वाग्मतीमा एमाले, माओवादी र राप्रपाले टुंग्याए मन्त्री बन्नेको नाम

मकवानपुर — वाग्मती प्रदेश सरकारले पूर्णता प्राप्त गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको १७ औं दिनमा बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

दिउँसो २ बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरुको शपथग्रहण तय गरिएको छ । हाल मन्त्रिपरिषद् ३ सदस्यीय रहेको छ । एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाका उद्धब थापाले विनाविभागीय मन्त्रीको जिम्मेवारीमा रहेका छन् ।
प्रदेशका सत्तारुढ दलहरुले मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम छिनोफानो गरेका छन् । बिहान बसेको नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको संसदीय दले बैठकले मन्त्रिपरिषद्मा सहभागी हुनेको अन्तिम नामावली तय गरेको हो ।
नेकपा एमालेबाट एकालाल श्रेष्ठले श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य तथा केशव पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारीसहित मन्त्रिपरिषद्मा सहभागी हुँदैछन् ।
माओवादी केन्द्रबाट युवराज दुलालले भौतिक पूर्वाधार विकास, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेछन् । त्यस्तै राप्रपाका डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी तथा राजु विष्ट वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेछन् । विनाविभागीय मन्त्री रहेका उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय सम्हाल्नेछन् ।
प्रकाशित : माघ ११, २०७९ १२:५०