नुवाकोटमा मनाइयो सोनाम ल्होछार - वाग्मती - कान्तिपुर समाचार

नुवाकोटमा मनाइयो सोनाम ल्होछार 

कृष्ण थापा

नुवाकोट — जिल्लामा विविध कार्यक्रम गरी २८५९ औं सोनाम ल्होछार मनाइएको छ । नेपाल तामाङ घेदुङ नुवाकोटको आयोजनामा शनिबार विदुर नगरपालिका-४ बट्टारमा ल्होछार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं नुवाकोट १ (१) बाट वाग्मती प्रदेश सदस्यमा निर्वाचित सांसद राधिका तामाङले तामाङ जातिको संस्कृति र आफ्नो पहिचानको जगेर्ना गर्न यस्ता कार्यक्रमले सघाउने विश्वास व्यक्त गरिन् । 

नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव तथा कार्यक्रम संयोजक जयमान वाइबाले तामाङ संस्कार र संस्कृतिको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा तामाङ समुदायमा प्रचलित गीत, संगीत र नाच प्रस्तुतित गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, सुरक्षा निकायका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारी र सर्वसाधारणको उपस्थिति थियो ।

विश्वका तामाङले आ-आफ्नो अनुकूलतामा फरक-फरक दिन र समयमा ल्होछार पर्व मनाउने गरे पनि यस वर्ष ल्होछारको मुख्य दिन आइतबार माघ ८ गते परेको छ । आइतबार केन्द्र सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।





प्रकाशित : माघ ७, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटमा ३७ हल गोरु जुधाइयो

कृष्ण थापा

नुवाकोट — माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वरको तारुका, नुवाकोट–रसुवा सीमा बेत्रावती र पञ्चकन्याको पिपलडाँडामा गरी ३७ हल गोरु जुधाइएको छ । ९ हल सोमबार जुधाइने भएको छ ।

पञ्चकन्या गाउँपालिका-३ पिपलडाँडामा नवप्रतिभा युवा समूहको आयोजनामा भएको आठौं बृहत् गोरु जुधाइ मेला तथा सांस्कृतिक कार्यक्रममा ९ हल गोरु जुधाइएको कार्यक्रम संयोजक गुरुबहादुर थापाले जानकारी दिए । उनका अनुसार झलकबहादुर थापाको गोरखाबाट ल्याएको रातो दार्मे गोरु पहिलो भएको छ भने सोही गोरुसँग जुध्ने जीवन थापाको कालो दार्मे गोरु दोस्रो भएको छ । यस्तै स्थानीय रमेश पराजुलीको प्वालें गोरु तेस्रो भएको संयोजक थापाले जनाए ।

पहिलो हुने गोरुधनीलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कार दिइएको छ । मेलामा १० हल समावेश भए पनि एक हल गोरु जुधाउन नसकिएको संयोजक थापाले बताए ।

त्यसैगरी, नुवाकोट–रसुवा सीमा बेत्रावतीमा ९ हल गोरु जुधाइएको छ । यहाँ तिब्बत–चीन–नेपाल युद्धपछि सन्धि गरिएको बेत्रावतीमा स्थानीयले ३ हल गोरु जुधाएर गीर खेल खेलिएको इतिहास रहेकोले गोरु जुधाईलाई निरन्तरता दिएको गोसाइँकुण्ड युवा क्लबले जनाएको छ ।

तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष माघे संक्रान्ति गोरु जुधाई मेला महोत्सव आयोजना गरेर गोरु जुधाइने गरिएको छ । यहाँ आइतबार १९ हल गोरु जुधाइएको स्थानीय समाजसेवी केशवप्रसाद रिमालले जानकारी दिए । उनले सोमबार ९ हल गोरु जुधाइने बताए ।

गोरु जुधाई महोत्सवमा खैँचडीभजन, लोकदोहोरी, पन्चेबाजासहित नाचगान गरिएको छ । तत्कालीन बझाङी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको किंबदन्तीको आधारमा यहाँ हरेक वर्ष गोरु जुधाई परम्परालाई निरन्तरता दिइएको छ ।

प्रकाशित : माघ १, २०७९ १९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×