१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

साँगाचोकगढीका किसानमाझ फिनल्यान्डका सांसद

अनिश तिवारी

ठूलोसिरुवारी‚ सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी–१३ को ठूलोसिरुवारी गाउँमा पहिलो पटक कृषकलाई भेट्न आइपुगेका फिनल्यान्डका सांसदलाई स्थानीयवासीले अबिरसहित फूलमाला दोसल्लाले स्वागत गरे । त्यतिखेर फिनल्यान्डका केन्द्रीय पार्टी संसदीय समूहका सांसद विदेश मन्त्रालयका कूटनीतिज्ञ जोन क्वोन्टा र काहिलुटो ग्रीन‚ संसदीय समूह सांसद आटी अलान्को, स्विडिस संसदीय समूह सांसद इभा बाइडेट महिला कृषकलाई भेट्दै थिए । 

साँगाचोकगढीका किसानमाझ फिनल्यान्डका सांसद

‘तपाईँहरूलाई यहाँ समस्या के छ ? कसरी घर चलाउनुहुन्छ, बालबालिकाले घरमा सघाउँछन् ?, ’ क्वोन्टाको यी तीन प्रश्नलाई नजिकै बसेका एक कर्मचारीले ठूलोसिरुवारी तल्लो गाउँकी सुन्तली लामालाई दोभासेको काम गर्दै सम्झाए । कुनै पत्रकारले झैँ एकाएक विदेशीले प्रश्न सोधेको देखेर उनी एकछिन अक्क न बक्क भइन् ।

केही छिनको मौनता तोड्दै उनले यहाँको समस्या नेपालीमै फरर भन्न थालिन् । फिनल्यान्डका सांसद जोन, आटी, इभा ध्यानपूर्वक सुन्न थाले ।


फिनल्यान्ड वाम गठबन्धन संसदीय समूह सांसद ऐनो क्यास पेकोनेन र सामाजिक लोकतान्त्रिक संसदीय समूह सांसद हुस्ने अल–ताईले डायरीमा टिप्न थाले । ‘हाम्रो गाउँमा मुख्य समस्या- खानेपानीको हाहाकार छ । बर्खामा केही सहज भए पनि अरुबेला पानीकै लागि तनाव हुन्छ, पानी नभएर करेसामा तरकारी लगाउन पाएको छैन,’ लामाले एकै सासमा भनिन् । उनले जोनको अर्को प्रश्नमा गाउँभरि बालबालिकाले बिदाको समय मिलाएर आमाबुबालाई घरको कामकाजमा सकेको सघाउने गरेको बताइन् । यो सुनेर जोनसहित अन्य सांसद खुसी देखिए । स्थानीय गणेश आधारभूत विद्यालयमा पुग्दा त्यहाँको शिक्षा क्षेत्रबारे सांसदले चासो दिएर बालबालिकाका समस्या, सहयोगबारे आफ्नो टिपोटमा राखे ।


ठूलोसिरुवारी गाउँमा करिब दुई घण्टा समय बिताएर उनीहरू पुनः काठमाडौं फर्किए । फिनल्यान्डका ६ जना सांसद, यूएन एसोसियसन अफ फिनल्यान्डका प्रतिनिधि, यूएन ओमेन, विश्व खाद्य कार्यक्रम, यूएन नेपालका प्रतिनिधिको जम्बो टोलीले गाउँको भूगोलको समेत अवलोकन गरेका थिए । सांसदले खेतमै गएर चासो दिएको देख्दा स्थानीय कृषक उत्साहित भएको वडाध्यक्ष गौतमको भनाइ छ ।


‘उहाँहरूले सकेको सहयोग गर्ने प्रतिबद्धता दिनुभएको छ,’ उनले भने । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्ण सुवेदीका अनुसार फिनल्यान्डले देशभरको शिक्षाको दिवा खाजा, भौतिक संरचनाजस्ता विभिन्न कुरामा सहयोग पुर्‍याउँदै आइरहेको छ । त्यही विषयलाई लिएर गाउँको कृषक, महिला, बालबालिकाको शैक्षिक अवस्था, अन्य समस्याबारे संसदको टोली बुझ्न आएको उनले बताए ।

प्रकाशित : माघ ५, २०७९ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?