नाका नखुल्दा रित्तिँदै गाउँ- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाका नखुल्दा रित्तिँदै गाउँ

अधिकांश स्थानीय विदेश पलायन भएपछि गाउँमा युवा भेटिन मुस्किल
अनिश तिवारी

सिन्धुपाल्चोक — उत्तरी तातोपानी नाका सर्वसाधारणका लागि नखोलिएको ७ वर्ष पुग्दा सीमासँग जोडिएका दुई गाउँ रित्तिने क्रममा छन् । सीमा बजारमा आवद्ध अधिकांश स्थानीय व्यवसायी र मजदुर नाका ठप्प भएयता पलायन हुन थालेका छन् । 

भोटेकोसी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले यहाँको पाँच वडा र बाह्रबिसे नगरपालिकाका दुई वडाका अधिकांश स्थानीय विदेश पलायन भएपछि गाउँमा अहिले युवा भेटिन मुस्किल भएको बताए । यसअघि सीमाक्षेत्र तातोपानी, लिस्तीकोट, दुगुना, फुल्पिङकट्टी र मार्मिङका दुई हजारभन्दा बढी युवा विदेश गएको भोटेकोसी गापाले जनाएको थियो । ‘त्यतिबेला नाकामा सानोतिनो व्यापार गरेका प्रायः बिदेसिएको अवस्था छ, नाका नखुल्दा यहाँको स्थानीय र व्यवसायीको बेहाल भएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने । उनका अनुसार विदेश जानेहरू अधिकांश खाडी मुलुक पुगेका छन् ।

भोटेकोसी गापाको जनसंख्या करिब १७ हजार छ । तर यतिबेला आधा गाउँ खाली भइसकेको छ । सर्वसाधारण आउजाउका लागि नाका बन्द भएयता भोटेकोसी क्षेत्रका घर नै खाली गरेर पलायन हुने क्रम दिनहुँ बढिरहेको अवस्था छ । ‘नाका नचलेपछि विकल्पको खोजीमा केही बिदेसिए, केही मजदुरी गर्न अन्यत्र पुगे, तातोपानी, लिस्ती, बोक्चेन र फुल्पिङकट्टी गाउँमा युवा भेटिँदैनन्, घर कुरुवा बुढाबुढी मात्रै छन्,’ भोटेकोसी–४ का वडासदस्य शुकु शेर्पाले भने ।

भूकम्प र परकम्पपछि नाकाको बेहाल भएयता अत्यधिक बिदेसिनेमा भोटेकोसी–५ मार्मिङका छन् । माइती नेपाल र मार्मिङ महिला सञ्जालको एक अध्ययनअनुसार भूकम्पपछि मार्मिङबाट मात्रै २ सय ४७ जना इराक पुगेका छन् । मार्मिङको छ्यादी, चन्द्रखु, बम्रादेखि गोल्चीसम्मका झन्डै ४ सय ४४ जना बिदेसिएका हुन् । त्यतिखेर नाकामा होटल व्यवसाय र व्यापार गर्ने अधिकांश महिला बिदेसिएको देखिन्छ । नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुन सापकोटका अनुसार नाका नचलेपछि २० वर्षअघिदेखि चल्दै आएका १ हजार ४ सय मालवाहक कन्टेनर, २८ सय चालक र ५ हजार मजदुर बेरोजगार भएका छन् । कन्टेनरमा ३ हजार बढीले रोजगार पाएका थिए । झोलेपोके व्यापार गर्ने लगभग २ हजार थिए । पर्यटक र व्यापारीको भारी बोक्ने सयौं स्थानीय थिए ।

‘ती सबै नाकामा निर्भर थिए, अहिले बिखलबन्दनमा परेका छन्, सरकारले नाकाबारे ध्यान नदिनु र कूटनीतिक पहल नर्गनुको परिणाम हो यो,’ सापकोटाले भने । उत्तरी नाकाबाट आयात गर्दा ढुवानी भाडा कम पर्ने र सामान छोटो समयमा भित्रने भएकाले व्यवसायी सकभर दक्षिण जान चाहँदैनन् । तर, नाका बन्द हुने र खुल्ने चिनियाँ मनमौजीका कारण बैंकको ब्याज, गोदाम भाडा र कर्मचारी तलब तिर्नै समस्या हुँदा सयौं व्यापारी पेसाबाटै पलायन भएका हुन् । व्यापारी, उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले तातोपानी नाका सहज बनाउन माग गर्दै ६/६ महिनामा प्रधानमन्त्री, मन्त्री र कर्मचारीलाई ज्ञापनपत्र बुझाउँदै आएका छन् ।

‘गाउँमा यस्तो समस्या देखिन थालेको छ, यसबारे सरकार सचेत हुनैपर्छ, नाका खोल्न समयमै पहलकदमी लिन आवश्यक छ,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले भने । केही समयअघि आफूसहित नाका खुलाउन यस क्षेत्रका प्रतिनिधिसभा १ का सांसद माधव सापकोटा सुबोध, २ का सांसद मोहन बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले नेता गणले अर्थमन्त्रीसँग भेटेर छलफल गरेका थिए ।

चिनियाँ इलाका बजारक्षेत्रमा तीन वर्षदेखि जारी ल्हासा लकडाउन हटाइएपछि अहिले ल्हासा प्रशासनले ल्हासा मालवाहक रुट सुरक्षा प्रोटोकल हटाएको छ । कोभिडको पहिलो लहरमा बन्द नाका चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड र अन्य सामग्री राजधानी पुर्‍याउने लक्ष्य राखेर ‘आइसोलेट एरिया’ सहित खुलाइएको थियो । नेपालका लागि चीनको ल्हासास्थित महावाणिज्य दूत नवराज अधिकारीका अनुसार चीनले मालवाहक सवारी रुटमा सुरक्षा प्रोटोकल अनिवार्य नगरेर आउजाउ खुकुलो बनाएसँगै निर्यात खुलाउने सम्भावना केही सकारात्मक संकेत भए पनि देखिने प्रगति भने छैन ।

भूकम्पअघि तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । जसमध्ये ४० हजारभन्दा बढी पर्यटक चीनका हुन्थे । तातोपानी नाका बन्द भएपछि उक्त बाटो भएर भारतलगायत मुलुकका तीर्थयात्रीले तिब्बतको कैलाश मानसरोवर भ्रमण गर्न पाएका छैनन् । भूकम्प, भोटेकोसी बाढीपछि बर्सेनि ठूलो संख्यामा तातोपानी धारा नुवाउन आउने आन्तरिक पर्यटकको संख्याको भारी गिरावट अझै पनि पूर्ति हुन सकेको छैन ।

प्रकाशित : माघ ७, २०७९ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्

तस्करीमा सुरक्षाकर्मीकै मिलेमतो

तस्करीका सामान छुटाउन भन्सारमा खटिएका सशस्त्र प्रहरीको नै जोडबल, शंकास्पद भूमिकाको आरोपमा केही प्रहरी अधिकारीमाथि छानबिन हुँदै
भूषण यादव

वीरगन्ज — गत असोज २० मा बिहान सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत असई सत्यनारायण यादवको शव भारत बिहारको मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलानजिक भेटियो ।

प्रहरीको अनुसन्धानबाट असई यादवको हत्या सोही बीओपीमा कार्यरत सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीले गरेको खुल्यो । तस्करीको सामानबारे असई यादव र जवान खत्रीबीच टकराव थियो । यादवले तस्करीमा कडाइ गरेपछि खत्रीले उनको हत्या गरेर खोलाको बाटो हुँदै शव भारत पुर्‍याएका थिए । यो मामिलामा सशस्त्र प्रहरीको मुख्यालयले छिन्नमस्ता बीओपीका कमान्डर कृष्णबहादुर मगरलाई निलम्बन गर्‍यो भने खत्री जेलमा छन् ।

***

गत कात्तिक ६ मा ना७ख ८१५२ नम्बरको मालवाहक ट्रकलाई राति करिब ८ बजे रोशन भन्सार क्लियरिङ सेवा वीरगन्जको नाममा गेट पास देखाई वीरगन्जस्थित आईसीपी भन्सारको मूल गेटबाट निकाल्ने क्रममा गार्डले रोके । आईसीपी सञ्चालक इन्टरमोडल यातायात विकास समितिका गार्डले कागजपत्र जाँच गर्न खोज्दा ट्रक चालक फरार भए ।

कागजात पनि भन्सार एजेन्टकै व्यक्तिले खोसेर भागेपछि घटनाक्रम झनै शंकास्पद भयो । ३ दिनअघि आईसीपीबाट सरुवा भइसकेका सशस्त्र प्रहरीका सई प्रकाशसिंह ठकुरीले त्यति नै बेला भन्सारको मूल गेटमा आएर ट्रकलाई जान दिन दबाब दिए । तर, गार्डले नमानेपछि उनी फर्किए । उक्त ट्रकबाट २ करोड रुपैयाँभन्दा बढीको कपडा बरामद भयो ।

***

यी दुई घटनाले भारतसँग जोडिएको सीमामा तैनाथ रहेका सशस्त्र प्रहरी मधेस प्रदेशमा तस्करीमा कतिसम्म ‘सहयोगी’ बनेका छन् भने पुष्टि गर्छ । तस्करी र आर्थिक लेनदेनमा मुछिएपछि मंसिर दोस्रो साता सशस्त्र प्रहरी बलका तीन जना उपरीक्षक (एसपी) अनुसन्धानका लागि हेडक्वार्टर तानिए । सशस्त्र प्रहरी बल मुख्यालयले १२ नम्बर गण बाराका प्रमुख (एसपी) राजेन्द्र थापा र १३ नम्बर गण पर्साका प्रमुख (एसपी) तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रूपकुमार क्षेत्रीलाई अनियमितता आरोपमा अनुसन्धान गर्न फिर्ता बोलाइएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

बारा र पर्साका केही बोर्डर आउट पोस्ट (बीओपी) इन्चार्जलाई पनि आन्तरिक अनुसन्धानका लागि फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । सशस्त्र प्रहरी मुख्यालयले एसपीद्वय टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वका दुई छुट्टाछुट्टै मार्सल टोलीलाई तराईका विभिन्न जिल्लामा छड्केमा पठाएको थियो । सोही टोलीको प्रतिवेदनका आधारमा सशस्त्रले तीन जना गणपतिलाई फिर्ता बोलाएर अनुसन्धान अघि बढाएको हो ।

सशस्त्रका बाहिनी र गणलाई समेत सुइँको नदिई हेडक्वार्टरबाट एसपी नेतृत्वका दुई मार्सल टोली खटिएका थिए । फिर्ता बोलाइएका अधिकृतमाथि विस्तृत रूपमा अनुसन्धान हुने र कसुर देखिए कानुनअनुसार कारबाही गरिने सशस्त्र प्रहरीले जनाएको थियो ।

सशस्त्र प्रहरी बलले सादा पोसाकमा खटिएका सशस्त्र प्रहरीलाई काज सरुवा गरेको छ । काज सरुवा हुनेमा सशस्त्र प्रहरी नायब निरीक्षक ५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक ७ जना, वरिष्ठ हवलदार १८ जना, कामु वरिष्ठ हवलदार ३ जना, हवलदार २० जना, सहायक हवलदार ६३ जना र सिपाही १८ जना गरी १३४ जना छन् । काज सरुवा भएका १३४ मध्ये मधेस प्रदेशबाट विभिन्न पदका ३६ जना रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

राजस्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै मिलेमेतोमा पछिल्लो समयमा सीमावर्ती नाकाबाट अवैध कारोबार फस्टाएको गुनासो छ । चोरी तस्करीमा संलग्न समूहका अनुसार सशस्त्र प्रहरीले तस्करीको ‘लाइन’ खोलेपछि मात्र नेपाल प्रहरीले पनि ग्रिन सिग्नल दिने ‘सिस्टम’ नै बसिसकेको छ । ‘सबै हाकिमहरूले घुमुवामार्फत महिनावारी बुझ्छन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक जना कारोबारी भन्छन्, ‘नाकामा काम गर्न पहिले सशस्त्र प्रहरीलाई खुसी पार्न सक्नुपर्छ, सशस्त्र खुसी भयो भने नेपाल प्रहरीलाई कुनै आपत्ति हुँदैन ।’

देशकै मुख्य नाकामा पर्छन्, वीरगन्ज । पछिल्लो समय वीरगन्ज भन्सारमा खटिएका सशस्त्र प्रहरी नै तस्करीका सामान छुटाउन जोडबल गर्छन् । दिनहुँजसो त्यो नाकामा तस्करीका समानलाई लिएर झन्झट हुने गरेको छ । गत असार ३१ गते बिहान भारत बिहार रक्सौलको भेलाही सिमानाको कुकुहियाँ गाउँमा कपडा तस्कर र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच झडप भएको थियो । तस्कर समूहले एउटा पिकअप गाडी, ५ वटा ठेला र ४ वटा साइकलमा कपडा लोड गरी विहारको भेलाही नाका हुँदै अवैध रूपले नेपाल पठाउने क्रममा एसएसबीका जवानले नेपाल–भारत सिमानाभन्दा ५० मिटर भारततर्फ रोकेका थिए ।

३ जना तस्कर, २८ पोका कपडा, ठेला र बीआर ०६ जी ९७१९ नम्बरको पिकअप गाडीलाई एसएसबीले नियन्त्रणमा लिएपछि करिब ४ दर्जनको संख्यामा आएका तस्करहरूले एसएसबीमाथि आक्रमण गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन एसएसबीले हवाई फाइरिङसमेत गर्नुपरेको थियो । झडपमा एसएसबीका ३ जना जवान घाइते भएका थिए । रक्सौलको भेलाही नाका हुँदै पर्साको अमरपट्टी र भिस्वा नाकाबाट ठूलो परिमाणमा भन्सार राजस्व छली कपडा, मोटरपार्टसलगायतका सामान भित्रिन थालेपछि एसएसबीले विशेष निगरानी बढाएको थियो ।

ग्रामीण नाकाबाट भित्रिएको कपडा कारोबारीले वीरगन्जको गोदाममा भण्डारण गरी नारायणगढ, पोखरा, काठमाडौँलगायतका सहरमा पुर्‍याउने गरेका छन् । एसएसबीले पिकअप गाडी नियन्त्रणमा लिएपछि करिब ५० जनाको संख्यामा रहेका तस्कर समूह भेला भई आक्रमण गरेको भेलाही प्रहरी चौकी इन्चार्ज मनोज कुमारले जानकारी दिएका थिए । त्यसको भोलिपल्ट सीमावर्ती भेलाहीको भेलवा रेल्वे स्टेसननिजकै हरिओम म्यारिज कम्पलेक्स अगाडि नेपालतर्फ आइरहेको ४ वटा पिकअप गाडीमा लोड भएको अवैध कपडा पटना कस्टम र एसएसबीको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरीका प्रमुख आईजीपी राजु अर्याल गत महिना मधेस आउँदा हरेकजसो नाकाबाट चिनी, कपडा, मदिरालगायतका समानको तस्करी भइरहेको जानकारी पाए । अर्याल डीआईजी हुँदा दुई वर्षअघि मधेसमा सशस्त्र प्रहरीको कमान्ड सम्हालिसकेका छन् । अर्यालले यसबारे मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी गणेश ठाडामगरसँग जानकारी पनि माग गरेका थिए ।

सशस्त्र प्रहरी मुख्यालयले गत जेठ ६ मा नै मातहतका कुनै पनि कार्यालयले सादा पोसाकमा घुमुवा खटाएको भए तुरुन्त फिर्ता गर्न निर्देशन दिएको थियो । तर, केही कार्यालयले आवश्यकता छ भन्दै सादा पोसाकमा सूचना संकलनको नाममा घुमुवा परिचालन गरेका थिए । स्रोतका अनुसार पर्सा, वारामा सशस्त्र प्रहरीका डीआईजी मगरले सशस्त्र प्रहरी हवल्दार वशिष्ठ पटेल, सहायक हवल्दार सदर्शन बैठालाई सादा पोसाकमा खटाएका थिए । पर्साका एसपी तेजप्रकाश पोखरेलले सशस्त्र प्रहरी हवल्दार प्रमोद बैठा र अरविन्द दुबेलाई घुमुवाको रूपमा परिचालन गरेका थिए । यसको अलावा सबै बीओपीले समेत बेग्ला–बेग्लै घुमुवा परिचालन गर्दै आएका छन् ।

स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँण परिवर्तन हुनेबित्तिकै सादा पोसाकमा परिचालन गरिएका घुमुवा फिर्ता भएका थिए । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुस १८ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीका सादा पोसाकका प्रहरीको विवरण माग गरेपछि घुमुवालाई फिर्ता गरिएको हो ।

प्रकाशित : माघ ७, २०७९ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×