सम्झौता सकिन लाग्दा पनि सुरु भएन पुल निर्माण

टीकाप्रसाद भट्ट

रामेछाप — राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पर्ने तामाकोसी पुल आगामी असार मसान्तमा पूरा गर्नुपर्ने सम्झौता भए पनि हालसम्म उक्त पुलको जगको काम नै थालनी भएको छैन ।

सम्झौता सकिन लाग्दा पनि सुरु भएन पुल निर्माण

निर्माण व्यवसायीले पुल निर्माणका लागि झारेका सामान असरल्ल छन् । फलामे डण्डीमा खिया लागेको छ । पुल निर्माणको कार्य अलपत्र परेको छ । निर्माण स्थलमा झारिएका मेसिन चलेका छैनन् ।

तामाकोसी पुल निर्माणका लागि कालिका प्यासिफिक जेभीले ठेक्का सम्झौता गरेको थियो । उक्त कम्पनीले पुल निर्माण हुने स्थानमा केही मेसिन औजार र रड झारे पनि काम अगाडि बढाएको छैन । २०८० साल असार मसान्तमा उक्त पुलको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा डेढ महिनाअघि बसेको बैठकले तामाकोसी पुलको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीलाई तत्काल काम गर्न निर्देशन दिएको थियो ।

मध्यपहाडी सडक आयोजनाका आयोजना प्रमुख दिपेन्द्र पाण्डेले भने पुल निर्माणको लागि सम्झौता गरेको निर्माण व्यवसायीलाई पटकपटक निर्माण कार्य थाल्नका लागि पत्राचार गरिएको बताए ।

‘हामीले अन्तिम ताकेता गरेका छौं,’ पाण्डेले भने 'अब गर्छु अब गर्छु भनेर आलटाल गर्दै आएको अवस्था छ ।' केही दिनभित्र काम सुरु नगरे सार्वजनिक खरिद ऐन बमोजिम ठेक्का तोड्ने पक्षमा पुगेको पाण्डेले बताए ।

साथै पुल निर्माणका लागि झारिएको फलामे डण्डी गुणस्तरीय हुनुपर्नेमा पाण्डेले जोड दिए । खिया देखिएमा प्रयोग गर्न नमिल्ने पनि पाण्डेको भनाइ छ । साथै सडकको छेउमा निर्माण सामग्री थुपारिकाले धुलो बसेर खिया देखिएको हुनसक्ने आशंका व्यक्त गरे ।

प्रकाशित : माघ १८, २०७९ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?