६ वर्षसम्म  बनेन पुल

ज्योती श्रेष्ठ

काभ्रे — काभ्रे र मकवनपुर जोड्ने सिक्रेदोभान वाग्मती खोलाको पक्की पुल शिलान्यास गरेको ६ वर्ष बित्यो । पुल निर्माण सम्पन्न नहुँदा डाँडापारि क्षेत्र (खानी खोला र महाभारत) का स्थानीयलाई प्रदेश राजधानी हेटौँडा आवतजावतमा समस्या भएको छ । 

६ वर्षसम्म  बनेन पुल

खानीखोला गाउँपालिका–५ स्थित सिक्रेदोभान वाग्मती खोलाको किनारसम्म दुवै जिल्लातर्फबाट कच्ची सडक पुगेको छ । पुल नबन्दा दक्षिण भेगका स्थानीयलाई समस्या भएको स्थानीय अर्जुन लामाले बताए । ‘यो पुलले प्रदेश राजधानी हेटौंडा पुग्न नजिक हुन्छ, दुई घण्टामै हेटौंडा पुगिन्छ,’ उनले भने, ‘हिउँदमा जसोतसो कच्ची बाटो हिँडिन्छ, पुल बनेको छैन, वर्षामा गाडी चल्दैन, कामकाजका लागि ६ घण्टाको बाटो धाएर बनेपासम्म पुग्नुपर्छ ।’ पुल बनेमा स्थानीय उत्पादनले बजार पाउने र खाद्यान्न ढुवानीलगायतमा सहज हुनेछ । आकस्मिक उपचार सेवाका निम्ति सहज हुने उनले बताए ।

खानी खोला–४ का विजयकुमार लोप्चनले कच्ची सडकमा जोखिम मोलेरै यात्रा गर्नुपरेको बताए । ‘पुल बन्ने आस गरेको पाँच वर्ष बितिसक्यो, यसले अझै पनि गति लिन सकेको छैन,’ उनले भने, ‘चाँडोभन्दा चाँडो काम सक्नुपर्छ र जनताले सेवा सुविधा पाउनुपर्छ ।’ ०७३ मा जिल्ला विकास कार्यालय मकवानपुरबाट बोलपत्र आह्वान भएर पुल निर्माण कार्य अगाडि बढेको थियो । यो पुललाई अहिले पूर्वाधार विकास कार्यालय चितवनले हेरिरहेको छ ।

काभ्रेको खानी खोला–५ र मकवानपुरको वाग्मती–५ सिक्रेदोभानको वाग्मती खोलामा पक्की पुलका लागि पटकपटक म्याद थप्दासमेत १० प्रतिशत जतिमात्र काम भएको खानी खोला–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङताङले जनाए । जम्मा १ सय १५ मिटर लम्बाइको पक्की पुल निर्माणका लागि महावीर/शिखर/तामाकोशी जेभी कम्पनीले पुल निर्माण ठेक्का २०७४ असार ३० गते सम्झौता गरेको थियो । उक्त पुल २०७६ भदौ ३० मा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । काम अघि नबढेपछि पुनः २०७७ फागुन १४ सम्मका लागि म्याद थप गरेको थियो ।

पुलसम्म पुग्ने ट्र्याक खोल्ने, श्रमिकलाई रकम भुक्तानी नपाएकाले निर्माणमा ढिलाइ भएको महावीर/शिखर/तामाकोशी जेभी कम्पनीले जनाएको छ । माटो परीक्षण गर्दाको वस्तुगत स्थिति र इन्जिनियरको डिजाइन मेल नखाँदा काम गर्न असहज भएकाले पुल निर्माण कार्य ढिलाइ भएको हो । निर्माण व्यवसायीले पुल निर्माणमा ढिलासुस्ती गरेकाले काभ्रे–मकवानपुर जोड्ने पुल निर्माण समयमै सम्पन्न हुन नसकेको वडाध्यक्ष स्याङताङले बताए । काम अघि बढाउन सरोकारवाला निकायसँग पहल भइरहेको उनले जनाए ।

‘काम भर्खर सुरु गर्दै छ, वर्षा लाग्यो, वर्षा लागेपछि काम गर्न सकिँदैन,’ निर्माण व्यवसायी र सम्बन्धित सरोकारवाला निकायलाई काम चाँडै सम्पन्न गर्न ताकेता गरिरहेको उल्लेख गर्दै उनले भने ।

प्रकाशित : चैत्र ६, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?