३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

विश्वासको मतमा अन्योल, तैपनि मुख्यमन्त्री ढुक्क

२७ सांसद रहेको एमाले र १३ सिटको राप्रपा भने विश्वासको मतको विपक्षमा जाने सम्भावना
सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुधबार सदनबाट विश्वासको मत लिने प्रक्रिया अन्योलमा परेको छ ।

विश्वासको मतमा अन्योल, तैपनि मुख्यमन्त्री ढुक्क

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले एमाले सरकारबाट नबाहिरिएसम्म विश्वासको मत दिने प्रक्रियामा सहभागी नहुने अडान राखेपछि प्रदेशसभाको बैठक अन्योलमा परेको हो ।

राप्रपा प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । कांग्रेस र एकीकृत समाजवादीले जम्कट्टेललाई विश्वासको मत दिने प्रतिबद्धता जनाए पनि एमाले सरकारमै रहेकाले यस विषयलाई टुंग्याएर मात्र सदन सञ्चालन हुनुपर्ने बताइरहेका छन् । कांग्रेसले मन्त्रालय र संसदीय समितिको भागबण्डाको विषय प्याकेजमै टुंग्याएर अगाडि बढ्नुपर्ने अडान अनौपचारिक छलफलको क्रममा मुख्यमन्त्रीसँग राखेको छ । मुख्यमन्त्रीले एमाले सरकारबाट बाहिरिने भनेको तर नछाडेपछि सदन सारेर सहमति गर्दा उपयुक्त हुने एकीकृत समाजवादीले जनाएको छ ।

‘केन्द्रीय तहमा अझै प्रदेशको नेतृत्वको विषय टुंगिएको छैन र यस्तो अवस्थामा प्रदेशको विषयमा हामीले हतारमा निर्णय गर्नुहुँदैन,’ कांग्रेसका एक सांसदले भने, ‘त्यसकारण प्रदेशसभाको बैठक केही दिन सार्नु उपयुक्त हुन्छ भन्ने पक्षमा हामी छौं ।’ ती सांसदका अनुसार पार्टीभित्र मन्त्री बन्न लबिइङ धेरै रहेका कारण पनि समस्या भइरहेको छ । कांग्रेसले संसदीय समितिको बैठक आह्वान गरिसकेको छैन ।

‘सरकारमा सहभागी हुन र विश्वासको मत दिन कुनै समस्या छैन,’ समाजवादीका नेता कृष्ण शर्मा खनालले मुख्यमन्त्रीले भने, ‘तर, एमाले सरकारबाट बाहिरिएको छैन । यो विषय टुंग्याएर मात्र अगाडि बढ्नु राम्रो हुन्छ ।’ उनले सदन सञ्चालन हुने वा नहुने विषयमा अन्योल नै रहेको बताए ।

एमाले सरकारमा रहने वा बाहिरिने विषयमा बुधबार बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने जनाएको छ । ‘अहिले हामी सरकारमा छौं र अब विश्वासको मत दिने वा नदिने तथा राजीनामाको विषयको निर्णय संसदीय दलको बैठकले गर्नेछ,’ एमाले संसदीय दलका नेता जग्गनाथ थपलियाले भने । उनका अनुसार बुधबार दिउँसो बैठक बोलाइएको छ ।

प्रदेशसभा सचिवालयले दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेको छ । प्रदेशसभा सचिवालय प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार विश्वासको मतबाहेक सदनमा अन्य कार्यसूची छैन । ‘कार्यव्यवस्था परामर्श समिति र सर्वदलीय बैठक सचिवालयले आह्वान गरेको छैन,’ उनले भने । राप्रपाले सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फागुन १३ गते फिर्ता बोलाएकाले चैत १२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने सरकारसँग बाध्यता छ ।

मुख्यमन्त्री जम्कट्टेल तोकिएकै समयमा सदन सञ्चालन हुने र सहजै विश्वासको मत प्राप्त गर्ने विषयमा ढुक्क देखिन्छन् । ‘सदन सञ्चालन हुनु अगाडि एमालेका साथीहरूले मन्त्रीबाट राजीनामा दिने तय भएको छ, यस विषयलाई मैले टुंग्याइसकेको छु,’ मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘कांग्रेस र समाजवादीसँग करिब अन्तिम सहमति भइसकेको छ । विश्वासको मतलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छु ।’ उनले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने भएकाले सोहीअनुसार तयारी गर्न प्रदेश प्रमुखलाई समेत अनौपचारिक रूपमा आग्रह गरिसकेको बताए ।

प्रदेशसभामा ३७ सिट रहेको कांग्रेस, ७ सिट रहेको एकीकृत समाजवादीसहित २१ सिट रहेको माओवादी र २ सिटको हाम्रो नेपाली पार्टीले विश्वासको मत दिने प्रतिबद्धता मुख्यमन्त्री जम्मकट्टेलसँग गरेका छन् । नेपाली पार्टीलाई मन्त्रिपरिषद्मा सहभागी नगराएर संसदीय समिति सभापति बनाउने वचन मुख्यमन्त्रीले दिएका छन् । २७ सांसद रहेको दोस्रो ठूलो दल एमाले र १३ सिटको राप्रपा भने विश्वासको मतको विपक्षमा जाने सम्भावना छ । ११० सदस्यीय प्रदेशसभामा ५६ मत भएको खण्डमा पुग्छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिल्दा जम्कट्टेललाई आवश्यक मत सहजै प्राप्त हुने स्थिति हुन्छ ।

प्रकाशित : चैत्र ८, २०७९ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?