दुई गैंडा मारिएको घटनामा निकुञ्जले थाल्यो अध्ययन- वाग्मती - कान्तिपुर समाचार

दुई गैंडा मारिएको घटनामा निकुञ्जले थाल्यो अध्ययन

अध्ययन टोलीले एक महिनाभित्र प्रतिवेदन बुझाउने र त्यसैका आधारमा सुरक्षा योजना बनाइने
रमेशकुमार पौडेल

चितवन — खागका लागि तस्करले बिजुलीको करेन्ट लगाउँदा दुईवटा गैंडा मरेको घटनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुसन्धान थालेको छ । विभागले माघ ११ मा उपमहानिर्देशक अजय कार्कीको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरेको थियो । तस्करले बिजुलीको करेन्ट लगाएर गैंडा मारेको घटना विरलै हुने गरेको छ । नौलो घटना भएका कारण सुरक्षा रणनीति बनाउन अध्ययन टोली बनेको हो ।

‘चितवन राष्ट्रिय निकुञ्जको कार्यालयमा हामीले सोमबार छलफल राख्यौं । निकुञ्ज प्रमुख र नेपाली सेनाका गणपतिसँग घटनाका बारेमा बुझ्यौं । मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष, उपभोक्ता समितिका अध्यक्ष र समुदायमा आधारित चोरी सिकारविरुद्धको युनिटसँग पनि छलफल गर्‍यौं,’ उपमहानिर्देशक कार्कीले भने । मंगलबार घटनास्थलमा गएर थप अध्ययन गर्ने उनले बताए ।

निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार माघ ६ गते मध्याह्न दुईवटा गैंडा मृत फेला परेका थिए । निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत भुताहा पोस्टनजिक मध्यबिन्दु नगरपालिका–२ मा पर्ने नारायणी नदीको उत्तरी किनारमा अन्दाजी १४ वर्षको पोथी गैंडा र अर्को अन्दाजी चार वर्षको भाले बच्चा गैंडा मृत भेटिएका थिए । बच्चा गैंडाको पलाउँदै गरेको खाग सुरक्षित रहे पनि माउको खाग काटेर लगेको हुँदा तस्करले नै गैंडा मारेको पुष्टि भएको थियो । गैंडाको पोस्टमार्टम गर्दा करेन्ट लागेर मरेको प्रस्ट भएको सूचना अधिकारी तिवारीले बताए । नदी किनारको मन्दिर आड र घटनास्थलमा भेटिएको विजुलीको तार एउटै भएका कारण मन्दिरबाटै तार टाँगेर लगेर गैंडा मारेको देखिएको तिवारीले बताए । ‘करेन्ट लागेर गैंडा मरेको पोस्टमार्टमले क्लियर गरेको छ । बिजुली कहाँबाट लगे भनेर हेर्दा मन्दिरबाटै लगेको देखिन्छ । तैपनि अनुसन्धानको अन्तिम नतिजा आइसकेको छैन,’ उनले भने ।

यसअघि विद्युतीय पासोमा परेर गैंडा नमरेका हैनन् । तर खेती बाली जोगाउन स्थानीयले गरेको विद्युतीय तारबारमा परेर दुर्घटनावश गैंडा मरेका थिए । चितवन निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर तस्करहरूले बिजुलीको पासो थापेर गैंडा मारेको घटना फाट्टफुट्ट मात्रै हुने गरेको बताउँछन् । ‘यो घटनाले सिकारीले जुनसुकै बेला जेसुकै तरिका अपनाएर पनि गैंडा मार्दा रहेछन् भन्ने पुष्टि भएको छ । त्यसैले त्यहीअनुसारको चनाखो सुरक्षा रणनीति बनाएर काम गर्नुपर्ने अवस्था आएको छ,’ कुँवरले भने, ‘पहिला खाल्डोमा पारेर गैंडा मार्थे । ०५६ सालतिर भाला हानेर पनि मारेका छन् । त्यसपछि भरुवा बन्दुकको चलन व्यापक भयो । पछिपछि त स्वचालित, अर्धस्वचालित बन्दुक पनि प्रयोग हुन थाले ।’ उनका अनुसार तस्करले ०६३ को भदौ असोजतिर चितवनको कसरा नजिक जगतपुरको समुदायिक वन क्षेत्रमा विद्युतीय पासो थापेर एउटा गैंडा मारेर तस्करले खाग लगेका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकाल पनि विद्युतीय धराप प्रयोग भएको घटना आफूले खासै नसुनेको बताउँछन् । ‘सुरक्षा चुनौती छ भन्ने कुरा यो घटनाले देखाएको छ,’ महानिर्देशक ढकालले भने, ‘अध्ययन गरेर टोलीले बढीमा एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ र त्यसैका आधारमा सुरक्षा योजना बनाउनेछौं ।’

उपमहानिर्देशक कार्की नेतृत्वमा बनेको टोलीमा विभागका सहायक अनुसन्धान अधिकृत रूपक महर्जन सदस्य सचिव छन् । टोलीमा नेपाली सेनाका प्रमुख सेनानी गोकर्ण देवकोटा, संरक्षणको क्षेत्रमा क्रियाशील निकाय जेडएसएलका विष्णु थपलिया र डब्लूडब्लूएफका माधव खड्का तथा राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत गैंडा विज्ञ नरेश सुवेदी रहेका छन् ।

एकसिंगे गैंडा लोप हुने खतरामा रहेको दुर्लभ वन्यजन्तु हो । दुई वर्षअघि सार्वजनिक नतिजाअनुसार नेपालभर ७५२ र चितवन निकुञ्जमा ६९४ गैंडा छन् । तर पछिल्ला वर्ष कालगति, दुर्घटना र जुधेर गैंडा मर्ने क्रम बढेको छ । गैंडा मारेमा वा यसको अंगको कारोबार र ओसारपसार गरेमा १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रकाशित : माघ २४, २०७९ ०६:१७
प्रतिक्रिया
पठाउनुहोस्

टर्कीको भूकम्पमा मृत्यु हुनेको संख्या २ हजारभन्दा बढी

कान्तिपुर संवाददाता

काठमाडौँ — टर्कीको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजारभन्दा धेरै पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । साथै हजारौंको संख्यामा घाइते भएका छन् ।

सोमबार बिहान स्थानीय समय अनुसार ४ बजेर १७ मिनेट जाँदा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टामै दिउँसो अर्को शक्तिशाली भूकम्प गएको थियो ।

तर त्यसबीचमा सयौं परकम्प गएका थिए । सोमबार बिहानको भूकम्प १७.९ किमीको गहिराइसम्म पुगेको थियो । उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ ।

अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । यससँगै भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् ।

यद्यपि मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा विभिन्न मिडियाले सार्वजनिक गरेका तथ्यांक फरक देखिएको छ । सीएनएनका अनुसार सिरिया र टर्कीमा मृत्यु हुनेको संख्या २३ नाघिसकेको छ । टर्कीमा मात्रै मृत्यु हुनेको संख्या १५ सयभन्दा धेरै पुगेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटिएको प्रतिक्रिया दिएका छन् । साथै प्रभावित रहेका ८ वटा प्रान्तका गभर्नरहरूलाई टेलिफोन गर्दै पछिल्लो अवस्थाको जानकारी लिन र उद्धारलाई तीव्र बनाउने निर्देशन दिएका छन् । साथै भत्किएका संरचनामा पुरिएका मानिसलाई तत्काल उद्धार गर्नु र उनीहरूलाई अस्पताल पुर्‍याउनु आफूहरूको प्रमुख प्राथमिकता रहेको पनि उनले बताएका छन् ।

टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा टर्की पनि एक हो । जहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो ।

यसैबीच टर्कीको भूकम्पमा परी घानाका फुटबलर क्रिस्चियन अत्सु बेपत्ता भएका छन् । घानाको राष्ट्रिय टोलीका खेलाडी क्रिस्चियन अत्सु सोमबार टर्कीमा गएको भूकम्पमा परी बेपत्ता भएका हुन् । ३१ वर्षीय खेलाडी क्रिस्चियन पाँच वर्षसम्म न्यु क्यासलबाट खेलेका थिए । भूकम्पमा परी बेपत्ता भएकाहरूको खोजी भइरहेको छ ।

प्रकाशित : माघ २३, २०७९ २२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×