मृत्युको २० वर्षपछि खोज्दै प्रहरी आएपछि...

‘छोराले गरेको आन्दोलनले यो व्यवस्था आयो, तर मेरा सहादत भएका छोरा पक्राउ गर्न घरमै आएर हामीलाई राज्यले अपराधी बनायो’
केदार शिवाकोटी

दोलखा — सशस्त्र द्वन्द्वमा दुई छोरा र एक बुहारी गुमाएकी ७३ वर्षीया धनकुमारी रिमालको सन्तान गुमाएका घाउ बिस्तारै पुरिँदै थिए । गत सोमबार २० वर्षअघि मृत्यु भएको छोरा खोज्दै एक्कासि प्रहरी घरमा पुगेपछि घाउ कोट्याएजस्तो मात्रै लागेको छैन उनी अलमलमा परेकी छन् । सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीमा लागेका दुई छोरा र बुहारी गुमाएकी बैत्यश्वर–७ मार्वुकी धनकुमारीको माइलो छोरा खोज्दै प्रहरी आइपुगेको हो ।

घरमा आएका प्रहरीले तपाइको छोरो कहाँ छ ? भनेर प्रश्न गर्दा उनी झन्डै बेहोस भइन् ।

माओवादीका ओखलढुंगा सचिवालय सदस्य रहेका ३३ वर्षीय जेठा छोरा केशवराज स्वराज रिमाल ०५७ मंसिर १ मा भिडन्तका क्रममा ओखलढुंगाको रगनीमा मारिएका थिए । त्यसको दुई वर्षपछि साउन १८ मा दोलखाको बोत्लेमा कान्छी बुहारी २२ वर्षीया लक्ष्मी पराजुली मारिइन् । उनको घाउको खाटा नबस्दै २७ वर्षीय माइलो छोरो केशरराज ०५९ मंसिर १९ मा दोलखाको तत्कालीन लामीडाँडा गाविसको (हालको कालिञ्चोक गाउँपालिका–४) बन्चरेमा मारिए । कलिलै उमेरका छोराबुहारी गुमाएको पीडा बिर्सनै नसकेकी उनको घाउ राज्यले कोट्याएर फेरि बल्झाइदिएको छ ।

मृत्युको २० वर्षपछि माइलो छोरा केशरराजलाई खोज्दै प्रहरी घरमा आएको हो । ०५९ मा मृत्यु भएका केशवराजलाई राज्यले ०६३ साल जेठ २८ मा विस्फोटक पदार्थ तथा हातहतियारसम्बन्धी मुद्दा लगाएको छ । अदालतको फरार सूचीमा रहेका उनलाई पक्राउ गर्न गत पुस २५ मा प्रहरी धनकुमारीको घरमा पुगेको हो । २०६२/६३ को जनआन्दोलनपछि माओवादी शान्तिप्रक्रियामा आउँदै गर्दा केशरराजलाई राज्यले मुद्दा दायर गरेको थियो । तीनै केशरलाई दोलखा जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी पक्राउ गर्न धनमायाको घरमा पुगेको हो । द्वन्द्वका समयमा राज्यपक्षले दिएको पीडा बिसर्न नसकेकी उनी प्रहरीले सोधखोज गरेपछि कान्छो छोरो पनि खोसेर लाने भयो भनेर अत्तालिएकी हुन् । ‘छोराबुहारी मारिए भनेर खबर मात्रै सुनेको हो, आँखाले शव देखेको छैन,’ उनले भनिन्, ‘परिवर्तनका लागि भनेर माओवादी आन्दोलनमा लागे, अहिले तीनै छोरालाई राज्यले मुद्दा लगाएर पक्रन आएको छ ।’

राज्यले द्वन्द्वका बेलाका घाउ पटक–पटक कोट्याएर बल्झाएको उनले बताइन् । एक मनले घरमै आएर प्रहरीले छोराका विषयमा सोधीखोजी गर्दा राज्यले नै आफ्ना सन्तान लुकाएर राखेको छ कि भन्ने लागेको धनकुमारीले बताइन् । घरमा पुगेका प्रहरीलाई भने उनले छोरो जीवितै छ भनेर उल्टै प्रश्न गरिन् । ‘राज्यले द्वन्द्वको समयमा पटकपटक घरमा आएर अपराधीको व्यवहार गर्‍यो,’ उनले भनिन्, ‘छोराले गरेको आन्दोलनले यो व्यवस्था आयो, तर मेरा सहादत भएका छोरा पक्राउ गर्न घरमै आएर हामीलाई राज्यले अपराधी बनायो ।’ मरेपछि पनि राज्यले परिवार र बितेका छोरालाई अपराधी बनाएकोमा चित्त दुखेको बताइन् । त्यो पनि माओवादी आन्दोलनकै कारण पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री बनेका बेला उनले दुखेसो पोखिन् । धनमायाका तीन छोरा र एक छोरीमध्ये । तीनै छोरा माओवादी युद्धमा सामेल भएका थिए । तीमध्ये जेठा केशव दोलखाका संस्थापक नेतामध्ये हुन् । कान्छा रेशमस्वराज भने अहिले धनमायाको एक मात्र साहरा हुन् । माओवादी आन्दोलनमा लागेर बाँचेका रेशम द्वन्द्वको समयमा दोलखाका विद्यार्थी नेता थिए । तिनै रेशमकी पत्नी भने युद्धकै समयमा मारिइएकी थिइन् ।

दोलखाको बैत्यश्वर–७ मार्वुकी ७३ वर्षीय धनमाया रिमाल र उनका कान्छा छोरा रेशम ।

तत्कालीन क्षेमावती गाविसको एक विद्यालयमा शिक्षिका रहेकी धनमाया २९ वर्षको उमेरका श्रीमान् रजनलाई पञ्चायतकालमै गुमाइन् । तत्कालीन समयमा माघे संक्रान्तिमा घरमा आउने क्रममा दोलखाकै नागदहमा उनको हत्या भए पनि पञ्चायतले भीरबाट लडेर मरेको बनाएको उनले बताइन् । पछि श्रीमान्को हत्या भएको नागदहकै स्थानीयबाट थाहा पाएको बताइन् । उनले दुई छोरा र बुहारी दोहोरो भिडन्तमा नभई राज्य पक्षले पक्रेर हत्या गरेको भन्दै उजुरीसमेत दिएकी छिन् ।

धनमाया यतिखेर मृत्यु भएको छोरालाई समेत राज्यले अपराधी बनाएकोमा आक्रोशित छिन् । यही गुनासो गर्न उनी अहिले प्रधानमन्त्री दाहाललाई भेट्न काठमाडौं पुगेकी छन् । प्रधानमन्त्रीलाई भेटेरै छोराहरु माओवादी आन्दोलनमा लाग्दा अपराधी बनेका हुन् ? भनेर प्रश्न गर्न काठमाडौं पुगेको उनले बताइन् । ‘मेरा मात्रै छोरा माओवादी आन्दोलनमा सहादत भएका होइनन्,’ उनले भनिन्, ‘धेरैका काख रित्तिएका छन्, जुनै पक्षबाट भए पनि कहिलेसम्म यस्ता परिवार प्रताडित हुनुपर्ने हो ?’

माओवादी आन्दोलनमा लागेकालाई भने राज्यले तत्कालीन मुद्दामा अहिले धमाधम पक्राउ पुर्जी लिएर घरमै पुगेकोमा उनका कान्छा छोरा रेशमले पनि आक्रोश पोखे । ‘राज्यले नै माओवादी आन्दोलनमा मरेका भनेर परिवारलाई राहत वा क्षतिपूर्तिका नाममा रकम दिएको छ,’ उनले भने, ‘त्यै राज्य मरेपछि पनि पक्राउ पुर्जी लिएर घरमा धरपकड गर्न आउँछ ।’ प्रहरीले भने धनमाया र उनको परिवारलाई धरपकड नभएर अदालतको फैसला कार्यान्वयनका लागि घरमा पुगेको जनाएको छ । प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेलले अदालतले फैसला कार्यान्यवनका लागि पठाएको पत्रअनुसार धनमायाको घरमा प्रहरी पुगेको बताए ।

प्रकाशित : पुस ३०, २०७९ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्

डस्टी कार्गो आयात झन्झटिलो

भारतीय पक्षले प्रतिबद्धताअनुसार सुविधा नदिएको र रुट अपायक भएको आयातकर्ताको गुनासो
शंकर आचार्य

पर्सा — भारतीय पक्षले प्रतिबद्धताअनुसार सेवासुविधा नदिँदा एकीकृत सुरक्षा जाँचचौकी (आईसीपी) नाकाबाट डस्टी कार्गो आयात झन्झटिलो बनेको छ । साबिकको वीरगन्ज भन्सार नाकाको बाटोको साटो भारतीय आईसीपी हुँदै नेपाली आईसीपीतर्फ डस्टी कार्गो आयात हुन थालेको हो । तर, यो रुट अपायक तथा झन्झटिलो भएको आयातकर्ताले गुनासो गरेका छन् ।

मोनालिसा इन्टरनेसनलका निर्देशक माधव राजपालले रक्सौल रेलवे स्टेसनमा डस्टी कार्गो टिपरमा लोड गरेर त्यहाँबाट ७ सय ५० मिटर बाटो छिचोलेर भारतीय आईसीपी पुग्ने सडकमा आउन समस्या रहेको बताए । ‘साँघुरो र भीडभाडयुक्त ७ सय ५० मिटर बाटो छिचोलेर आईसीपी सडकको पहुँचमा पुग्न मालवाहक टिपरलाई सकस छ,’ उनले भने, ‘भारतीय पक्षले यो बाटोको भीडभाड हटाउने प्रतिबद्धता जनाएको थियो, तर त्यसो गरिएन ।’ त्यहाँबाट सोझै भारतीय आईसीपीमा प्रवेशको सुविधा पनि नपाएको उनले गुनासो गरे ।

‘यसअघि भारतीय पक्षले रक्सौल रेलवे स्टेसनबाट सोझै भारतीय आईसीपीमा प्रवेशको सुविधा दिने प्रतिबद्धता जनाएको थियो,’ उनले भने, ‘त्यसका लागि भारतीय आईसीपीमा नेपाली डस्टी कार्गो बोकेका सवारीलाई १० नम्बर गेट खुला गर्ने प्रतिबद्धता जनाएको थियो, तर त्यसो भएन, हाम्रो टिपर अन्य मालवाहक ट्रक तथा लरीसँगै घण्टौं जाममा बस्नुपर्छ ।’ आयातमै ढिलाइ हुँदा २ दिनको टिपरको भाडा, चालक र लामो रुटको भाडासमेत बढी तिर्नुपरेको उनले गुनासो गरे ।

एउटा रेलवे र्‍याकमा १ सय ७० देखि २ सय टिपर डस्टी कार्गो हुने गरेको र विगतमा यसरी एक रेलवे र्‍याक डस्टी कार्गो ढुवानी गरेर रक्सौलबाट वीरगन्जसम्म ल्याउन ३६ घण्टा लाग्ने गरेको थियो । अहिले ५ देखि ६ दिनसम्म लागिरहेको राजपालले गुनासो गरे । अर्का आयातकर्ता प्लाटिनम मार्केटिङका व्यवस्थापक रजनिश करनानीले भारतीय आईसीपीले पार्किङ चार्ज र जीएसटी शुल्क पनि लिने गरेको गुनासो गरे । यो शुल्क नेपाली आयातकर्तासँग भारतीय पक्षले लिन नमिल्ने उनको तर्क छ । यस्तै अवस्था भए भैरहवा र विराटनगर नाकाबाट आयात हुन सक्ने सम्भावना रहेको पनि उनले बताए ।

भारत सरकारको बिहार राज्यको राजधानी पटनास्थित प्रिन्सिपल कमिस्नरको कार्यालयका प्रिन्सिपल कमिस्नर प्रदीपकुमार कटियारले करिब ४ महिनाअघि सूचना जारी गरी रक्सौलबाट भारतीय आईसीपीसम्म आउने बाटो पूर्णरूपमा सञ्चालनमा आइसकेको जनाएका थिए । त्यसैले रक्सौलबाट निर्यात हुँदै आएको डस्टी कार्गो पनि असोज ३० देखि आईसीपीबाट मात्रै गर्न आदेश दिएका थिए । तर नेपाली आयातकर्ताले साँघुरो सडकको कारण देखाउँदै साबिककै नाकाबाट डस्टी कार्गो आयात गरिरहेका थिए । तर, भारतले दबाब दिएपछि आईसीपीबाट आयात र त्यहाँ तेस्रो मुलुकका पर्यटकका लागि यात्रु शाखा सञ्चालन गरिएको हो ।

यही जनवरी ८ देखि आईसीपीबाट डस्टी कार्गो भित्रिन थालेको हो । शनिबारसम्म डस्टी कार्गो बोकेका ३ सय १७ टिपर नेपाल भित्रिएको इन्टर मोडल यातायात विकास समितिका अपरेसन इन्चार्ज जितेन्द्र रसाइलीले जानकारी दिए, जसमा कोइला बोकेका १ सय ७६ र युरिया मल बोकेका १ सय ४१ वटा टिपर छन् । यसअघि भारतबाट डस्टी कार्गो बोकेका दैनिक १ सय ७० देखि २ सय टिपरसम्म भित्रिने गरेका थिए । भारतीय रेलवेबाट अनलोड गरी टिपरमा कोइला, स्ल्याग, नुन, मल, जिप्सम, आइरन धूलो र फलाम वीरगन्जसम्म ल्याउने गरिन्छ ।

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक कन्सुलरले नेपाली पक्षको सहमतिमै आईसीपीबाट आयात भएको बताए । ‘नेपाल र भारत दुवैतर्फ सुविधासम्पन्न आईसीपी निर्माण भएर सञ्चालनमा आएको पनि झन्डै ५ वर्ष बित्यो,’ ती कन्सुलरले भने, ‘आयात निर्यात व्यापार सहज बनाउन भारत सरकारले ठूलो रकम लगानी गरेर आईसीपी निर्माण गरेको हो, त्यसको सदुपयोग नै हुँदैन भने निर्माण गरेको के नै अर्थ भयो र ?’ उनले भारत सरकार वा भारतीय महावाणिज्य दूतावासलाई यसबाट कुनै लाभ नभएको बरु आईसीपी नाकाबाट डस्टी कार्गो भित्रिँदा वीरगन्ज भन्सारको बाटोमा प्रदूषण नियन्त्रण र ट्राफिक जामको समस्या पनि समाधान भएको दाबी गरे ।

प्रकाशित : पुस ३०, २०७९ २१:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×