जातीय छुवाछूत र शरीर बन्धकका अभियुक्त कारागार चलान- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जातीय छुवाछूत र शरीर बन्धकका अभियुक्त कारागार चलान

टीकाप्रसाद भट्ट

रामेछाप — १३ वर्षीया दलित बालिकालले घरभित्र पसेर दही चोरेको भन्दै २० घण्टासम्म बाँधेर यातना दिएको अभियोगमा ६५ वर्षीय वृद्ध जेल चलान भएका छन् । रामेछापको मन्थली नगरपालिका ६ का शेरबहादुर श्रेष्ठलाई सजाय भुक्तानका लागि बिहीबार रामेछाप कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

श्रेष्ठलाई रामेछाप जिल्ला अदालतले गत भदौ २९ गते दुई बेग्लाबेग्लै मुद्दामा कैद सजाय र जरिवाना हुने फैसला सुनाएको थियो । १३ वर्षीया दलित बालिकालाई अपहरण तथा शरीर बन्धक गरेको अभियोगमा ३ वर्ष ५ महिना ८ दिन कैद र २५ हजार जरिवाना हुने सजाय सुनाइएको छ । यसैगरी श्रेष्ठविरुद्ध जातीय छुवाछूत र भेदभादसम्बन्धी कसुरमा ११ महिना ८ दिन कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसलासमेत रामेछाप जिल्ला अदालतले सुनाएको थियो ।

दही चोरेको आरोपमा दलित बालिकालाई २० घण्टा बाँधेर यातना

अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई बुधबार आफ्नै घरमा लुकेर रहेको अवस्थामा प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरेको थियो ।

श्रेष्ठ दम्पत्ति घरबाहिर गएको बेला छिमेकी १३ वर्षीया बालिकाले घरभित्र पसेर दही खाएको भन्दै उनले २० घण्टासम्म बन्धक बनाएका थिए । श्रेष्ठले बालिकालाई नियन्त्रणमा लिई घरको दलानमा नाम्लाले बाँधेर यातना दिएका थिए । बालिकालाई बाँधेर यातना दिएको सुनेपछि बालिकाको परिवार र जनप्रतिनिधिले फुकाइदिन अनुरोध गर्दा पनि नमानेपछि प्रहरीलाई गुहारिएको थियो । प्रहरीले बालिकालाई फुकाउनुका साथै श्रेष्ठलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थालेको थियो ।

प्रकाशित : माघ २६, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्

सुन्दर जुनबेसी

भानुभक्त निरौला

सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बु; सेता हिमाल, अग्ला पहाड अनि गुम्बालगायत धार्मिक सम्पदाले भरिपूर्ण जिल्ला हो । त्यही जिल्लाको सदरमुकाम सल्लेरीबाट नजिकै रहेको सुन्दर पर्यटकीय गाउँ हो जुनबेसी ।

सोलुदूधकुण्ड नगरपालिका २ मा पर्ने जुनबेसी क्षेत्र, फाँटिलो हिमाली बस्ती, धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेका गुम्बा र रमणीय स्थानहरूका कारण परिचित छ । जिरी–खुम्बु पदमार्गमा पर्ने जुनबेसी सगरमाथा जाने रुटमा पर्ने आकर्षक गाउं हो । जो उच्च पहाडी टापुहरूको बिचमा अवस्थित छ ।


आदिवासी शेर्पा समुदायको मुख्य बसोबास रहेको यस क्षेत्रमा पुग्न सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट सवारी साधनमा १ घण्टामा पुग्न सकिन्छ । शान्त गाउँ, सुन्दर बनावटका घरहरू, गुम्बा, मानेहरू, सयौं वर्षअघि ढुंगा कुँदेर लेखिएका अक्षर अनि जुनबेसीमा रहेको जुनको आकृतिको ढुंगा यहाँका आकर्षणका केन्द्रहरू हुन् । नुम्बुर हिमालको एक साइडबाट बग्ने जुनबेसी खोलाको सुसाइले जो कोहीको मन लोभ्याउने गर्दछ ।


शान्त र मनोरम ठाउँमा बसेर थकान मेटाउँदै पर्यटकीय सम्पदाहरूमा तस्बिरमा कैद गर्न र यस ठाउँको सौन्दर्य अवलोकन गर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू जुनबेसी जाने गर्दछन् । साविकको बेनी गाविसमा अवस्थित यस क्षेत्रमा एक दर्जनभन्दा बढी गुम्बा र ध्यान केन्द्रहरू रहेका छन् ।


तिब्बती शरणार्थीहरू रहेको थुप्तेनछोलिङ गुम्बादेखि, फुङ्बोचे, सेर्लोलगायत प्रमुख गुम्बा यस क्षेत्रमा पर्दछन् । यहाँ रहेका ध्यान केन्द्रहरूमा भिक्षुहरूले वर्षौं ध्यान गरेर ज्ञान आर्जन गर्ने गरेको स्थानीयहरू बताउँछन् । आध्यात्मिक केन्द्रको रुपमा समेत चर्चित जुनबेसी क्षेत्र पछिल्लो समय जलविद्युत् आयोजनाको केन्द्रसमेत बनेको छ । जुनबेसी र बेनी खोलामा ठूला जलविद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् ।


यस क्षेत्रमा फिल्म तथा म्युजिक भिडियो छायांकनका लागि देशी तथा विदेशी कलाकारहरू पुग्ने गर्दछन् ।

प्रकाशित : माघ २६, २०७९ १५:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×