निर्माणाधीन शीतभण्डार ३ वर्षदेखि अलपत्र

टीकाप्रसाद भट्ट

रामेछाप‍ — जिल्लामा उत्पादित फलफूल तथा तरकारी राख्न सदरमुकाम मन्थलीमा निर्माण थालिएको शीतभण्डार ३ वर्षदेखि अलपत्र छ । वाग्मती प्रदेश सरकार र मन्थली नगरपालिकाको संयुक्त प्रयासमा उक्त शीत भण्डारको निर्माण थालिएको थियो । 

द्विपक्षीय सम्झौताबमोजिम प्रदेश सरकारले ७० र मन्थली नगरपालिकाले ३० प्रतिशत लगानी साझेदारी गर्ने गरी निर्माण थालिएको उक्त शीतभण्डार तीन वर्षदेखि अलपत्र परेको हो ।

शीतभण्डारको भवन निर्माण कार्य करिब पूरा भएको अवस्था भए पनि विद्युतीय उपकरणलगायतको काम बाँकी छ । करिब ७ करोड रुपैयाँको लगानीमा निर्माण हुने उक्त शीतभण्डारमा अब बिजुली जोड्ने उपकरण, कम्पाउन्ड वाललगायतका पूर्वाधार निर्माण बाँकी रहेका छन् ।

निर्माणाधीन अवस्थामा नै थप लगानीका सम्बन्धमा दुई पक्षबीच कुरा नमिल्दा शीतभण्डारको काम पूरा गरी सञ्चालनमा ल्याउन अझ अन्योलता थपिएको छ । ‘अब करिब ३५ लाख रुपैयाँ खर्च हुने अवस्था छ‚’ मन्थली नगरपालिकाका इन्जिनियर डिल्लीबहादुर अधिकारी भन्छन्‚ ‘उक्त लगानीमा पनि प्रदेशको ७० प्रतिशत लगानी सुनिश्चित नभई काम अघि बढाउन सकिँदैन । प्रदेशले ७० प्रतिशत लगानी गर्ने कुरा भएमा नगरपालिकाले ३० प्रतिशत लगानी साझेदारी गर्न नगरपालिका तयार रहेको उनले बताए । शीतभण्डारको बाँकी काम पूरा गरी सञ्चालनमा ल्याउनका लागि पूर्वनगर प्रमुख रमेशकुमार बस्नेतले पटक-पटक प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा अनुरोध गरेका थिए । तर सुरुका वर्षपछि बजेट नराख्दा निर्माण कार्य सकेर किसानका उत्पादन राख्न नपाई एक वर्षअघि नै उनले बिदाइ लिएका थिए । हालका नगर प्रमुख लव श्रेष्ठले समेत शीतभण्डारको काम पूरा गर्नेतर्फ चासो राख्दै आएका छन् । तर प्रदेशले भने बजेट समावेश गरेको छैन ।

सरकारका दुई निकायको लगानीको प्रक्रिया अस्पष्ट हुँदा स्थानीयले भने शीतभण्डारको निर्माण गरेको काम पनि नष्ट हुने अवस्थामा पुग्न थालेको बताएका छन् । रामेछाप जिल्लामा अहिलेसम्म शीतभण्डार छैन ।

उत्पादित तरकारी र फलफूल अफसिजनसम्म शीतभण्डारमा राखेर बजार पठाउँदा किसानले उत्पादन गरेका कृषि उपजको मूल्य अभिवृद्धि हुने उद्देश्यले शीतभण्डारको निर्माण थालिएको थियो ।

प्रकाशित : माघ २६, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्

हिउँ कुर्दै तेह्रथुमका होटल व्यवसायी र किसान

चन्द्र कार्की

तेह्रथुम — विगत १७ वर्षदेखि लालीगुराँस नगरपालिका ७ पाँचपोखरीमा होटल व्यवसाय गर्दै आएका मिङ्मा शेर्पा यस पटक सिजनमा पनि हिउँ नपरेपछि निकै चिन्तित छन् । पुस महिनाको दोस्रो हप्तातिरै पर्नुपर्ने हिउँ माघ महिना बित्न लाग्दा समेत नपरेपछि बसन्तपुरदेखि पाँचपोखरी हुँदै गुफा बजारसम्मका होटल व्यवसायी शेर्पाजस्तै चिन्तामा छन् । 

फागुन महिना लाग्ने समय भइसक्दा समेत हिउँ नपरेपछि जमिन सुक्खा छन् भने वन क्षेत्रसमेत उजाड देखिन्छ । हिउँ हेर्न आउने पर्यटकका कारण सिजनमा भरिभराउ हुने यहाँका सयौं होटलहरू अहिले खाली छन् । ‘हिउँ पर्छ कि भनेर दिनरात आकास हेर्दै बसिरहेका छौं‚’ शेर्पाले भने‚ ‘अब त न्यानो फिर्ने बेला भयो, यस पटक हिउँको व्यापार नहुने भयो ।’ हिउँ पर्ला र व्यापार गरौंला भनेर बसेका उच्च पहाडी क्षेत्रका सयौं होटल व्यवसायीको समस्या शेर्पाको जस्तै छ ।

तीनजुरे पहाडको केही तल घुर्मिसेमा होटल व्यवसाय चलाउँदै आएका मनबहादुर लिम्बूको चिन्ता पनि शेर्पाको जस्तै छ । हिउँ पर्ने सिजन सुरु भएपछि उनले आफ्नो घरमा दैनिक ३० जनासम्म खान बस्न मिल्ने गरी बेड मिलाएर राखेका छन् । मदिरा र खाद्यन्न पनि त्यहीअनुसार जोहो गरेर राखेको महिनादिन भयो । न त हिउँ पर्‍यो, न त ग्राहक नै आए । हिउँ नपरेपछि यस क्षेत्रका होटलहरू ग्राहकको अभावमा सुनसान रहेको लिम्बूको भनाइ छ ।

गत वर्ष पुस दोस्रो साताबाटै यस क्षेत्रमा हिउँ पर्न थालेको थियो । माघ महिनाको अन्तिमसम्ममा तीन पटकसम्म भारी हिमपात भएको थियो । यो पटक हिउँदे सिजनमा तुसारोसमेत त्यति लामो समय परेन । हिउँदे वर्षा र हिमपात नहुँदा लेकाली र औल क्षेत्रका खेतीयोय जमिनसमेत सुक्खा छन् । हिउँ पर्न सुरु भएदेखि नै पूर्वी तराई, भारतको उत्तर प्रदेश र पश्चिम बंगाल राज्यका हजारौं पर्यटक हिउँ खेल्न आउने गर्थे । उतैबाट होटल बुक गरेर आउने पर्यटकका कारण यहाँका होटल व्यवसाय मज्जाले चलेका थिए । एक पटक परेको हिउँ घाम नलाग्दा १० दिनसम्म रहन्थ्यो । दोहोर्‍याएर तेहेर्‍याएर हिउँ पर्दा दुई महिनासम्म मज्जासँग होटल चलेको अनुभव यहाँका होटल व्यवसायीसँग छ ।

हिउँ पर्दा आउने आन्तरिक र भारतीय पर्यटकको संख्या देखेर तीनजुरे प्रवेशद्वार देउरालीमा १ करोड ५० लाख रुपैयाँ लगानीमा होटल व्यवसाय सुरु गरेका श्री कार्की पनि लगानी डुब्ने चिन्तामा छन् । ‘हिउँ पर्छ कि भनेर दिनहुँ आकास हेर्छु‚’ बिहीबार होटलमै भेटिएका कार्कीले भने‚ ‘मौसम त निकै चिसो छ, तर हिउँ पर्ने सुरसार नै छैन ।’ एक सिजन हिउँ पर्दा मज्जाले ६ महिना खान पुग्ने उनले सुनाए । हिउँ पर्दा आउने पर्यटक हिउँ नै नपरेपछि उतै रोकिएको उनले सुनाए ।

हिमपात र हिउँदे वर्षा नहुँदा जमिन सुक्खा छ । हिउँदे झरी नपर्दा हिउँदको बालीनाली गहुँ, जौ, आलु, तोरी, हरियो मटरकोसा, टमाटर सागलगायत बाली हुर्किन नपाएको जिल्ला किसान सञ्जालका अध्यक्ष योगेन्द्र गड्तौलाले बताए । हिउँ पर्दा बोटबिरुवालाई राम्ररी चिस्यान पुग्ने भएकाले बालीनालीसमेत सप्रिने अनुभव किसानको छ । हिउँ र वर्षा नभएपछि यो पटक हिउँदे बालीको उत्पादनसमेत घट्ने अनुमान किसानको छ ।

संखुवासभासँग सीमा जोडिएको तीनजुरे मिल्के, बसन्तपुर, लसुने, हरिसे, संक्रान्ति, पटेक डाँडालगायत स्थान भारी हिउँ पर्ने स्थान हुन् । यहाँका १ हजार ७ सय मिटरभन्दा माथिका क्षेत्रमा बर्सेनि हिउँ पर्ने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित : माघ २६, २०७९ १७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×