कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नुवाकोटमा ३७ हल गोरु जुधाइयो

कृष्ण थापा

नुवाकोट — माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वरको तारुका, नुवाकोट–रसुवा सीमा बेत्रावती र पञ्चकन्याको पिपलडाँडामा गरी ३७ हल गोरु जुधाइएको छ । ९ हल सोमबार जुधाइने भएको छ ।

नुवाकोटमा ३७ हल गोरु जुधाइयो

पञ्चकन्या गाउँपालिका-३ पिपलडाँडामा नवप्रतिभा युवा समूहको आयोजनामा भएको आठौं बृहत् गोरु जुधाइ मेला तथा सांस्कृतिक कार्यक्रममा ९ हल गोरु जुधाइएको कार्यक्रम संयोजक गुरुबहादुर थापाले जानकारी दिए । उनका अनुसार झलकबहादुर थापाको गोरखाबाट ल्याएको रातो दार्मे गोरु पहिलो भएको छ भने सोही गोरुसँग जुध्ने जीवन थापाको कालो दार्मे गोरु दोस्रो भएको छ । यस्तै स्थानीय रमेश पराजुलीको प्वालें गोरु तेस्रो भएको संयोजक थापाले जनाए ।

पहिलो हुने गोरुधनीलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कार दिइएको छ । मेलामा १० हल समावेश भए पनि एक हल गोरु जुधाउन नसकिएको संयोजक थापाले बताए ।

त्यसैगरी, नुवाकोट–रसुवा सीमा बेत्रावतीमा ९ हल गोरु जुधाइएको छ । यहाँ तिब्बत–चीन–नेपाल युद्धपछि सन्धि गरिएको बेत्रावतीमा स्थानीयले ३ हल गोरु जुधाएर गीर खेल खेलिएको इतिहास रहेकोले गोरु जुधाईलाई निरन्तरता दिएको गोसाइँकुण्ड युवा क्लबले जनाएको छ ।

तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष माघे संक्रान्ति गोरु जुधाई मेला महोत्सव आयोजना गरेर गोरु जुधाइने गरिएको छ । यहाँ आइतबार १९ हल गोरु जुधाइएको स्थानीय समाजसेवी केशवप्रसाद रिमालले जानकारी दिए । उनले सोमबार ९ हल गोरु जुधाइने बताए ।

गोरु जुधाई महोत्सवमा खैँचडीभजन, लोकदोहोरी, पन्चेबाजासहित नाचगान गरिएको छ । तत्कालीन बझाङी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको किंबदन्तीको आधारमा यहाँ हरेक वर्ष गोरु जुधाई परम्परालाई निरन्तरता दिइएको छ ।

प्रकाशित : माघ १, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?