कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

काभ्रेमा मनाइयो सोनाम ल्होछार 

ज्योती श्रेष्ठ

काभ्रे — तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार काभ्रेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । काभ्रेका तेमाल, रोशी, महाभारत, नमोबुद्ध, खानीखोला, चौरीदेउराली गाउँपालिकामा तामाङ समुदायले विभिन्न कार्यक्रम गरेर ल्होछार मनाएका हुन् । नयाँ वर्षको रुपमा मनाइने ल्होछारमा यस वर्ष (ह्यअी ल्हो-बिरालो वर्ग)लाई स्वागत गरिएको छ । 

काभ्रेमा मनाइयो सोनाम ल्होछार 

काभ्रेको नमोबुद्ध नगरपालिका-७ स्थित रजबम पोखरी गुम्बा परिसरमा लामा सेवा समिति रजबम पोखरी, सोनाम ल्होछार मूल समारोह समितिले विभिन्न सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा हास्य कलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला), विनोद वल र स्थानीय कलाकारलगायतले मनोरञ्जन गराएका थिए । कार्यक्रममा झाँकी नाच प्रस्तुत गरिएको थियो ।

त्यसक्रममा उक्त स्थानमा रहेको अष्टमंगल स्तूप निर्माणमा सहयोग गर्ने मोहनसिं लामा, उत्तरध्वज लामा, दोमनसिं लामा, डम्बरसिं लामा, ठगराज घिमिरे, हरिबहादुर बल लामा, टासी लामा, केदारप्रसाद आचार्यलगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख कुन्साङ लामाले सबै धर्म, संस्कृतिको सम्मान र संरक्षणका लागि नगरले बजेट र कार्यक्रम तय गरेको बताए । नगरप्रमुख लामाले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त सबै समुदायका नेपालीबीच सद्भाव, भाइचारा, सहिष्णुता, मेलमिलाप र बन्धुत्वको भावना विकास गर्न यस्ता पर्व सहयोगी बन्नेमा विश्वास व्यक्त गरे ।

ल्होछारको अवसरमा जिल्लाको नमोबुद्ध नगरपालिका, खानीखोला गाउँपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएका छन् ।


प्रकाशित : माघ ८, २०७९ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?