विश्वासको मतको विषयमा कांग्रेसभित्र विवाद

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नेपाली कांग्रेसभित्र विवाद सिर्जना भएको छ ।


मुख्यमन्त्री जम्कट्टेलले बुधबार सदनबाट विश्वासको मत लिन लागेको अवस्थामा कांग्रेसभित्र विवाद सिर्जना भएको हो । कांग्रेस संसदीय दललाई कांग्रेस प्रदेश समितिले जम्कट्टेलको पक्षमा विश्वासको मत दिन निर्देशन दिए पनि दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेशसभाको आज बस्ने बैठक अन्यौलमा परेको छ ।

मंगलबार बसेको कांग्रेस प्रदेश समितिअन्तर्गत कार्यसम्पादन समितिले जम्कट्टेललाई विश्वासको मत दिन संसदीय समितिलाई निर्देशन दिएको थियो । बैठकमा दलका नेता लामासमेत सहभागी थिए । उक्त निर्देशनलाई बेवास्ता गर्दै कांग्रेसले प्रदेशसभा केही दिन सार्ने तयारीका साथ संसदीय समितिको बैठक आज ११ बजेका लागि बोलाइएको छ । कांग्रेसले काठमाडौंस्थित स्मार्ट दरबार, शंखपार्क संसदीय दलको बैठक राखेको छ ।

दलको नेतामा पराजित भएका ईन्द्रबहादुर बानियाँ पार्टी प्रदेश सभापति भएका कारण आफूलाई मुख्यमन्त्री बन्नबाट रोक्ने उद्देश्यका साथ जम्कट्टेललाई विश्वासको मत दिन निर्देशन दिएको बुझाइ लामाको छ । दलको नेताको निर्वाचनपश्चात सुरु भएको कांग्रेसभित्रको आन्तरिक विवाद क्रमशः सदनमा समेत देखिन थालेको हो ।

‘हामीले प्रदेश सरकारको नेतृत्वमा समेत दाबी गरिरहेका छौं । केन्द्रबाट मुख्यमन्त्रीको विषयमा हामीलाई कुनै निर्देशन आएको छैन,’ कांग्रेस प्रमुख सचेतक कुन्दनराज काफ्लेले भने । उनले सरकारलाई विश्वासको मत दिन कुनै समस्या नभए पनि ठूलो दल भएको आधारमा मुख्यमन्त्रीको दाबी गर्नु स्वाभाविक भएको बताए । उनले पार्टी प्रदेश समितिले दिएको निर्देशन र संसदीय समितिले गर्ने निर्णयबाट कांग्रेस निष्कर्षमा पुग्ने बताए ।

कांग्रेसभित्र बानियाँ पक्षका सांसदले भने दलको नेताले दोहोरो चरित्र देखाएको आरोप लगाइरहेका छन् । उनीहरूले पार्टीको बैठकमा सहभागी भएर गरेको निर्णय लागू गर्नुको सट्टा गठबन्धनभित्रै मनमुटाव गर्ने अवस्था सिर्जना दलको नेताबाट भएको बताएका छन् । ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिने वचन उहाँ (दल नेता) ले दिइसक्नुभएको छ । अहिले फेरि मुख्यमन्त्री इच्छा पलाएपछि यस्तो अवस्था सिर्जना भएको हो,’ उनले भने ।

कांग्रेसले प्रदेशसभाको बैठक २ दिन सार्नु उपयुक्त हुने बताएको छ । चैत १२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता सरकारसँग रहेको छ । मुख्यमन्त्रीले कांग्रेसबाट प्रदेश सरकारमा ५ जनालाई मन्त्रिपरिषद्‌मा सहभागी गराउने प्रतिबद्धता जनाए पनि एकजना थप गर्न कांग्रेस नेतृत्वले दबाब दिइरहेको बुझिएको छ । बुधबार नै विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री रहेका छन् । उनले कांग्रेसलाई आजै बैठक राख्ने तयारी भइरहेको र मतदानमा सहभागी हुन आग्रह गरिसकेका छन् ।

प्रकाशित : चैत्र ८, २०७९ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा दिन सुरु

 वैदेशिक रोजगारीमा रहेका वा जानेले न्यूनतम २ हजारदेखि अधिकतम २८ हजार १ सय ५५ रुपैयाँसम्म कोषमा योगदान गर्नुपर्छ ।
योगदान गर्नेलाई १ लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, ५ हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन
आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्म आजीवन पेन्सन,  २१ वर्षसम्म सन्ततिलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्मको शैक्षिक वृत्तिबापत रकम
होम कार्की

काठमाडौँ — सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर कार्यक्रम सुरु गरेका हुन् ।

अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि आवेदन दिन पाउने बाटो खुल्ला भएको छ ।

सरकारले ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–०७९’ जारी गरिसकेको थियो । यसलाई कार्यान्वयनमा लगिएको कोषका अध्यक्षसमेत रहेका श्रम सचिव एकनारायण आर्यालले वताए ।

‘अब विदेशमा रहेका कुनै पनि नेपाली श्रमिक सामाजिक सुरक्षाको दायराबाट बाहिर बस्नुपर्दैन । घरमा काम गर्ने घरेलुदेखि प्रतिष्ठानमा कार्यरतले आफूलाई अधिकार सम्पन्न श्रमिकका रूपमा अनुभूति गर्न पाउने व्यवस्था मिलाइएको छ,’ कोषका अध्यक्षसमेत रहेका श्रम सचिव आर्यालले भने ।

श्रम मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा कार्यरत २२ लाख श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गरिएको जनाएको छ । कोषमा आबद्ध हुनका लागि कामदारले तोकिएको प्रक्रिया पूरा गर्नुपर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका वा जानेले न्यूनतम २ हजारदेखि अधिकतम २८ हजार १ सय ५५ रुपैयाँसम्म कोषमा योगदान गर्न पाइन्छ । यसरी योगदान गर्नेलाई १ लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, ५ हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन, आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्म आजीवन पेन्सन र २१ वर्षसम्म सन्ततिलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्मको शैक्षिक वृत्तिबापत रकम पाइनेछ ।

वैदेशिक रोजगार समय अवधि सकिएपछि एकमुस्ट रकम वा पेन्सन सुविधा पाइनेछ । ६० वर्षपछि आजीवन पेन्सन पाइनेछ । विदेशमा गएका श्रमिकले अनलाइनबाट नै आवेदन दिई आफैं सूचीकृत हुनुपर्ने ज्ञवालीले बताए । ‘कोषमा सहभागी हुन रोजगारदाता कम्पनीको अनुमति चाहिन्न । आफैंले राहदानी र श्रम स्वीकृति राखेर आवेदन दिन पाइन्छ । तोकिएको रकम सीधा खातामा जम्मा गर्न सकिन्छ,’ ज्ञवालीले भने, ‘श्रम स्वीकृति नचाहिने मुलुकका लागि भने श्रम स्वीकृति चाहिने छैन ।’

वैदेशिक रोजगारीमा जाने श्रमिकको हकमा भने श्रम स्वीकृति दिने बेलै कोषले खाता नम्बर उपलब्ध गराउनेछ । वैदेशिक रोजगारीमा गएका कामदारलाई सम्बन्धित रोजगारदाताले सेवा सुविधा दिएपनि यो नेपाल सरकारले गरेको छुट्टै व्यवस्था हो । श्रम स्वीकृति लिएर वैदेशिक रोजगार बोर्डले दिने कल्याणकारी राहत र सामाजिक सुरक्षा कोषले दिने सुविधा फरक फरक हो । विदेशबाट प्रत्येक वर्ष झन्डै एक हजार जनाको शव आउने गरेको छ । त्यस्तै अंगभंग र गम्भीर प्रकृतिका बिरामी पनि आउने गरेका छन् । बोर्डले उनीहरूका परिवारलाई राहत रकम दिएपनि मासिक गुजराबापतको रकम भने दिने गरेको छैन । सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि मृतकका परिवारले आजिवान पेन्सन पाउने सुविधा छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डीबी क्षेत्रीले आफूहरूले एक दशक बढी समयको अभियानले पूर्णता पाएको वताए । ‘नेपालमा सामाजिक सुरक्षा कोष स्थापना हुनुअघि नै एनआरएनले विदेशमा रहेका नेपालीलाई एउटा कोष बनाएर सामाजिक सुरक्षा प्रदान गर्नुपर्छ भनेर एउटा अभियान चलायौँ । एनआरएन ओमानले प्रस्ताव गरेको हजारे अभियानलाई परिष्कृत गरी सामाजिक सुरक्षा कोषमा परिणत भयो,’ एनआरएनए आईसीसीका उपाध्यक्ष क्षेत्रीले भने,‘विदेशमा रहेका लाखौँ नेपाली औपचारिक रूपमा जोडिने बाटो खुलेको छ । यसलाई व्यापक र प्रभावकारी बनाउन हामी सरकारसँग सहकार्य गर्नेछौं ।’

प्रकाशित : चैत्र ८, २०७९ ११:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×