वडा कार्यालय अपायक ठाउँमा निर्माण गर्न लागेको भन्दै विरोध

टीकाप्रसाद भट्ट

रामेछाप — नयाँ संरचनालाई ध्यान नदिई वडा कार्यालय आफूहरूलाई अपायक स्थानमा निर्माण गर्न थालेको भन्दै रामेछापको खाँडादेवी ५ का बासिन्दा आन्दोलित भएका छन् ।

वडा कार्यालय अपायक ठाउँमा निर्माण गर्न लागेको भन्दै विरोध

वडावासी सबैको पायक पर्ने ठाउँमा वडा कार्यालय निर्माण गर्नुपर्ने माग गर्दै सोमबार वडा नम्बर ५ को कार्यालयमा पुगेर स्थानीयहरूले विरोधपत्र बुझाए । विरोध गर्नेमा कांग्रेस, एमाले, माओवादी लगायत दलका स्थानीय नेता कार्यकर्ता र स्थानीयहरू छन् ।

यसअघि आइतबार प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी र जिल्ला समन्वय समितिमा उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका थिए ।

खाँडादेवी गाउँपालिका बन्नुअघि साविकको पकरवास गाविसको कार्यालय रहेको स्थानमा वडा कार्यालय निर्माण गर्ने कार्य सुरु भएपछि विवाद उठेको हो । साविकको पकरवासलाई दुई भागमा विभाजन गरी खाँडादेवी गाउँपालिकाका ४ र ५ नम्बर वडा बनाइएको थियो । साविकको केन्द्र विभाजन भएर दुई वडा बनेपछि तिनका केन्द्र स्वभाविक रुपमा सर्ने स्थानीयको दाबी छ ।

‘पकरवास गाविसलाई दुईवटा वडा बनाइएकाले साविकको गाविस भवन रहेको स्थान वडा नम्बर ५ का लागि अपायक पर्ने भएकाले पायक पर्ने स्थानमा खोजौं भनेर हामीले भनेका हौं,’ विरोध कार्यक्रममा उत्रिएका कांग्रेस नेता राजनारायण श्रेष्ठले भने, 'तर वडाअध्यक्षले जबर्जस्ती त्यही भवन निर्माणको प्रक्रिया थालेकोले विरोध गर्नुपरेको हो ।'

वडा अध्यक्ष मनोज पौडेलले साविकको कार्यालय रहेको स्थानमानै वडा भवन निर्माणको प्रकृया अघि बढाएको जनाएका छन् । उनले साविकको गाविस भवन बसेको पुरानो घर हटाएर नयाँ भवन निर्माणका लागि जग्गा खारेका छन् । विरोधका बावजुद राति डोजर लगेर जग्गा खार्ने काम भएको भन्दै पूर्व वडाअध्यक्ष तुलसी श्रेष्ठले आपत्ति जनाएका छन् । 'चोरी काम भएको छ । वडावासी सबैको भावना बमोजिम वर्तमान वडा अध्यक्षले काम गर्न सकेनन्,' श्रेष्ठले भने ।

वडा नम्बर ५ को क्षेत्रको केन्द्रमा पर्ने स्थान प्रयागेश्वर मावि आसपास वडा कार्यालय निर्माण गर्नुपर्ने उनीहरुको माग छ । वडा अध्यक्षले भवन निर्माण गर्ने स्थान वडा नम्बर ४ को सीमा सँगै पर्छ ।

प्रकाशित : चैत्र ६, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?