पुल निर्माणको माग गर्दै सिन्धुलीमा सडक अवरुद्ध- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल निर्माणको माग गर्दै सिन्धुलीमा सडक अवरुद्ध

राजकुमार कार्की

सिन्धुली — पुल निर्माण पूरा गर्न माग गर्दै सिन्धुलीको फिक्कलका स्थानीयले आइतबार सडक अवरुद्ध गरेका छन् । सुरु भएको दशक बित्दासमेत पुल अलपत्र परेपछि मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका-६ मा स्थानीयले दबाबस्वरुप तीनदिनदेखि सडकमा धर्ना बसेर यातायातका साधन चल्न दिएका छैनन् । 

राजमार्गको सोखुखोलामा निर्माणाधीन पक्की पुल छिटो सम्पन्न गर्न दबाब दिने उद्देश्यले चक्काजाम गर्नुपरेको स्थानीयको भनाइ छ । शुक्रबार ३ घण्टा चक्काजाम गरेका स्थानीयले शनिबार ५ घण्टा र आइतबार ६ घण्टा यातायात अवरुद्ध पारे । स्थानीयको अवरोधका कारण मध्यपहाडी राजमार्ग भएर ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, उदयपुर र सिन्धुलीबाट राजधानी आवतजावत गर्ने यात्रु तथा सवारी साधन बाटैमा अलपत्र परेका छन् ।

स्थानीय रामप्रसाद भण्डारीका अनुसार पुल निर्माण ठेक्का सुरुमा पप्पु कन्स्ट्रक्सनले पाएको थियो । पप्पुले अलपत्र पारेर छाडेपछि ठेक्का तोडेर लोहनी–आत्रेय जेभीलाई दिइएको थियो । जेभीले तीन वर्ष बित्दासमेत सम्पन्न नगरेपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् । पूल निर्माण सम्पन्न गर्ने ग्यारेन्टी नभएसम्म कुनै सम्झौता नहुने स्थानीयको भनाइ छ ।

सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दैनिक यातायात अवरोध हुँदा यात्रीले सास्ती बेहोर्नु परेकाले निर्माण व्यवसायी झिकाएर त्रिपक्षीय वार्ताको तयारी भइरहेको बताइन् । 'निर्माण व्यवसायीलाई आजै झिकाइएको छ, अब स्थानीयलाई बोलाएर वार्तामा बस्छौं', उनले भनिन् । सोखुखोलामा पुल नहुँदा वर्षामा आउने बाढीले यातायात अवरुद्ध हुने गरेको छ ।

प्रकाशित : चैत्र ५, २०७९ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्

सबै सांसदबाट विश्वासको मत पाउने आशा छ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारको प्रतिनिधिसभा बैठकबाट शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका छन् । 

प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा आइतबार सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमबार (भोलि) दिउँसो १ बजे सबै सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् ।

पहिले ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै उनले सोमबार सय प्रतिशत पुग्ने आशा व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’

प्रधानमन्त्री दाहालले सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । उनलाई हालसम्म कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १६:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×