मातृ शिशु मृत्युदर घटाउँदै रामेछाप


रामेछाप — रामेछाप जिल्ला अस्पतालमा सर्जनको रुपमा १ वर्षअघि भित्रिएका मनोजकुमार यादवलाई यतिबेला मातृ शिशुलाई अकालमा ज्यान जानबाट जोगाउने काम गर्दैमा फुर्सद छैन । जिल्ला अस्पतालमा आउने गर्भवतीको शल्यक्रियामार्फत सुत्केरी गराउने काम उनको मुख्य छँदै छ, त्यसमाथि जोखिममा परेका गर्भवतीको खोजी र तिनको नियमित स्वास्थ्य अवस्थाबारे जानकारी राख्ने काम पनि उनले गर्दै आएका छन् ।

मैले जिल्लामा आएको १ वर्षको अवधिमा जिल्ला अस्पतालमा ४० जनाको शल्यक्रियामार्फत सुत्केरी गराइसकेको छु यादव भन्छन्, ‘तीमध्ये केही त निकै नै जटिल प्रकृतिका थिए । तर जटिल प्रकृतिको शल्यक्रिया जिल्लामै गर्ने आँट उनले गरे । भाग्यवश सबैको राम्रो भयो, कसैलाई काठमाडौं पठाउनुपरेन,’ यादवले खुसी प्रकट गरे । जिल्लामा सुत्केरी हुन नसकेर यसअघि बर्सेनि आमा र शिशुको मृत्यु हुने गरेको थियो । वर्ष दिनयता जिल्लामा आमा र बच्चाले त्यस्तो मृत्युवरण गर्नुनपरेकोमा पनि यादव मख्ख छन् ।
जिल्ला अस्पतालमा आएको जटिलमध्ये गोकुलगंगाकी २४ वर्षीया अञ्जना सुनुवारको शल्यक्रिया थियो । सुनुवारले ८ पटक गर्भ परीक्षण गराउनुपर्नेमा २ पटक मात्र गराएकी थिइन् । नियमित गर्भ परीक्षण नगराएकै कारण उनलाई सुत्केरी हुने मितिबारे जानकारी भएन । जब व्यथाले च्याप्यो, अन्तिममा बर्थिङ सेन्टरमा पुग्दा अवस्था जटिल बनिसकेकाले जिल्ला सदरमुकाम मन्थली पठाइयो । मन्थलीमा शल्यक्रिया हुन्थ्यो तर चिकित्सकले हिम्मत नगरी रामेछाप अस्पताल पठाइदिए ।
रामेछाप अस्पतालमा थिए डा. मनोज यादव । हिमाली दुर्गममा पर्ने रामेछापमा हम्मेसी कुनै डाक्टर अडिँदैनन् । यादव यस्तै जटिल बिरामीलाई विगत १ वर्षदेखि नयाँ जीवन दिँदै रामेछापमा रमाएका छन् । अञ्जना रामेछाप पुग्नासाथै उनले राति १ बजे शल्यक्रिया थाले । सुत्केरी गराउने शल्यक्रिया गर्न बढीमा आधा घण्टा लाग्छ । तर, अञ्जनाको शल्यक्रिया सक्न यादवलाई बिहानको ७ बज्यो । अर्थात् उक्त शल्यक्रियालाई उनले ६ घण्टा खर्चिए ।
‘अवस्था यति जटिल थियो कि उनलाई काठमाडौं मात्र रिफर गरिएको भए बाटैमा आमा र बच्चा खेर जान्थ्यो,’ यादव भन्छन्, ‘धन्न मन्थली अस्पतालले नजिकैको रामेछाप पठाइदियो । यादवका अनुसार अञ्जनाको पाठेघर फाटिसकेको थियो । ‘अरुलाई कैंची लगाउनुपर्दथ्यो । उनको हातले छुनासाथ जताततै फुट्यो ।’ यादवले त्यसलाई सिलाउँदै लामो अवधि लागेको उनी बताउँछन् । शल्यक्रियाको ६ दिनसम्म उनले जटिल बिरामीलाई अस्पतालमै राखेर घर पठाउने गरेको यादवले बताए ।
यादवका अनुसार रामेछाप अस्पतालमा अर्को त्यस्तै अत्यन्त जटिल प्रकृतिको शल्यक्रिया भयो । शरीर बाङ्गोटिङ्गो भएको बिरामीको शल्यक्रिया गर्नु चानचुने कुरा थिएन । त्यसलाई पनि उनले सहज रुपमा सफल शल्यक्रिया गरेर पठाए ।
यादव अस्पताल छाड्दैनन् । जिल्लामा सञ्चालनमा आएका सबै बर्थिङ सेन्टरमा रहेका स्वास्थ्यकर्मीसँग उनको नियमित सम्पर्क भइरहन्छ । ‘जटिल प्रकृतिका बिरामीलाई बर्थिङ सेन्टरले बेलामै रामेछाप अस्पताल पठाइदियो भने आमा र बच्चा बचाउन सकिन्छ भन्ने अपेक्षा मेरो हो,’ यादवले भने, ‘त्यसमा सबैको हालसम्म सहयोग मिलेको छ । जिल्लाका कुना–कुनाबाट जटिल अवस्था भएका गर्भवती महिला जिल्ला अस्पतालसम्म आइपुगेका छन् ।’
‘म खुसी छु । धेरै आमाहरूलाई अकालमा मर्नबाट बचाएको छु,’ यादवले भने, ‘जिल्लामा प्रसुती हुन नसकेकै कारण मातृ शिशुको मृत्यु भएको छैन । जिल्ला अस्पतालमा शल्यक्रिया सेवा सञ्चालनमा आएपछि रामेछापको मात्र होइन, छिमेकी जिल्ला ओखलढुंगाका बिरामीले समेत सेवा लिन पाएकोमा अझ सन्तुष्टि दिएको उनले बताए ।
रामेछाप नगरपालिकाले जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने कार्यका लागि विशेषज्ञ चिकित्सक राख्ने निर्णय गरेपछि यादव आइपुगेका हुन् । उनी आएपछि १ वर्षमा ४० जना गर्भवतीको शल्यक्रिया रामेछाप अस्पतालमा भएको छ । ती अधिकांश जटिल प्रकृतिका नै थिए । रामेछापमा शल्यक्रिया गर्दा कुनै समस्या देखिएको छैन ।
जिल्ला अस्पतालमा सुत्केरी गराउने आमाले २ हजार ८ सय सम्म स्याहार भत्ता पाउँछन् । अस्पताल पुग्न र घर फर्कनका लागि निःशुल्क एम्बुलेन्स पाउँछन् । शल्यक्रियाका लागि कुनै पैसा लाग्दैन । औषधि निशुल्क छ । यादव भन्छन्, ‘यस्तो खालको शल्यक्रियाका लागि काठमाडौं पुग्दा एम्बुलेन्ससहित झन्डै ७० हजार रुपैयाँजति खर्च लाग्छ ।
जिल्ला अस्पतालमा अरु शल्यक्रिया हुँदैनथ्यो । अहिले गाँठागुठी, हर्निया हाइड्रोसिलजस्ता शल्यक्रिया हुन थालेका छन् । तर तिनको संख्या कमै छ । शल्यक्रिया सेवा भने प्रभावकारी बनेको रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले बताए ।
जिल्ला अस्पतालका अतिरिक्त मन्थली अस्पतालले पनि शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा केही दिनअघिदेखि सुरु गरेको छ ।
सुत्केरी हुन नसकेर अकालमा ज्यान थालेपछि केही वर्षदेखि रामेछापको दुर्गम गाउँ उमाकुण्डको गुम्देल र बाम्तीका गर्भवतीलाई सरकारले हेलिकोप्टरमार्फत निःशुल्क काठमाडौं लैजाने गरेको थियो । जिल्लाका अन्य वडामा भने उक्त सुविधा छैन ।
प्रकाशित : माघ २२, २०७९ १२:२३