निकुञ्जले दियो कृषकलाई राहत

रसुवा — वन्यजन्तुले अन्नबाली तथा पशुधनमा क्षति गरेपछि लाङटाङ राष्ट्रिय निकुञ्जले ५ वर्षमा १ हजार २ सय १७ कृषकलाई राहत रकम दिएको छ ।

१ करोड १५ लाख ३० हजार ६ सय ९२ रुपैयाँ प्रदान गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए । धेरैजसो कृषकले जंगली बँदेलले अन्नबाली क्षति गरेको भन्दै निवेदन दिएका छन् । निकुञ्जले ०७४/०७५ देखि जिल्लाबाटै कृषकलाई राहत दिन थालेको हो । त्यसअघि क्षेत्रीय वन निर्देशनालय हेटौंडाले राहत दिने व्यवस्था थियो ।
घरगोठ र खाद्यान्न बालीको क्षतिका लागि बढीमा १० हजार, वयस्क भैंसी, जोत्ने उमेरको राँगा, गोरु वा उन्नत गाई वा साँढेको मृत्यु भएमा बढीमा ३० हजार रुपैयाँसम्म दिने व्यवस्था छ । निर्देशिकामा मानवीय, पशुधन, घरगोठ, भण्डारका अन्न र खाद्यान्न बालीको क्षतिका लागि राहत दिने व्यवस्था छ ।
