कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गोकुलगंगाका किसानहरू ‘बुक’ मा आलु फलाउन आकर्षित

टीकाप्रसाद भट्ट

रामेछाप — गुणस्तरीय उत्पादन र धेरै अवधिसम्म सुरक्षित रहने भएकाले रामेछापको उत्तरी क्षेत्रका किसानहरूले 'बुक'मा आलु खेती लगाउन थालेका छन् । 'बुक'मा आलु खेती गर्ने पुरानै चलन भए पनि पछिल्लो समय यस्तो खेती गर्न छाडिएको थियो । किसानले पूरै जमिन खनजोत गरेर आलु खेती गर्ने गरेका थिए ।

गोकुलगंगाका किसानहरू ‘बुक’ मा आलु फलाउन आकर्षित

तर गोकुलगंगाका विभिन्न स्थानमा किसानहरू बुक खेतीप्रति आकर्षित हुन थालेका हुन् । गोकुलगंगा ३ रस्नालुका पेम्बा शेर्पाका अनुसार बुकमा आलु लगाउँदा सबै जमिन जोतखन गर्नु पर्दैन । बुकमा आलु खेती गर्न जमिनको सीमित भाग खनेर माटोको थुप्रो बनाउने, आसपासका झार, गोबरको गुईँठा र स्याउला त्यही थुप्रोमा राखेर पोल्ने गरिन्छ ।

यस खेतीका लागि मल र माटो पोलेर राखिएको थुप्रोमा १० देखि १५ दानासम्म आलु रोप्ने गरिन्छ । खेती लगाउन र खन्नसमेत बुक आलु सजिलो हुने किसान शेर्पाले बताए । 'पहिले धेरै लगाइन्थ्यो तर बीचमा छाडियो अहिले फेरि बुक खेतीमा किसान रमाउन थालेका छन्,' उनले भने ।

गोकुलगंगा गाउँपालिका कृषि शाखाकी प्राविधिक रेश्मा थापामगरका अनुसार बुकको आलु धेरै उत्पादन हुने मात्र नभएर स्वादिलो र धेरै अवधिसम्म टिकाउ हुन्छ । १ दाना रोप्दा १ केजी सम्म उत्पादन हुने बुक आलुको स्वाद अरु आलुको भन्दा मिठो हुने भएकाले किसानहरु त्यसप्रति आकर्षित भएको किसान अगुवाहरू बताउँछन् ।

‘अहिले धेरैले बुकमा आलु रोपेका छन् ’ थापामगर भन्छिन् 'यस्तो आलुमा रासायनिक मल प्रयोग गरिएको छैन ।' पूरै जमिन जोतेर गर्ने आलु खेतीमा भने रासायनिक मल प्रयोग हुनेगरेको उनले बताइन् ।

रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा आलु जोन संचालन गरिँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्राविधिक बलबहादुर थापामगरका अनुसार बुक खेतीको आलुको मूल्य समेत उच्च छ ।

‘चिसापानी चक्रे’ जातको आलु बुकमा लगाउने गरिएको छ । रातो चक्रे आलुको नामले चिनिने उक्त आलु अन्य आलुको तुलनामा झण्डै तेब्बर मोलमा बिक्री हुन्छ । रातो चक्रे आलु पाथीको ४ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको र उक्त आलु बिउका लागि भारतसम्म पुग्न थालेको थापामगरले बताइन् ।

जिल्लामा उत्पादन हुने अन्य आलु प्रति पाथी बढीमा १ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । रामेछापमा गत वर्ष करिब २० करोड रुपैयाँको आलु बिक्री भएको परियोजनाका प्रमुख थिरलाल गैह्रेले बताए । गैह्रेका अनुसार जिल्लामा आलु खेतीको विस्तार गर्ने क्रममा यो वर्ष अझ उत्पादन बढ्ने अपेक्षा गरिएको छ । यस वर्ष बाँझो रहेको जग्गामा समेत आलु खेती गर्ने उद्देश्यले परियोजनाले किसानलाई अनुदान दिएकाले उत्पादनमा वृद्धि हुने उनले बताए ।

परियोजनाका अनुसार गोकुलगंगा गाउँपालिकाको तामेडाँडा, प्रिति, कुभुकास्थलीको अजमडाँडा क्षेत्रमा बुकको आलु खेती गरिएको छ । रस्नालुको खोलाखर्क, विरौटा, ठोसेको टगम क्षेत्रमा पनि उक्त खेतीमा किसान रमाउन थालेका छन् ।

प्रकाशित : माघ १६, २०७९ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?