रामेछाप सडक अलपत्र- वाग्मती - कान्तिपुर समाचार

रामेछाप सडक अलपत्र

कान्तिपुर संवाददाता

रामेछाप — निर्माण व्यवसायीले तोकिएको अवधिमा काम नगरेका कारण रामेछापमा पर्ने मध्यपहाडी राजमार्ग निर्माण अझै पूरा हुन सकेको छैन । रामेछापमा मध्यपहाडी राजमार्गको ४४ किलोमिटर खण्ड छ । त्यसमध्ये अझै साढे ४ किमिको ट्र्याक नै खनिएको छैन । ट्र्याक खनेको खण्डमा पनि तोकिएको मापदण्ड पूरा गरिएको छैन । 

मध्यपहाडी सडक आयोजना पूर्वी खण्डका आयोजना प्रमुख दीपेन्द्र पाण्डेका अनुसार निर्माण व्यवसायीलाई तोकिएको अवधिमै निर्माण सम्पन्न गर्न आयोजनाले बारम्बार पत्राचार गरेको छ । तर अझै आशालाग्दो गतिमा काम अघि बढेको छैन ।

पाण्डेका अनुसार पुस मसान्तसम्म मात्र म्याद भएको लोहनी एन्ड सिद्धबाबा निर्माण सेवाले ट्र्याक खोल्ने काम गरे पनि सन्तोषजनक नभएकाले सुधारका लागि पत्राचार गरिएको छ । ठेक्का सम्झौताको ९३ प्रतिशत भुक्तानी पाइसकेको उक्त कम्पनीले सित्खा क्षेत्रको ट्र्याक खोल्ने जिम्मा लिएको थियो । तोकिएको मापदण्डअनुसारको निर्माण नगरेकाले मापदण्डबमोजिमको निर्माण गर्न उक्त कम्पनीलाई पत्राचार गरिएको हो । ‘हामीले पत्राचार गरिसकेका छौं,’ पाण्डेले भने, ‘म्यादभित्र डिजाइनबमोजिमको सडक नबनाएको खण्डमा ठेक्का तोडेर कालोसूचीमा राख्ने प्रक्रिया थाल्छौं ।

रामेछाप खण्डमा पर्ने लुभुखोला, सित्खाखोला र तामाकोसीमा निर्माण गर्नुपर्ने पुलको काम पनि अधुरै छ । आयोजनाले विभिन्न खण्डमा ठेक्का लगाएकोमा केही खण्डमा भने काम भइरहेको छ । केही दिनअघि रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा भएको बैठकमा समयमा काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्का तोडेर कालोसूचीमा राख्ने प्रक्रिया थाल्ने निर्णय भएको थियो । ‘अब हामी त्यही निर्णयलाई टेकेर आवश्यक कदम चाल्छौं,’ उनले भने ।

प्रकाशित : माघ २१, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्

४१ परिवारलाई लालपुर्जा

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — जुगल गाउँपालिका–२ लिदी लामाटोलको दुई सय ९ पहिरोपीडितमध्ये ४१ परिवारले दुई वर्षपछि स्थायी आवास निर्माणका लागि लालपुर्जा पाएका छन् । पालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार चौतारा साँगाचोकगढी नगर ४ देउरालीमा जग्गा व्यवस्थापन गरी लिदी लामाटोलका ती परिवारलाई जग्गाधनी पुर्जा दिइएको हो ।

मंगलबार जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद माधव सापकोटाले उनीहरूलाई लालपुर्जा हस्तान्तरण गरे । तीनै सरकारले पीडितका लागि जग्गा किन्न तीन लाख दिने र आवास निर्माण गर्न ५ लाख रुपैयाँ दिने सुनिश्चित भएको अध्यक्ष स्याङ्बोले बताए ।

‘जग्गा दिलाउने काममा संघले ६०, प्रदेश ३० र पालिकाले १० प्रतिशत बजेट छुट्याएका छन् । अन्य पूर्वाधारका लागि चौतारा साँगाचोकगढी नगरसँग समन्वय हुँदै छ,’ उनले भने । लिदी पहिरोपीडित मध्ये बासखर्कमा ६८, चनौटेमा २७ जना आश्रय लिएर बस्दै आएका छन् ।


प्रकाशित : माघ २१, २०७९ ०७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×