वाग्मती सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरुले राजीनामा दिएका छन् । शुक्रबारको मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् । उनीहरुले सदनभित्रै मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका थिए । 

एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको घोषणा गर्दै सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो ।

एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजनामन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित : चैत्र १०, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्

‘स्थानीय तहमा दलित बोर्ड गठनमा आनाकानी’ 

शंकर आचार्य

पर्सा — बाराको सुवर्ण गाउँपालिकाकी कार्यपालिका सदस्य बृहस्पति देवीले गाउँपालिका प्रमुख र उपप्रमुखले दलित बोर्ड गठन गर्न आफूले पटक–पटक गरेको आग्रहको बेवास्ता गरेको गुनासो गरेकी छन् ।

‘मैले पटक–पटक उहाँहरुलाई दलित उत्थान तथा संरक्षणका लागि पालिकास्तरीय दलित बोर्ड गठन गरौं भनी आग्रह गर्दै आएकी छुँ,’ दलित सरोकार मञ्च नेपाल कञ्चनरुप सप्तरीद्वारा शुक्रबार वीरगन्जमा आयोजित दलित सशक्तीकरण ऐन २०७६ कार्यान्वयनको अवस्थाः आगामी दिनमा कार्यपालिका सदस्यहरुको भूमिका विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा उनले भनिन्, ‘तर उहाँहरू जहिले पनि मेरो कुरा नसुने जस्तो गर्नु हुन्छ, अरु विषयमा कुरो गर्दा भने गम्भीरताका साथ सुन्नु हुन्छ ।’

पर्साको ठोरी गाउँपालिका कार्यपालिका सदस्य फूलमाया दर्जीले पनि गाउँपालिका प्रमुख तथा उपप्रमुखहरुले विकास निर्माणको अन्य विषयमा आफूहरुको कुरो सुन्ने र दलित भनी भेदभाव नगरे पनि पालिकास्तरीय दलित बोर्ड गठनको माग गर्दा भने मौन बस्ने गरेको गुनासो गरिन् ।

कार्यक्रममा सहभागी पर्सा तथा बाराका विभिन्न स्थानीय तहका दलित कार्यपालिका सदस्यहरुको यस्तै गुनासो रहेको थियो । अन्तरक्रियामा सञ्चारकर्मी एवम् अनुसन्धानकर्ता रघुनाथ लामिछानेले देशभरीका ७ सय ५३ स्थानीय तहमध्ये ९ मा मात्र दलित प्रमुख रहेको बताए । जुन कुल संख्याको १ दशमलव २० प्रतिशत मात्र हो । त्यसैगरी, १५ जना दलित उपप्रमुख रहेको र तीमध्ये ११ दलित महिला रहेको उनले बताए ।

त्यसैगरी, ७ सय ५३ स्थानीय तहमा १ सय १५ वडाध्यक्ष दलित रहेको उनले बताए । जिल्ला समन्वय समिति प्रमुखहरुमा ४ दलित पुरुष र उपप्रमुखमा ५ दलित महिला रहेको उनले बताए । त्यसैगरी, मधेश प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये १ मा मात्र दलित प्रमुख र २ मा दलित उपप्रमुख रहेको उनले बताए । प्रदेशकै १ हजार २ सय ७१ दलित वडा सदस्य पद मध्ये १ हजार २ सय ६५ मा मात्र दलित सदस्य रहेको र बाँकीमा उम्मेदवारी नै नपरेको उनले बताए ।

संघीय संसद्मा १ सय ६५ जना प्रत्यक्ष सांसद ध्ये १ जना जना दलित पुरुष रुपन्देहीबाट छविलाल विश्वकर्मा मात्र चयन भएको उनले बताए । सबै प्रदेशसभामा गरी कूल ३ सय ३० प्रदेशसभा सदस्यमध्ये २ जना दलित मात्रै प्रत्यक्षबाट निर्वाचित भएको उनले बताए ।

अन्तरक्रिया आयोजक संस्थाका कार्यकारी निर्देशक भोला पासवानले मधेश प्रदेशले २०७६ मा दलित सशक्तीकरण ऐन र २०७८ मा नियमावली पारित गरी सक्दा पनि प्रदेशको स्थानीय तहहरुमा दलित बोर्ड गठन गर्न आनाकानी गरिनु विडम्बना रहेको बताए ।

कार्यक्रममा स्थानीय तहमा दलित बोर्ड गठनका लागि दबाब तथा दलित हक अधिकारका प्राप्तिका लागि दबाब दिन दलित कार्यपाालिका सदस्य सञ्जाल पनि गठन गरिएको थियो । पर्साको पटेर्वासुगौली गाउँपालिकाकी कार्यपालिका सदस्य सजिना विकको अध्यक्षतामा सञ्जाल पर्सा र बाराको सुवर्ण गाउँपालिका कार्यपालिका सदस्य वृहस्पति देवीको अध्यक्षतामा बारा सञ्जाल गठन गरिएको थियो ।

प्रकाशित : चैत्र १०, २०७९ १६:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×