२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

७ वर्षदेखि टहरामै

अनिश तिवारी

सिन्धुपाल्चोक — २०७२ वैशाखको भूकम्पले घरै ध्वस्त बनायो । पीडितको सूचीमा नाम नअटाएपछि उनी अनुदान छुटेको गुनासो गर्दै पहिलो किस्ता आउने आसमा वडादेखि नगरपालिकामा बारम्बार धाइरहिन् । जनप्रतिनिधिलाई गुहारिन् । केहीले रकम आउने आश्वासन पनि दिए ।

७ वर्षदेखि टहरामै

पीडित सूचीमा नाम नअटाएको निश्चित भएपछि बाह्रबिसे नगरपालिका–९ मानेडाँडाकी ४३ वर्षकी सरिता नेपालीको घर बनाउने सपना अधुरै रह्यो । त्यसयताका ७ वर्ष उनको परिवार घामपानीले प्वाल पारिसकेको जस्तापाताले छाएको र बारेको टहरामा बस्दै आएको छ ।

‘भूकम्पपछि हामीले ठूलो बर्बादी सहनुपर्‍यो । घर ढलेपछि बचेखुचेको यही बारीमात्रै हो । यसमा जति मिहिनेत गरे पनि छाक टार्न मुस्किल पर्छ । घर बनाउनु धेरै ठूलो कुरा भइहाल्यो,’ उनले भनिन् । कमजोर आर्थिक अवस्थाका कारण घर बनाउन नसकेपछि उनको परिवार मेलापात, मजदूरी गरेर रकम जुटाउने प्रयासमा छ । २ छोरीलाई पढाएर आत्मनिर्भर बनाउने सपना पूरा गर्न पनि सरिता दिनहुँ श्रम गरिरहेकी छन् ।

बाह्रबिसे नगर प्रमुखले आवास निर्माण गर्न व्यक्तिगत रूपमा १५ हजार रुपैयाँ सहयोग गरेका छन् । यति रकमले घर नबन्ने भएपछि सबैतिर हारगुहार मागिरहेको उनको भनाइ छ ।

यस्तै, बाह्रबिसे बजारकै तुलसी श्रेष्ठलाई टहराकै बासका कारण दम र खोकीको समस्याले च्यापिरहन्छ । चिसोले गर्दा मुटुमा समस्या देखिएपछि बेलाबेलामा बेहोस भएर ढल्ने गरेको उनले सुनाए । भूकम्पपछि घर भत्किएर बस्नै नमिल्ने भयो । त्यसपछि तुलसी बजारछेउमा अरूकै जग्गामा टहरो बनाएर बसेको पनि ७ वर्ष भइसकेको छ । आफू निःसन्तान भएकाले आहिले यस्तो अवस्था आएको उनको तर्क छ । ‘वृद्ध भइयो । आफूसँग पैसा छैन । पीडितको सूचीमा नाम पनि अटाएन । यो दुनियाँमा हाम्रो पक्षमा बोलिदिने कोही भएनन् । टहरामै काल कुरिरहेको छु,’ उनले भने ।

तुलसीको जस्तै दुःख सहनेमा बाह्रबिसे–३ धार्पा यार्सा गाउँका चिन्ताबहादुर तामाङ पनि पर्छन् । ‘टहराले वर्षा थेग्दैन । तर, यसैमा भिज्दै रातदिन गुर्जानुपर्छ । अरू विकल्प पनि छैन,’ उनले भने । ०५९ सालको सुरुमै एक्कासि पेट सुन्निएपछि उनी मेडिकल धाए । धामीझाँक्रीदेखि काठमाडौं पुगेर पनि उपचार गराए । मुटुको भल्भ काम नलाग्ने भएको डाक्टरले सुनाएपछि उपचारमा भए–बचेको सबै खर्चिए । ‘सबै सम्पत्ति बेचेर र अरूको पनि सहयोग लिएर बल्लतल्ल उपचार गरियो, न्यानो घर त कहाँबाट बनाउनु ? अहिले अरूको जग्गामा थोत्रो टहरामा जीवन गुजार्नुपरेको छ,’ उनले भने ।

भूकम्पले घर भत्केपछि अहिलेसम्म पनि पीडितको सूचीमा नाम नरहने र घर बनाउन सरकारबाट अनुदान नपाउनेको संख्यामा यतिमै सीमित छैन । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान तथा पूर्वाधार) का अनुसार जिल्लाभर जोखिम वर्गका लाभग्राही सूचीमा रहेका पीडितको संख्या १ हजार २ सय ८१ छ । जसमध्ये टहरामा बस्ने पीडितको दैनिकी निकै कष्टकर बित्ने गरेको छ । बर्खामा पानी र हिउँदमा चिसोले कठ्यांग्रिनु उनीहरूका लागि आम भइसकेको छ । तर, राज्यले उनीहरूको पीडा अझै सुनेको छैन । अहिले जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान तथा पूर्वाधार) को जिम्मा सघन सहरी तथा भवन निर्माण आयोजनाले लिएको छ । आयोजनाको मन्थली शाखाका इन्जिनियर कृष्ण ज्ञवालीका अनुसार सिन्धुपाल्चोकका ९१ हजार लाभग्राहीमध्ये ९५ प्रतिशतले अनुदान लिएर घर उभ्याइसकेका छन् ।

‘केही छुटपुट भएका पीडितको हकमा समस्या देखिएको छ, यसबारे सबै सरोकारवालाहरूले गम्भीर हुनुपर्ने देखिन्छ ।’ त्यतिबेला तत्कालका लागि अस्थायी समाधान खोजिए पनि दीर्घकालीन सुरक्षित आवासको योजना बनाइरहेको जिल्लाका जनप्रतिनिधिले बताउने गरेका छन् । जाडो बढ्न थालेपछि केही स्थानीय सरकार भूकम्प पीडितको स्वास्थ्य परीक्षण अभियान सुरु गर्ने तरखरमा छन् ।

प्रकाशित : पुस १८, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?