२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्गमा सेना

ऐतिहासिक दुई गढीलाई जोड्न सेनाको बर्दबहादुर गणले गर्‍यो छ दिन लामो पदयात्रा
राजकुमार कार्की

सिन्धुली — समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग जोडेर पर्यटकीय पदमार्ग बनाउन थालेको तीन वर्ष बित्यो । अभियानले स्थानीय विकास साझेदारी कार्यक्रमअन्तर्गत ४० लाखले १५ किलोमिटर पदमार्ग तयार गरेको थियो । पदमार्गको सुरुवात स्थल घण्टेमा कलात्मक प्रवेशद्वार बनाएर खोरभञ्ज्याङ र जितपुरमा काठको कलात्मक प्रतीक्षालय निर्माण गरिएको थियो ।

हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्गमा सेना

रकम अभावमा ७२ किलोमिटर लामो हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्ग त्यसपछि अगाडि बढ्न सकेन । त्यसपछि सेनाको बर्दबहादुर गणले पदमार्ग सफा गरेर जोड्ने काम गरेको थियो । अभियानका संयोजक लीलानाथ घिमिरेका अनुसार पर्वतीय शृंखलाको मनोरम दृश्य र महाभारत क्षेत्रको वनस्पति अध्ययनका लागि समेत लाभदायक हुने पदमार्गमा अक्करेभीरमा झोलुङ्गे पुल र होमस्टे सञ्चालन भएमात्र पदमार्गको आकर्षण बढ्ने छ । यतिखेर यो पदमार्गमा यात्राका लागि भने सेनाकै भर छ । तीन वर्षअघि अभियानका संयोजक घिमिरेको नेतृत्वको टोलीले पदयात्रा गरेको थियो । त्यसपछि बाहिरी निकाय र व्यक्तिबाट पदयात्रा भएको छैन ।

तत्कालीन मकवानपुरका राजा हेमकर्ण सेनले स्थापना गरेको घण्टे महादेव रहेको स्थानबाट पदमार्ग सुरु गरिएको थियो । सेनाले भने हरिहरपुरगढीबाट पदयात्रा थालनी गर्दछ । मदन भण्डारी मार्गको घण्टेबाट ऐतिहासिक हरिहरपुरगढी दुई घण्टा पैदल दूरीमा छ । घण्टेबाट हरिहरपुरगढी, जितपुर भीमगढ, सेपाहा, मरिण गाउँपालिकाको खलंगा, मधुवनी, घ्याङलेख गाउँपालिकाको चन्दनपुर, फापरचुली, सुनकोशी गाउँपालिकाको बन्दीपुर, मतानवास, नागी हुँदै सिन्धुलीगढीसम्मको पदमार्ग हो ।

सिन्धुलीगढी सदरमुकाम सिन्धुलीबाट २० किलोमिटर दूरीमा छ । यो पदमार्गले दुवै गढीलाई जोड्ने छ । चौधौं शताब्दीमा बनाइएका हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोडेर पर्यटन प्रवर्द्धन गर्न पदमार्ग जरुरी रहेको घिमिरेको ठहर छ । हरिहरपुरगढी किल्ला हरिसिंहदेवले १३८१ सालमा बनाएका थिए । बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भीषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालीन राजा हरिसिंह सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए । त्यही किल्लाले राज्यको रूप लिएको थियो । यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भन्न थालिएको इतिहासमा पाइन्छ । झन्डै ७ सय वर्षअघि बनेको यो किल्ला पुरानै स्वरूपमा जस्ताको तस्तै छ ।


सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेको ऐतिहासिक स्थल हो । नेपाल एकीकरण अभियानलाई रोक्न आएका अंग्रेज फौजलाई १८२४ सालमा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक वर्ष सिन्धुलीगढीमा विजयोत्सव मनाइन्छ । इतिहासलाई जगेर्ना गर्ने हेतुले यहाँको ऐतिहासिक दुई गढीलाई जोड्न नेपाली सेनाको बर्दबहादुर गणले हरिहरपुरगढीबाट सिन्धुलीगढीसम्मको पदयात्रा गरेको छ । यो सेनाको तेस्रो वर्षका पदयात्रा हो । पदयात्रा ६ दिन लगाएर पूरा गरेका गणको टोलीलाई ऐतिहासिक सिन्धुलीगढीमा स्वागत गरिएको छ । खादा, माला, अबिर लगाएर पदयात्राका टोलीलाई लागि सिन्धुलीगढी परिसरमा सम्मान गरिएको छ । बर्दबहादुर गणका उपसेनानी भगवान् थापामगरको कमान्डमा बन्दोबस्तीका सामानसहित ३४ जनाको पदयात्रा टोलीले सेपाहा, भदौरे, मधुवन, कोलटार, टुनीभन्ज्याङ, छरछरेगाउँ, बन्दीपुर, नागी हुँदै ६ दिन लगाएर सिन्धुलीगढी आइपुगेको गणका गणपति रमेश थापाले जानकारी दिए । तीन वर्षअघि एकीकरण पदमार्ग निर्माण गरेको सेनाले ऐतिहासिक गढी तथा किल्लाहरुको संरक्षण, पर्यटन प्रवर्द्धन, पुर्खाको सम्मानका खातिर पदयात्रा सुरु गरेको गणपति थापाको भनाइ छ । एकीकरण पदमार्ग दुई साता लगाएर बर्दबहादुर गणका सेनाले निर्माण गरेको थियो । त्यसअघि समृद्ध सिन्धुली अभियानले पदमार्गको खोजी गरी निर्माण गरेको थियो ।

यो पदयात्राले दुवै गढीलाई जोडेर इतिहासको जगेर्ना गर्न मद्दत पुग्ने अन्वेषणकर्ता सागर ढकालको विश्वास छ । नेपाल एकीकरणको समयमा गोर्खाली फौज र अंग्रेज फौजबीच सिन्धुलीगढीमा भएको लडाँइमा पराजित भएपछि बाँचेका कम्पनी सेनाहरु हरिहरपु गढीबाट तत्कालीन कान्तिपुर राज्य पस्ने दाउमा यही पैदल मार्ग हुँदै हरिहरपुरगढीसम्म पुगेको इतिहास रहेको ढकालको भनाइ छ । तर त्यो सफल भएन । उनी भन्छन्, ‘यो कठिन बाटोलाई सैनिक इतिहासमा एकीकरण पदमार्ग भनिएको छ । सेनाले हरेक वर्ष यो पर्वतीय बाटोमा पदयात्रा तय गरेर इतिहासको जगेर्ना गरेको छ ।’

नेपाल एकीकरणको समयमा महत्त्वपूर्ण योगदान दिएको हरिहरपुरगढी र अंग्रेज सेनालाई धपाएको सिन्धुलीगढीको महत्त्वलाई उजागर गरी प्रचारप्रसार गर्न सके भावी पुस्तामा समेत वीरविरांगानाहरुको गाथा ताजा रहने अन्वेषणकर्ता ढकालको भनाइ छ । कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले इतिहास बोकेको स्थानको परिचय र ओझेलमा परेका गाउँहरुलाई अगाडि ल्याउन पदयात्रा सहायकसिद्ध हुने विश्वास व्यक्त गरे । नेपाल एकीकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने र पदयात्राबाट जीवन्त राख्ने सेनाको योजना छ ।

पदयात्राका क्रममा जितपुरको डाँडामा निर्माण गरिएको प्रतीक्षालयबाट दक्षिणतिरको मरिण फाँट, चुरे र तराईको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट उत्तरी क्षेत्रको हिमालय पवर्त शृंखलासमेत देखिन्छ ।


प्रकाशित : चैत्र ४, २०७९ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?