१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सदनबाट विश्वासको मत प्राप्त गरेका छन् ।  मंगलबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन् । उनलाई सदनमा ३ सिट रहेको नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलका सांसदले विश्वासको मत दिएका छन् । प्रदेशसभामा ७ वटा राजनीतिक दलहरु रहेका छन् ।

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

उनलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा (एस) र हाम्रो नेपाली पार्टीका १०५ सांसदले विश्वासको मत दिएका थिए । मतदान प्रक्रियामा १०९ सांसदको उपस्थित थिए । उनको विपक्षमा ३ मत परेको थियो । प्रदेशसभामा कांग्रेस ३७, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ । सभामुख भुवन पाठक भने मतदान प्रक्रियामा सहभागी भएनन् ।

११० सदस्यीय प्रदेशसभामा ५६ मत भएको खण्डमा पुग्ने थियो । जम्कट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । जम्कट्टेलले पुस २५ गते मुख्यमन्त्रीको शपथ लिएका थिए । मुख्यमन्त्रीमा शपथ ग्रहण गरेको ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मत पाएपछि नवनियुक्त मुख्यमन्त्री मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । हाल प्रदेशको मन्त्रिपरिषद् ३ सदस्यीय रहेको छ । मुख्यमन्त्रीले सभामुख, उपसभामुखको चयन प्रक्रिय सकिएपछि विश्वासको मत लिने तयारी गरेका कारण उनलाई गठबन्धनबाट विश्वासको मत लिन थप सहज भएको हो ।

प्रकाशित : माघ ३, २०७९ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?