सेनाको एकीकरण मार्ग पदयात्रा नुवाकोटबाट काठमाडौंका लागि प्रस्थान- वाग्मती - कान्तिपुर समाचार

सेनाको एकीकरण मार्ग पदयात्रा नुवाकोटबाट काठमाडौंका लागि प्रस्थान

कृष्ण थापा

नुवाकोट — नेपाली सेना एकीकरण दीपज्योतिसहित सातदिने एकीकरण मार्ग पदयात्राको चौथो दिन आइतबार पुरानो सदरमुकाम नुवाकोटबाट काठमाडौंका लागि प्रस्थान गरेको छ ।

विदुर नगरपालिका-२ स्थित नुवाकोट पुरानो सदरमुकाम साततले दरबार नजिकै रहेको भैरवी मन्दिरको प्रांगणमा विदुर नगरपालिका-२ ले स्वागत कार्यक्रम राखेको थियो । पदयात्रामा पृथ्वीनारायण शाहको जन्मोत्सवको अवसरमा तत्कालीन फौजले नेपाल एकीकरणको क्रममा प्रयोग गरेका पोसाक, हातहतियारबाट सुसज्जित भई नेपालको झन्डासहित त्यस बेलाका ५ वटा पल्टन र एकीकरण दीपज्योति साथ लिई प्रदर्शन गरेको थियो ।

सेनाको टोलीलाई स्थानीय, जनप्रतिनिधि, पूर्वसैनिक, राष्ट्रिय सेवा दलका क्याडेट, बुद्धिजीवीले स्वागत गरेका थिए । साथै नुवाकोटमा ६ नम्बर बाहिनीपति र जबरजंग गणका गणपतिको पनि उपस्थिति थियो ।


३०१ औंं पृथ्वी जयन्तीको अवसरमा चार वर्षदेखि नेपाली सेनाले एकीकरण मार्ग पदयात्रा गर्दै आएको छ । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाह र उनका गोर्खाली सेनाद्वारा विजय अभियानका लागि प्रयोग भएका पदमार्गलाई प्रयोग गरेर नेपाली सेनाले २०७६ सालदेखि एकीकरण दीपज्योतिसहित पदयात्रा गर्दै आएको हो ।

यही पुस २१ गतेबाट गोरखाबाट सुरु भएको यस पटकको पदयात्रा आइतबार बिहान नुवाकोट आइपुगेको छ । । आइतबार साँझ चतुराले, सोमबार ककनी हुँदै मंगलबार नुवाकोट र काठमाडौंको सिमानाको कालीध्वज गणलाई दीपज्योति हस्तान्तरण गर्ने कार्यतालिका छ ।

पदयात्रा यही पुस २७ गते जंगीअड्डामा आयोजना हुने ३०१ औं पृथ्वी जयन्तीको विशेष समारोहबीच समापन गर्ने कार्यक्रम छ ।

प्रकाशित : पुस २४, २०७९ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्

गठबन्धन बचाउन नसक्नुमा पाँचवटै दल जिम्मेवार : नेता केसी

कृष्ण थापा

नुवाकोट — नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले गठबन्धन बचाउन नसक्नु पाँच वटा दल उत्तिकै जिम्मेवार रहेको बताएका छन् । देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको पाँचौ साधारणसभामा शुक्रबार बोल्दै नेता केसीले भने,‘यो गठबन्धनलाई सँगै लिएर जान्छु भन्ने पाँचै वटा दल त्यत्तिकै जिम्मेवार छन् । गठबन्धनलाई बचाउन नसक्नु भनेको नेतृत्व गर्ने पक्ष हाम्रो कमजोरी हो ।’ 

नेता केसीले नेतृत्व तहले समयमा कुरा नबुझेर चुकेको बताए । उनले भने,‘समयमा कुरा नबुझेर चुकिसकेको छ । चुकिसकेपछि अहिले गएर अलमल, गोलमाल गर्नुभन्दा समय आउँदै गरोस् हेरौं।’ उनले यो सरकारको गुण र दोषको आधारमा सशक्त प्रतिपक्षको रुपमा उभिने बताए । उनले भने,‘रचनात्मक लोकतान्त्रिक प्रतिपक्षको रुपमा राम्रो कुरालाई सहयोग गर्ने र जनहितविपरीतका कुराको विरोध गर्छौं र जनताको बीचमा पुर्‍याउँछौं ।’

नेता केसीले सत्तामा नजाँदैमा नेपाली कांग्रेसले शक्ति नगुमाउने बताए । ‘त्यो शक्ति भनेको नेपाली जनता हो,’उनले भने,‘त्यो शक्ति भएकाले हामी हामी भएका हौं । त्यो शक्तिलाई कसरी सशक्त बनाउन सकिन्छ भन्नेमा हामी लाग्नु पर्छ,’।

उनले बुबाआमालाई वृद्धाश्रमसम्म पठाउन तथा जान बाध्य पार्नु नराम्रो पक्ष भएको बताए । उनले प्रतिष्ठानलाई हरतरहबाट सम्पूर्ण सहयोग रहने आश्वासन दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सीता मिजारले प्रतिष्ठानमा आश्रय लिँदै आएका जेष्ठ नागरिकलाई आगामी दिनमा पालनपोषण, हेरचाह, स्वास्थ्योपचार लगायतमा राज्यका निकायदेखि जनप्रतिनिधि र सन्तति सबैको जिम्मेवारी हुनुपर्ने बताइन् ।

कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठ, बेलकोटगढीका नगरप्रमुख जगतबहादुर गुरुङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीलगायतले प्रतिष्ठान गर्दै आएका कामको प्रशंसा गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष बिन्दा अर्यालको आर्थिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा निर्वाचित संघीय तथा प्रदेश सांसदलाई सम्मान र प्रतिष्ठान संचालनका लागि सहयोग गर्ने आजीवन सदस्य, विशेष सदस्यसहित सहयोगी दाताहरुलाई दोसल्ला ओडाएर प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रकाशित : पुस २२, २०७९ २१:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×