६ लेन सडकमा छैन वारपार गर्ने पूर्वाधार- वाग्मती - कान्तिपुर समाचार

६ लेन सडकमा छैन वारपार गर्ने पूर्वाधार

रमेशकुमार पौडेल

चितवन — पूर्वपश्चिम राजमार्गको नारायणगढ पुलचोकदेखि भरतपुर गोन्द्राङसम्म ६ किलोमिटर सडक खण्डलाई ६ लेनको बनाउने काम धमाधम भइरहेको छ । व्यस्त बजार क्षेत्र र घना बस्ती हुँदै गएको सो सडक फराकिलो हुँदा राम्रै देखिए पनि वारपार गर्न असम्भव जस्तै हुने स्थानीय बताउँछन् । ट्राफिक लाइट र वारपार गर्न सुविधा हुने पूर्वाधार सडक विस्तारको योजनाभित्र हालसम्म समावेश छैनन् । 

भरतपुर गोन्द्राङ नजिक घर भएका नन्दलाल प्रधान र ताराप्रसाद अधिकारी सोमबार दिउँसो घाम ताप्दै अगाडिको सडक नियालिरहेका थिए । राजमार्ग आडमै उनीहरूको घर छ । ‘सडक फराकिलो भयो यो राम्रो हो, हामी खुसी नै छौं । तर यो किनारका मान्छे काम परेर पल्लो किनार जान सकस हुने भयो,’ नन्दलालले चिन्ता व्यक्त गरे । सडकबीचमा फराकिलो पक्की डिभाइडर छ । त्यसमाथि बार हाल्ने कुरा पनि उनले सुनेका छन् । ‘अहिले त जेनतेन गाडी हेर्दै मान्छे यताउता गरेका छन् । भोलि सडक बनेर सकिँदा गाडीको चाप र रफ्तार बढी नै होला । यो बाटो कसरी काट्ने ?’ नन्दलालको प्रश्न छ । मोटरसाइकल र सानाठूला गाडी सडक पार गर्न एक किलोमिटरको फरकमा खाली ठाउँ राखिएको छ । ‘मोटरसाइकलमा हिँड्नेहरू त्यति पर गएर घुमेर आउलान् अरे, हामी नारायणगढबाट घर आउँदा गाडीबाट झरेर बाटो पार गर्न कहाँ पुग्ने ?’ उनले भने ।

गाडी मोड्न खाली राखेको ठाउँमा पनि पैदलयात्री पार गर्न सकस हुने ताराप्रसादले सुनाए । ‘त्यसैले हामीले पैदलयात्रीलाई सडक पार गर्ने सुविधा दिनुपर्‍यो भन्ने माग गरेका छौं । हाम्रो चोक आडमा त नर्सिङ र फार्मेसी पढाइ हुने कलेज पनि छ । कलेजका विद्यार्थीलाई झनै गाह्रो भएको छ । यहाँ अकासे पुल राखे गज्जब हुन्थ्यो,’ उनी भन्छन्, ‘नारायणगढमा त नराखेको त्यस्तो पुल यहाँ के राख्लान् र ?’ विस्तार हुँदै गरेको सडक दायाँबायाँ स्कुल, कलेज, अस्पताल, बजार क्षेत्र, सरकारी कार्यालय र घर प्रशस्तै छन् ।

स्थानीयको मागलाई भरतपुर महानगरका इन्जिनियर लक्ष्मीप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसामु राखेका थिए । ‘बाटो काट्ने सुविधा हुनुपर्‍यो भन्ने माग लिएर हामीसमक्ष आउनुभएको छ । सडक वारपार गर्न अकासे पुल राख्नुपर्ने देखिन्छ,’ माघ ३ मा महानगरपालिकामा भएको कार्यक्रममा उनले भनेका थिए । दुर्घटनाको जोखिम बढेका कारण ट्राफिक बत्ती र अकासे पुल राख्न आवश्यक भएको भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको भनाइ छ । ट्राफिक लाइट र अकासेपुल पाँच–सात ठाउँमा राख्नुपर्ने उनले बताइन् ।

सरकारको एक अर्ब १२ करोड रुपैयाँ बजेटमा सो सडक खण्ड विस्तार हुन लागेको हो । ०७७ मंसिरदेखि सुरु भएको विस्तारको काम ६० प्रतिशत हाराहारी सकिएको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर चन्द्रेश्वर साहले जानकारी दिए । उनका अनुसार सुरुको सम्झौताअनुसार काम सकिने समय आउँदो माघ २५ सम्म हो । सडक वारपार गर्नुपर्ने समस्याका बारेमा स्थानीयले कार्यालयलाई जानकारी गराएको हुँदा ट्राफिक बत्ती र अकासे पुल राख्नेबारेमा योजना बन्दै गरेको उनले बताए । ‘अहिलेसम्म त विस्तारकै काम भइरहेको छ । सडक फराकिलो हुँदा वारपार गर्न गाह्रो पर्छ भनेर सडक दायाँबायाँका बासिन्दाले भन्नुभएको छ । ट्राफिक बत्ती र अकासे पुल कहाँकहाँ राख्नुपर्ने हो, त्यसबारे अध्ययन गर्दै छौं,’ उनले भने ।

प्रकाशित : माघ १९, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

शीत भण्डारले किसान उत्साहित

कान्तिपुर संवाददाता

काभ्रे — नमोबुद्ध नगरपालिकामा कृषि उत्पादन भण्डारणका लागि कोल्ड स्टोर (शीत भण्डार) सञ्चालन गरिने भएको छ । नगरपालिका–३ स्थित दाहालचौरमा कोल्ड स्टोरको शिलान्यास गरिएको छ । जलवायु अनुकूलन कार्यक्रममार्फत निर्माण हुने शीत भण्डार यो क्षेत्रकै पहिलो हो ।

नमोबुद्धका अलावा छिमेकी रोशी, तेमाल, महाभारत गाउँपालिकाका कृषकसमेत यसबाट लाभान्वित हुने नगर प्रमुख कुन्साङ लामाले बताए ।

कृषि बाली घरमै भण्डारण गर्दा किरा लाग्ने, रोग लाग्ने, कुहिनेजस्ता समस्या देखिने र कहिलेकाहीँ त बीउ नै जोगाउन गाह्रो हुने नमोबुद्ध–३ की सीता दाहालले बताइन् । कृषि उत्पादन सुरक्षित भण्डारणका लागि कोल्ड स्टोर प्रयोग गरिन्छ भन्ने कुरा केही समययता उनले पनि सुनेकी छन् । तर, हालसम्म प्रयोग गर्न पाएकी छैनन् । ‘हाम्रै गाउँमा बनाउने भनिएको छ, हामीलाई सहज नै हुने भयो,’ उनले भनिन् ।

अर्का कृषक कर्णबहादुर दाहालका अनुसार यहाँ भण्डारण गर्ने ठाउँ नभएकाले किसानले बनेपा कि त पाँचखाल धाउनुपर्छ । बाटो टाढा भएकाले भण्डारण शुल्कभन्दा यातायात शुल्क बढी तिर्नुपर्ने उनले बताए । ‘बनेपासम्म पुगेको प्रतिव्यक्ति १ सय र प्रतिसामान ५० रुपैयाँ तिर्नुपर्छ,’ उनले भने, ‘किसानको समस्यालाई मध्यनजर गर्दै नगरले कोल्ड स्टोर स्थापना गर्न लागेको छ, यसमा हामी निकै उत्साहित छौं ।’

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालका अनुसार पहिलो चरणमा स्थानीय लागत सहभागितासमेत गरी ९९ लाखको काम हुनेछ । नगरले ८५ लाख विनियोजन गरेको छ भने १५ प्रतिशत स्थानीय उपभोक्ताले बेहोर्नेछन् । ८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैयाँ लागत अनुमान तयार भएको भण्डारलाई बहुवर्षीय योजनामा समावेश गरेर पूरा गरिने लम्सालले बताए । प्रतिच्याम्बर ३० मेट्रिक टनका दरले ६ च्याम्बरमा १ सय ८० मेट्रिक टन तरकारी, फलफूल र अन्न भण्डारण गर्न सकिने नगरपालिकाका इन्जिनियर उज्ज्वल अर्यालले जानकारी दिए । पहिलो चरणमा एकतले भवन तीन महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको वडाअध्यक्ष रमेश तिवारीले बताए ।

प्रकाशित : माघ १९, २०७९ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×