम् ठोस कार्ययोजनासहितको सुझाव पेश गर्नुपर्ने शर्त राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए ।

पेश भएका प्रस्तावनालाई नगरपालिकाले अध्ययन गरि संक्षिप्त सूचीमा परेका प्रस्तावक स्वयम नगरपालिकामा उपस्थित भइ वा भर्चुअल माध्यमबाट प्रस्तुति गर्नुपर्ने नियम नगरपालिकाले बनाएको छ ।

नगरपालिकाको नीतिगत सुधारमा सघाउ पुग्ने प्रस्तावना मध्ये पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ प्रदान गरिने छ । प्रथम हुने प्रस्तावक वा विज्ञलाई कोहलपुर नगरपालिकाको सद्भावना दूत वा विज्ञ समूहमा नियुक्त गर्न सकिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : चैत्र १३, २०७९ १३:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×