सिन्धुलीको जंगलमा दुई दिनदेखि डढेलो- वाग्मती - कान्तिपुर समाचार

सिन्धुलीको जंगलमा दुई दिनदेखि डढेलो

राजकुमार कार्की

सिन्धुली — चैत्र महिना सुरू हुनासाथ सिन्धुलीको जंगलमा डढेलो लाग्न थालेको छ । सदरमुकाम नजिकै कमलामाई नगरपालिका वडा–२ को चियाबारी–पिपलभन्ज्याङ बीच जंगलमा लगातार दुई दिनदेखि व्यापक रुपमा डढेलो लागेको छ ।

बीपी राजमार्गको घेराबन्दी हालेर लागेको डढेलोका कारण सवारी साधन तथा यात्रुहरुले सास्ती बेहोरिरहेका छन् । डढेलोको लप्काले गाडीलाई सडक पार गर्न मुस्किल भएको यात्रु ईश्वरीलाल श्रेष्ठले सुनाए । चारैतिरबाट वनको सबै नष्ट हुनेगरी डढेलो लाग्दा निभाउने प्रयास कसैले नगरेकोमा उनले चिन्ता व्यक्त गरे ।

डढेलोका कारण संरक्षित वन नष्ट हुने तथा नजिक रहेका घरगोठमा आगलागी हुने भन्दै स्थानीय त्रसित छन् । सदरमुकामको च्याउकोट, कमलामाई, खाडीखोला र कोप्चेखोला सामुदायिक वनमा समेत डढेलो सुरु भएको छ । घाँसको लोभमा गोठाला तथा घाँसीहरुले आगो सल्काइदिने भएकाले स्थानीयले नियन्त्रणका लागि खासै प्रयास गर्दैनन् । घर तथा बस्ती नै आगलागी भएमा मात्र कोकोहोलो हुने गरेको छ ।

डढेलोले संरक्षित साल तथा अन्यजातका रुखहरु, वनस्पति, चराचुरुङ्गी र जीवजन्तुलाई प्रत्यक्ष असर गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको चुरे क्षेत्र र महाभारत क्षेत्रमा समेत भररात जंगलमा डढेलो लागेको प्रष्टै देखिन्छ । डढेलो नियन्त्रणका लागि वन कार्यालयमा १० जना अग्निनियन्त्रक टोली छ । डढेलो लागेको खबर पाएमा तत्काल टोली परिचालन हुने डिभिजन वन प्रमुख कृष्णराज न्यौपाने बताउँछन् । स्थानीयले डढेलो लागेको बारे जानकारी नदिएको उनले बताए ।

सिन्धुली नेपालकै साल जातको रुखहरु प्रशस्त भएको १० जिल्लामा पर्छ । जिल्लाको ९ वटा स्थानीय तहमध्ये कमलामाई र दुधौली नगरपालिका, मरिण र हरिहरपुरगढी गाउँपालिकामा चुरे क्षेत्रको जंगल पर्दछ । सिन्धुलीमा हालसम्म पाँचसय पाँचवटा सामुदायिक वन समूह रहेका छन् । एक लाख ५० हजार हेक्टर जंगल उपभोक्तालाई संरक्षणको जिम्मा दिइएको छ ।

प्रकाशित : चैत्र २, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्

एसईई तयारीमा आमाहरू

‘उमेरमा पढ्न पाइएन । अहिले पढ्ने धोकोले वैकल्पिक विद्यालय भर्ना भएको हो,’ ३ कक्षाबाट पढाइ सुरु गरेकी धनकुमारी भन्छिन्, ‘आफूले मात्र रहर गरेर नहुने रहेछ, परिवारले साथ दिँदा सजिलो हुन्थ्यो । सकेसम्म नछुटाई स्कुल आउने गरेकी छु ।’
घनश्याम खड्का

म्याग्दी — सबेरै ४ बजे उठेर दैलोकुचो, गृहकार्य सकेर भान्सामा । भाँडाकुँडा सफा गरी ट्युसन अनि स्कुल । रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट सदरमुकाम बेनी झरेकी ५७ वर्षीया राधा पुनको बिहानी यस्तै छ । स्कुलबाट फर्केपछि खाजा–खाना पकाइ–खुवाइ धन्दा सकेर राति १० बजेपछि फेरि गृहकार्य । यतिका सकसका बीच पनि पढ्ने रहर भने झन् बढेको छ । 

सदरमुकाम बेनीकी डिलकुमारी पुर्जा (४९), विष्णु गुरुङ (४९), संगीता क्षत्री (३५), धनकुमारी विक (३९), रामदेवी पुन (४०) सहित ९ आमालाई यतिबेला एसईईको पिरलो छ ।

‘बिहान ४ बजे उठ्छु, पोछा लगाएपछि पढ्न बस्छु । ६ बजे नानीबाबु उठेपछि चियानास्ता खुवाएर ट्युसन पठाउँछु अनि खाना पकाउँछु,’ डिलकुमारी भन्छिन्, ‘नानीबाबु र सासूलाई खाना खुवाएर बिहान ९ बजेबाट मेरै ट्युसनमा बस्छु । ४ बजेसम्म स्कुलै हुन्छु । फर्केर घरायसी काम सकेर मध्यरातसम्म पढ्छु ।’

सामाजिक काम परिरहने र पाहुना आएका दिन त निकै समस्या हुने उनले बताइन् । ‘तै हिम्मत हारेकी छैन । उज्यालो वैकल्पिक विद्यालयमा ५ कक्षामा भर्ना भई पढ्न थालेकी हुँ । ९ कक्षा पढ्दै गर्दा बिरामी भएँ, २ वर्ष पढाइ छुट्यो,’ उनी ढुक्क छिन्, ‘बिरामबाट उठेर फेरि पढ्न आएकी छु, एसईई त पास गर्छु–गर्छु ।’

बेनीदेखि पश्चिम बेनी–दरबाङ सडकमुनि सरकारी भवनको भुइँ तलामा छ, उज्यालो वैकल्पिक विद्यालयको कार्यालय । राउन्ड टेबल राखिएकाले कुनै सरकारी कार्यालय वा होटल, रेस्टुरेन्टको ‘सोधपुछ कक्ष’ जस्तो देखिन्छ । बेनी सामुदायिक माध्यमिक विद्यालयअन्तर्गत स्थापित उज्यालो वैकल्पिक विद्यालय सञ्चालन गर्न अर्को ठाउँ नपाएकाले साबिक महिला विकास कार्यालय र

हाल गण्डकी प्रदेश सामाजिक विकास कार्यालय रहेको भवनको भुइँ तलाको ६ कोठामा विद्यालय सञ्चालन गरिएको हो । विद्यालय पुगेर औपचारिक शिक्षा नपाएका वा बीचैमा कक्षा छोड्न बाध्य गृहिणीलाई शिक्षाको मूलधारमा ल्याउन ०७३ देखि समुदायको सक्रियतामा विद्यालय खुलेको हो । चैत १७ देखि हुने एसईईमा यसपालि दोस्रो ब्याचका ९ जना आमा सहभागी हुँदै छन् ।

विद्यालय बिहान ११ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुन्छ । एसईईको तयारीस्वरूप तीन महिनायता बिहान ९–११ र दिउँसो ३–४ बजेसम्म अंग्रेजी, गणित र विज्ञान विषयको ट्युसन चल्छ । ‘फुर्सदको समय निकालेर विद्यालय आउने भएकाले हामीले सकेजति मिहिनेत गरेर पढाएका छौं । राम्रै परीक्षाफल आउने विश्वास छ,’ शिक्षक गंगादेवी शर्माले भनिन्, ‘बिस्तारै सामुदायिक सक्रियता घट्न थालेसँगै स्रोतको समस्या हुन थालेको छ । नगरपालिकाले दिएको केही अनुदान र गृहिणी विद्यार्थीबाट संकलित चन्दा रकमले मात्र चल्न गाह्रो हुँदै छ ।’

आमाहरूले जसरी पनि एसईईमा सामेल हुने दृढता देखाएपछि विद्यालयले अतिरिक्त कक्षा (ट्युसन) को व्यवस्था गरेको हो । तर शुल्क भने महँगो छ, प्रतिविषय एक हजार पाँच सय । तीन विषयको मासिक चार हजार पाँच सय लाग्छ । तीन महिनाको १३ हजार पाँच सय त ट्युसन शुल्क मात्र तिर्नुपर्छ । ‘उमेरमा पढ्न पाइएन । अहिले पढ्ने धोकोले वैकल्पिक विद्यालय भर्ना भएको हो,’ ३ कक्षाबाट पढाइ सुरु गरेकी धनकुमारीले भनिन्, ‘आफूले मात्र रहर गरेर नहुने रहेछ, परिवारले साथ दिँदा सजिलो हुन्थ्यो । सकेसम्म नछुटाई स्कुल आउने गरेकी छु ।’

बिहान–बेलुका चुलोचौका सम्हालेर फुर्सदको समयमा परीक्षा तयारी गर्दा धपेडी परेको उनले बताइन् । गणित, अंग्रेजी र विज्ञानको ट्युसन पढे पनि बुझ्न निकै गाह्रो भएको र शुल्क पनि महँगो भएको उनको भनाइ छ ।

वैकल्पिक विद्यालयमा चौथो तह उत्तीर्ण गरे कक्षा ८ र पाँचौं तह उत्तीर्ण गरे कक्षा १० सम्मको औपचारिक शिक्षा प्राप्त गर्न सकिन्छ । अनुभव र ज्ञानका आधारमा छोटो समयमा पढ्न सक्ने गरी तयार पारिएको फरक शैलीको पाठ्यक्रम अध्ययन/अध्यापन गराउने गरिएको छ । तर, कक्षा ८, ९ र १० का लागि अनौपचारिकतर्फको पाठ्यक्रम नपाएपछि औपचारिक विद्यालयकै पाठ्यक्रम पढाउने गरिएको छ ।

‘बेनी नगरपालिकाले केही रकम अनुदान दिन्छ, बाँकी दाताको चन्दाबाट चलेको छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश शाक्यले भने, ‘ठूलो रकम सोही विद्यालयमा अध्ययनरत विद्यार्थीका छोराछोरीले विदेशबाट पठाएको चन्दा हो । आमाहरूले पढ्ने धोको राख्नु भएपछि थप व्ययभार वहन गरी पढाएका छौं ।’

प्रकाशित : चैत्र २, २०७९ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×