शैलुङ बोधिचैत्यको प्राण प्रतिष्ठा

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछाप र दोलखाको सीमावर्ती पर्यटकीय टाकुरा शैलुङमा निर्माण भएको शैलुङ ज्याङछ्युव छ्योर्तेन (बोधिचैत्य) को बुधबार प्राण प्रतिष्ठा गरिएको छ ।

शैलुङ बोधिचैत्यको प्राण प्रतिष्ठा

करिब ३ करोडको लागतमा निर्माण भएको उक्त छ्योर्तेन (बोधिचैत्य) मा राखिएका बुद्धका मूर्तिहरुको लामा गुरु क्याव्जे सेचेन रव्ज्याम रिन्पोक्षे र टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे लगायतले बौद्ध धर्मका विभिन्न मन्त्रोचारण गरी प्राण प्रतिष्ठा गरेका थिए । उक्त छ्योर्तेनको निर्माणका लागि नेपाल सरकारका विभिन्न निकाय र लामा गुरुहरुले चन्दा संकलन गरी खर्च जुटाएका हुन्।

रामेछापको उत्तर पश्चिम क्षेत्र ३ हजार १ सय ४७ मिटर अग्लो शैलुङ टाकुरामा निर्माण भएको उक्त कलात्मक बोधिचैत्यको निर्माणले उक्त क्षेत्रको धार्मिक पर्यटनको विकास हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा रामेछापबाट निर्वाचित प्रतिनिधिसभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले शैलुङको विकासका लागि कार्यक्रम बनाउन आग्रह गरेका थिए । ‘शैलुङ धार्मिक र पर्यटकीय स्थान हो । यसको पूर्वाधार विकासका लागि विस्तृत परियोजना प्रस्ताव तयार गरी सबैको सहयोगमा क्रमबद्ध विकास गरौं,' तामाङले भने ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य युवराज चौलागाईँले शैलुङको विकासका लागि प्रदेश सरकारबाट आवश्यक योजना तर्जुमा गर्न सघाउने बताए । शैलुङको प्रचार प्रसारलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनुपर्ने भन्दै यस क्षेत्रको विकाससँगै स्थानीय बासिन्दाको आर्थिक अवस्था उकास्न रोजगारी सिर्जना गर्ने पनि बताए । त्यसैगरी दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मदन कुमार मोक्तानले समेत शैलुङको विकासका लागि पालिकाले खर्च गर्दै आएको बताएका थिए ।

प्रकाशित : फाल्गुन १७, २०७९ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?