कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सुन्दरीजलको गोबर ल्याएर रामेछापमा खेती

टीकाप्रसाद भट्ट

रामेछाप — काठमाडौंको सुन्दरीजलबाट गोबर किनेर रामेछापको गोकुलगंगा-३ रस्नालुमा रहेको आलु फार्म हिमालय पोटाटो एन्ड रिसर्च सेन्टरले आलु खेती गरिरहेको छ ।

सुन्दरीजलको गोबर ल्याएर रामेछापमा खेती

कम्पोस्ट मलले उत्पादन गुणस्तरीय बनाउने भएकाले टाढादेखि गोबर ल्याएर मलको रुपमा प्रयोग गर्ने गरिएको सेन्टरका सञ्चालक विनोद बरुवालले बताए ।

यद्यपि रामेछापमा व्यावसायिक आलु उत्पादन गर्ने अन्य कृषकहरूले गोबर मल बाहिरबाट ल्याएर प्रयोग गर्नुको साटो युरिया मल हाल्ने गरेका छन् । गाईभैंसी पाल्ने कृषकको संख्या थोरै भएकाले आलुको उत्पादन लिन अधिकांशको सहारा रासायनिक मल नै भएको छ ।

‘हामीले ७० हजार केजीदेखि १ लाख केजीसम्म गोबर सुन्दरीजलबाट ल्याउँदै छौं,’ सेन्टरका सञ्चालक बरुवालले भने । उनका अनुसार सुन्दरीजलमा गोबर किन्दा प्रतिकेजी ८ रुपैयाँ पर्ने गरेको छ । ढुवानी जोड्दा केजीको १० रुपैयाँभन्दा बढी पर्न जान्छ । फार्ममा अहिले धमाधम आलु रोपाइँ भइरहेको छ ।

अधिकांश परिवारले एकाध गाई, गोरु पाल्ने भएकाले फार्मका लागि आवश्यक गोबर जुटाउन नसक्दा काठमाडौं पुग्नु परेको उनी गुनासो गर्छन् । ‘हामीले जिल्लामा खोज्यौं तर यति धेरै परिमाणमा हामीलाई गोबर मल दिने कोही भेटिएन,’ बरुवालले भने, ‘खोजी गर्दै जाँदा सुन्दरीजलमा भेटियो । आलु खेतीका लागि प्रतिरोपनी १ हजारदेखि १२ सय केजी गोबर मल आवश्यक रहेको उनले बताए ।

उक्त फार्मले गत वर्ष १ हजार २ सय रोपनीमा आलु लगाएको र उक्त फार्ममा ६ लाख ५० हजार केजी आलु उत्पादन भएको बरुवालले बताए । फार्मले प्रतिकेजी सरदर ५८ देखि ६० रुपैयाँसम्ममा आलु बिक्री गर्ने गरेको उनले बताए । आलु बिक्रीबाट करिब ४ करोड रुपैयाँ आर्जन गरेको उनी सुनाउँछन् ।

आलु फल्ने क्षेत्रमा कम्पोस्ट मल बनाउने र प्रयोग गर्ने गरिएको छैन । गोबर मल प्रयोग गर्ने किसान थोरै छन् । प्रयोग गर्ने किसानले पनि गोबर मलको सही तरिकाले प्रयोग गरेका छैनन् । ‘गाउँमा पशुपालन गर्ने किसान घटेकाले गोबरमलको भरमा अब खेती हुन छाडेको छ,’ रस्नालुका किसान आङनिमा शेर्पा भन्छन्, ‘हामी रासायनिक भलको भरमा खेती गर्न बाध्य छौं ।’

गोबरलाई घाम र पानीबाट जोगाउनुपर्छ । घाम पर्‍यो भने गोबरमा भएको नाइट्रोजन उडेर जाने हुँदा काम लाग्दैन । घाम र पानीबाट बचाएर तयार गरेको गोबर जग्गामा लगेर प्रयोग गर्दा तत्कालै माटोले छोप्ने गर्नुपर्नेमा हप्तौँसम्म थुपारेर राख्दा त्यसबाट माटोले पाउने उर्वरा तत्त्व नपाउने कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले बताइन् । ‘गोबर मल जोगाउनका लागि खर्चिलो छैन तर गोबर बनाउन सकिरहेका छैनौं,’ गुरुङले भनिन् ।

जिल्लाका ८ वटै पालिकामा हरेक वर्ष रासायनिक मलको मागमा वृद्धि हुँदै आएको छ । रामेछापमा वार्षिक युरिया ८ सय ७८, डीएपी ४ सय ९५ र पोटास २ सय ७४ मेट्रिकटन रासायनिक मल माग हुने गरेको छ ।

प्रकाशित : माघ २५, २०७९ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?