कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भृकुटी डोली बिसौनासँगै ‘ओम पार्क’ बन्दै

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका-७ घुम्थाङ खोलेखर्कमा वरिपरि लोभलाग्दा हिमशृंखला, लेकाली जंगलको बीचमा मैदान । देवीदेवताका कलात्मक मन्दिर, मूर्ति र पार्क । यहाँको ‘ओम पार्क’मा पुग्दा जोकोही रमाउँछन् ।

यहाँ ठड्याइँदै गरिएको ३१ फिट अग्लो ओम र अन्य पार्कको निर्माणाधीन ६ रोपनी संरचनाको अवशेषले यहाँ घुम्न आउनेलाई झनै आकर्षित गरेको छ । ओम पार्क नेपालकी कोषाध्यक्ष लीला नेपालका अनुसार १३ करोडको लागतमा ओम र पार्क वरिपरिको देवीदेवताका संरचना धमाधम बनाइँदै छ । ‘यहाँ ३१ फिट अग्लो ओम बन्नेछ र तल्लो भागमा पार्कको संरचनासम्बन्धी काम धमाधम भइरहेको छ, चाँडै अन्तिम रूप दिनेछौं,’ नेपालले भनिन् ।

पार्कसँगै खोलेखर्क मैदान केही तलको जंगलमा रहेको अनौठो चट्टानले भरिएको कलात्मक धनलक्ष्मी गुफा, महादेव मन्दिर, वनभोजस्थल, वृन्दावन, भृकुटी डोली बिसौनाजस्ता अनेकन पर्यटकीय आकर्षक स्थल छन् । दैनिक ५० भन्दा बढी घुम्न आउने पाहुनालाई स्थानीय शेर्पा र तामाङ समुदायले घरेलु उत्पादन उपहार दिएर बिदा गर्ने गरेको नेपालले बताइन् ।

स्थानीय घुम्थाङ खोलेखर्कको डाँडामा अनेक जंगली फूल र जडीबुटी, पशुपन्छी प्रत्यक्ष देख्न पाइन्छ । पर्यटक तान्नका लागि व्यवस्थित प्राकृतिक बास र छाप्रोको पनि व्यवस्था गरिएको छ । ‘ओमपार्क बनेपछि यहाँको रंग अर्कै हुन्छ,’ घुम्न पुगेका व्यवसायी रामकुमार थापाले भने । अँधेरी झरना हेर्दै ओम पार्कक्षेत्र आइपुगेका थापासहितको ७ जनाको टोली वनभोजन गरी फर्केका थिए । बाह्रबिसेको नगरको मानेश्वारा घलंसा हुँदै घुम्थाङ गाउँको खोलेखर्कबाट चारैतिरको मनोरम दृश्य नियाल्न सकिन्छ । हरियाली फाँटले भरिएको यसस्थानबाट चीनको खासा क्षेत्र, गौरीशंकर हिमालजस्ता सुन्दर संरचना हेर्न सकिन्छ ।

बाह्रबिसे–७ खोलेखर्क लेक जंगल क्षेत्रबाट तिब्बत जाने पुरानो पैदल बाटोमा एउटा पुरानो ढुंगा प्रयोग गरेर बनाइएको चौतारी छ । यसलाई भृकुटी डोली बिसौना भनेर चिनिन्छ । अस्पष्ट देखिने केही बौद्धमन्त्रजस्तै देखिने अक्षर कुँदिएका शिलालेख, फराकिलो चौरमा ओछ्याएका केही कलात्मक ढुंगा, चौतारीका अधिकांश ढुंगा झिकिसकेका हुनाले केही अधुरोजस्तै देखिन्छ बिसौना । खोलेखर्कका ९० वर्षीय चामे तामाङका अनुसार विवाह सकेर तिब्बत जाने क्रममा यही स्थानमा राष्ट्रिय विभूति भृकुटी डोलीसहित दक्ष कालिगढ, सेनाको टोली बास बसेका थिए ।

‘त्यही सम्झनामा यो बिसौनाको नाम भृकुटी डोली बिसौना बसेको हो,’ जनश्रुति सुनाउँदै उनले भने, ‘एक रात यही बास बसेर उनीहरू चीनको तिब्बत गए, त्यही यादमा कालिगढले चौतारी बनाएर शिलालेख, पवित्र मन्त्र कुदेर छाडेका थिए ।’ २०६८ सालसम्म यही चौतारीमा केही कुदिँएको एकदमै ठूलो शिलालेख र कलात्मक मूर्ति, तिब्बती परम्परागत झन्डाको अवशेष भेटिएको र पछि त्यो चोरी भएको उनले बताए ।

प्रकाशित : चैत्र ६, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?