कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

वाग्मतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मंगलबार विश्वासको मत लिँदै छन् । पुस २५ गते मुख्यमन्त्रीको सपथ लिएका जम्मकट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए  ।

वाग्मतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

मुख्यमन्त्रीले शपथ ग्रहण गरेको ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

जम्मकट्टेल मुख्यमन्त्री नियुक्त भएकै दिन उनले माघ ३ गते प्रदेशसभासमक्ष विश्वासको मत लिने व्यवस्था गरिदिन प्रदेशसभालाई जानकारी गराएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार विश्वासको मत लिने सम्पूर्ण प्रक्रिया सरकारले पूरा गरिसकेको छ । मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलहरुलाई भेटेर आफूलाई विश्वासको मत दिन अपिल गरेका छन् । प्रदेशसभामा ७ वटा राजनीतिक दलहरु रहेका छन् ।

जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनलाई एमालेका २७, नेकपा माओवादी २१, राप्रपा १३, नेकपा एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन छ । ११० सदस्यीय प्रदेशसभामा ५६ मत भएको खण्डमा उनले सहजै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । सभामुख र उपसभामुख चयन प्रक्रियामा सत्तापक्षका उम्मेदवारलाई मतदान नगरी तटस्थ बसेको नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने वा नदिने अझै टुंगो लागेको छैन । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेसले प्रदेशमा भने अझै मौन बसिरहेको छ । कांग्रेस प्रदेशको सबैभन्दा ठूलो दल हो । कांग्रेसबाट प्रदेशसभामा ३७ जना सांसदहरुले प्रतिनिधित्व गर्छन् । ३ सांसद रहेको नेपाल मजदुर किसान पार्टीले प्रतिपक्षमा बस्ने प्रष्ट पारिसकेको छ ।

विश्वासको मत पाएपछि नवनियुक्त मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । हाल प्रदेशको मन्त्रिपरिषद् ३ सदस्यीय रहेको छ ।

प्रकाशित : माघ ३, २०७९ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?