विवादबीच बस्दै वाग्मती प्रदेशसभा बैठक- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवादबीच बस्दै वाग्मती प्रदेशसभा बैठक

सुवास विडारी

मकवानपुर — दलहरूबीच विवाद रहेकै अवस्थामा बिहीबार वाग्मती प्रदेशसभाको बैठक बस्दैछ । सदनमा प्रतिनिधित्व गर्ने सात दलबीच संसदीय समितिको नेतृत्वको विषयमा विवाद भएपछि माघ २३ गते सोमबार स्थगित भएको बैठक पुनः बस्न लागेको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्नेबाहेक कुनै कार्यसूची छैन । प्रदेशसभा सचिवालयले सर्वदलीय सहमतिमै बैठक आह्वान गरे पनि ‘बिजनेसविहीन अवस्था’मा सदन रहेको छ । सरकारले पाँचवटा प्रतिस्थापन विधेयक ल्याउने बताए पनि अझै सचिवालयमा दर्ता भएको छैन ।

सरकार कानुन निर्माणभन्दा पनि सत्तारुढ दलबीच संसदीय समितिको भागबण्डा मिलाउनै व्यस्त रहेको छ । प्रदेशसभामा तत्काल प्रदेश निजामती सेवा ऐन, स्थानीय सरकारको कर्मचारी व्यवस्थापन ऐन, शिक्षासम्बन्धी ऐन, हस्तकलासम्बन्धी ऐन र कृषिसम्बन्धी अध्यादेशहरू ऐन नै ल्याएर प्रतिस्थापन गर्नुपर्ने अवस्था छ । अघिल्लो कार्यकालमा सरकारले प्रदेशसभाको अधिवेशन स्थगित भएको अवस्थामा उक्त अध्यादेश जारी गरेको थियो ।

प्रदेशसभामा ५ वटा संसदीय समिति रहेका छन् । उक्त विषयगत समितिको नेतृत्व गर्ने विषयमा सत्तारुढ दलबीचमै विवाद रहेको छ । सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एमाले, राप्राले २/२ वटा समितिको दाबी गर्दा हाम्रो नेपाली पार्टीले १ मा दाबी गरेको छ । हाम्रो नेपाली पार्टीले मन्त्रिपरिषद्मा आफ्नो दलको प्रतिनिधित्व नभएको कारण जसरी पनि एउटा समिति पाउनुपर्ने अडान सत्तारुढ दलको बैठकमा राखेको छ ।

सदनको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि २ वटा समिति सहमतिमै आफूलाई दिनुपर्ने दाबी गरिरहेको छ । कांग्रेसले सदनको ठूलो र प्रमुख प्रतिपक्षी दल भएको कारण दुईवटा समिति दाबी गरेको छ । प्रतिपक्षी दल नेकपा (एस) र नेपाल मजदुर किसान पार्टीले पनि कम्तीमा एउटा संसदीय दलको नेतृत्व माग गरिरहेको छ ।

अघिल्लो प्रदेशसभा बैठकमा दलहरूको तर्फबाट समितिमा बस्ने सांसदहरूको नामावली माग भए पनि एमालेबाहेकका दलले सदनमा नाम नबुझाउँदा समिति गठन प्रक्रियामा समस्या भएको हो । सरकारलाई प्रश्न गर्ने र निर्देशन दिने क्षमता राख्ने भएका कारण समितिमा दलहरुको दाबी बढी भएको हो ।

समिति गठन प्रक्रियामा ढिलाइ हुने भएपछि प्रदेशसभा सचिवालयले पुनः सर्वदलीय बैठक बोलाउने तयारी गरेको छ । सचिवालयले बिहीबारको सर्वदलीय बैठक राख्ने जनाएको छ । ‘समिति गठन गर्न सचिवालयले अन्तरिक छलपल गरिरहेको भए पनि दलीय सहमति हुन सकेको छैन । आगामी बैठक अघि वा पछि पनि सो विषयमा छलफल हुने नै छ,’ सचिवालयका सूचना अधिकारी सुन्दर बाास्कोटाले भने ।

आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले यस विषयमा अझै केही दिन समय लाग्ने बताए ।‘ दलहरूबीच छलपल र सहमतिपश्चात यस विषय टुंगिनेछ,’ उनले भने ।

कांग्रेस सांसद एवं मुख्यसचेतक कुन्दनराज काफ्लेले सत्तारुढ दल समिति निर्माणमा गम्भीर नभएको आरोप लगाए । ‘सदन प्रतिपक्षको हो । सत्ता सरकारको । सरकारले दुवै हामीलाई चाहियो भनिरहेको छ । यो गलत हो,’ उनले भने । प्रतिपक्षलाई नसमेटिएसम्म समिति गठन गर्न नसकिने उनको भनाइ छ । उनी भन्छन्, ‘सरकारले समिति गठन गर्न हालसम्म कुनै औपचारिक प्रस्ताव नै ल्याएको छैन । हामी समितिमा बस्ने नामावली बुझाउन तयार नै छौं ।’

नेकपा (एस)का सांसद एवम् पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले सत्तारुढ दलभित्रकै विवादका कारण समिति निर्माणमा समस्या भएको बताए । ‘सत्तारुढ दलमै समितिको नेतृत्व कस्ले गर्ने भन्ने विषयमा विवाद रहेको छ । हामी सदनमा समितिमा बस्ने सांसदको नाम बुझाउन तयार नै छौं । तर, सरकारले विपक्षीलाई दोष लगाएर पन्छिन खोजिरहेको छ,’ उनले भने ।

प्रदेशसभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छन् ।

प्रकाशित : माघ २६, २०७९ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्

सामन्थाको सन्देश : लोकतन्त्रमा जोड र आर्थिक सहायतामा वृद्धि

प्रधानमन्त्री दाहाललाई ‘डेमोक्र्याटिक समिट’ मा आमन्त्रण
जगदीश्वर पाण्डे

काठमाडौँ — लोकतन्त्र सुदृढीकरण र आर्थिक सहयोग बढाउने प्रतिबद्धता गर्दै नेपालको दुईदिने भ्रमण सकेर अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर बुधबार बेलुकी फर्केकी छन् ।

नेपालको लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका निम्ति ६ करोड ८५ लाख अमेरिकी डलर (करिब साढे ७ अर्ब रुपैयाँ) सहयोगको घोषणा गरेकी प्रमुख सामन्थाले नेपाललाई आगामी दिनमा थप सहयोग बढाउने प्रतिबद्धता गरिन् । राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डपछि अमेरिकाबाट काठमाडौं उत्रिएकी पावरले अमेरिकाले नेपाललाई पछिल्लो समय महत्त्वपूर्ण चासो दिइरहेको सन्देशसमेत दिएर गइन् ।

फर्कनुअघि पत्रकार सम्मेलन गर्दै सामन्थाले भनिन्, ‘हामी स्थानीय संस्था र सरकारको स्तरमा अझ बढी सहयोग गर्न चाहन्छौं । लामो समयदेखि हामीले गरेको लगानीले समुदायहरूमा लगानीको वातावरण बनाउन चाहन्छौं ।’ उनले नेपाललाई सहयोगी साझेदारभन्दा पनि व्यापार साझेदार बनाउन चाहेको पनि बताइन् । उनले लोकतन्त्रले गर्दा नै आर्थिक विकासको काम गर्न सक्ने बताइन् । सन् २०२२ मा यूएसएआईडीले नेपाललाई आगामी ५ वर्षका लागि ६५ करोड ९० लाख डलर सहयोग गर्ने घोषणा गरेको थियो ।

पावरले यूएसएआईडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धि मजबुत पार्न र नेपालीका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने पनि बताइन् ।

प्रमुख पावरले नेपालमा अमेरिकाले गर्ने सहयोगमा भूराजनीतिक आयाम नरहेको बताइन् । अमेरिकाले दसकौंदेखि नेपाललाई सहयोग गर्दै आएको बताउँदै भनिन्, ‘भूराजनीति परिवर्तन भइरहन्छ । शीतयुद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो । तर हामी काममा केन्द्रित हुन्छौं, प्रभावका लागि हामी साथमा काम गर्छौं ।’ पावरले समावेशी लोकतन्त्रलाई जोड दिँदै नेपालमा यसका लागि सहयोग गर्ने पनि बताइन् । जलवायु परिवर्तनले असर पारेको र यसबाट पर्न सक्ने असरको बारेमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

पूर्वपरराष्ट्र सचिव दुर्गा भट्टराईले अमेरिकाको पहिचान नै लोकतन्त्र भएको बताए । उनीहरूको आधार नै लोकतन्त्र भएका कारण आफ्नो सम्बन्ध विकासका लागि पनि उक्त विषयलाई ल्याउँछन् । ‘लोकतान्त्रिक मुलुकसँग उनीहरू सहयोग लिन्छन् र दिइहाल्छन्,’ उनले भने, ‘अलि फरक देखेपछि अर्को खेमाका हुन् भन्छन् । आर्थिक सहयोगमा कुनै पनि हिसाबले राजनीतिक स्वार्थ नजोडिने भन्ने होइन । तर अर्कोको हित गर्दा आफ्नो पनि हित हुन्छ भन्नेचाहिँ हो ।’

प्रमुख पावरले आगामी महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ‘प्रजातन्त्र सम्मेलन’ मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई आमन्त्रण गरिएको बताएकी छन् । पत्रकार सम्मेलनमा पावरले सम्मेलनको अधिकांश कार्यक्रम भर्चुअल्ली हुने भन्दै नेपालका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिको सम्मेलनमा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयनसहितका सम्बोधन गर्ने अवसर हुने बताइन् ।

‘प्रधानमन्त्रीले विगतमा गरेका प्रतिबद्धता र सुधारका वाचा र उहाँको आगामी दिन कानुनी शासन र प्रजातान्त्रिक संस्थाको सशक्तीकरणको योजनाको धारणा राख्ने अवसर हुनेछ,’ उनले भनिन् । गत सम्मेलनमा भएको प्रतिबद्धता कार्यान्वयन गर्नका लागि नागरिक समाजले पनि भूमिका निर्बाह गरिरहेको उनले बताएकी थिइन् । पछिल्लो समय अमेरिका र चीनबीच प्रतिस्पर्धा बढ्न थालेपछि राष्ट्रपति बाइडेनले सन् २०२१ डिसेम्बरमा पहिलो ‘डेमोक्र्याटिक समिट’ गरेका थिए । त्यसपछि दोस्रो पटक चैत १५ र १६ मा गर्दै छन् । यसमा प्रधानमन्त्री दाहालले सहभागिता जनाउने गृहकार्य परराष्ट्र मन्त्रालयले गरेको छ ।

पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले अमेरिकाको आधारभूत विदेश नीति लोकतन्त्र, मानव अधिकार, सुशासन जस्ता विषय रहेको उल्लेख गर्दै नेपाल पनि लोकतान्त्रिक गणतन्त्र भएका कारण ‘डेमोक्र्याटिक समिट’ मा सहभागिताका लागि निमन्त्रणा भएको बताए । नेपालले अमेरिका वा चीनलाई एकै स्थानमा राखेर हेर्न नहुने उनको भनाइ छ । ‘अमेरिकासँग ७५ वर्षको कूटनीतिक सम्बन्ध छ, चीनसँग पनि ६ दशकको सम्बन्ध भइसक्यो,’ उनले भने, ‘पछिल्लो समय अमेरिका र चीन दुवै मुलुकबाट नेपालमा लगातार भ्रमणहरू भइरहेका छन्, ती भ्रमणलाई नेपालले दुवै मुलुकसँग द्विपक्षीय सम्बन्धका रूपमा लिनुपर्छ ।’

प्रकाशित : माघ २६, २०७९ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×