कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सिन्धुलीको फिक्कलमा चितुवा आतंक

एक सातामै चितुवाको आक्रमणबाट दर्जनभन्दा बढी चौपाया मरे
राजकुमार कार्की

सिन्धुली — चितुवाले गोठमै आएर दैनिक पशु चौपाया मार्न थालेपछि सिन्धुलीको फिक्कल गाउँपालिकाका स्थानीयहरू चिन्तित बनेका छन् । महाभारत जंगलबाट चितुवा आएर गाईभैंसी, बाच्छाबाच्छी, खसीबोका मार्ने गरेको स्थानीयले बताएका छन् ।

सिन्धुलीको फिक्कलमा चितुवा आतंक

एक साताको अवधिमा एक दर्जनभन्दा बढी चौपाया चितुवाले मारेको गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन् । स्थानीयले भने महाभारत रेञ्जको जंगलमा बाघ रहेको दाबी गरेका छन् । वडा नं ३ को निगुरे, भष्मे, चनौटे, सिलामे, खोर्सानी भन्ज्याङका स्थानीय किसानको चौपाया चितुवाले मारेको अध्यक्ष सुनुवारले बताइन् । चितुवाले चौपायामाथि आक्रमण गर्दा घर र गोठ सँगै हुनेहरुले होहल्ला गरेपछि पशुलाई घाइते बनाएर चितुवा भाग्ने गरेको छ ।

चितुवाले दुईवटा गोरु र एउटा गाई मारेकोमा बिलौना गर्दै किसान हरिबहादुर सुनुवार मान्छेमाथि पनि आक्रमण गर्नसक्ने भयले त्रसित छन् । दिउँसै चितुवा आउने डरले गाईबस्तु फुकाएर चरणमा लैजान समेत बन्द भएको उनी बताउँछन् । चितुवा कतिवटा छन् भन्ने यकिन नभएको किसानहरुको भनाइ छ । चितुवाले गाई मारेपछि घाँसदाउरा गर्नेहरुसमेत जंगल नगएको अर्का किसान अम्बरबहादुर मगरले बताए ।

चितुवाले मारेर बाँकी रहेका चौपाया जोगाउनै मुस्किल भएको उनको भनाइ थियो । वन डिभिजनले समन्वय गरी निकुञ्जबाट कर्मचारी बोलाएर चितुवा नियन्त्रणमा लिनुपर्ने स्थानीयले माग गरेका छन् । हाल चितुवा ६ नं वडाको महाभारत जंगलमा रहेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

पालिका अध्यक्ष सुनुवारका अनुसार ओखलढुङ्गा र रामेछापको जंगलमा डढेलो लागेकाले चितुवा सिन्धुलीतर्फ छिरेको हुनसक्छ । 'यहाँको जंगलमा समेत डढेलो लागेकाले चितुवा बस्ती छिरेर चौपाया मारेको हो,' उनले भनिन्, ‘वन कर्मचारीले चितुवालाई तत्काल नियन्त्रणमा लिने प्रयास गर्नुपर्छ ।’

डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपाने चौपाया क्षतिको विवरण संकलन गरेको र निकुञ्जमा जानकारी गराइएको बताउँछन् । 'त्यो चितुवा हो । मारेको चौपायालाई खान दिए आहारा पुगेर चितुवाले थप क्षति गर्दैनथ्यो,' मारेपछि खाल्डो खनेर पुर्नुभन्दा खान दिनु उत्तम हुने उनले सुझाए ।

प्रकाशित : चैत्र ७, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?