कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

ह्विलचियरमै शपथ

प्रताप विष्ट

हेटौंडा — खरानी रङको कोट, कालो पाइन्ट अनि खैरो जुत्ता लगाएकी युवती ह्विलचियरमा थिइन् । पछाडिबाट एक युवकले ह्विलचियर धकेल्दै उनलाई वाग्मती प्रदेशसभा भवनभित्र पुर्‍याए । काखमा हरियो झोला बोकेकी उनी रामेछापको गोकुलगंगा गाउँपालिका–४ की २८ वर्षीया लक्ष्मी घिमिरे थिइन् । बिहीबार प्रदेशसभा छिर्दै गर्दा उनी प्रसन्न मुद्रामा देखिन्थिन्, कारण केही समयमै उनी प्रदेश सांसदको शपथ लिँदै थिइन् ।

ह्विलचियरमै शपथ

प्रदेशसभा भवनमा पुगेपछि अरु सबै सांसदहरू लहरै कुर्सीमा बसे । केहीबेरपछि शपथ लिन उभिए पनि । तर, लक्ष्मी ह्विलचियरमै बसिरहिन् र सांसदको रूपमा आफ्नो प्रतिज्ञा लिइन् । २०६६ असोजमा भीरबाट लडेपछि उनी मेरुदण्डमा पक्षाघात भएर उठ्न र हिँड्न सक्दिनन् । त्यसयता उनलाई आफ्नो नित्यकर्मका लागि पनि सहयोगी चाहिन्छ । सेनामा जागिर खाने उनको सपना उक्त घटनापछि टुट्यो । तर, सांसद बन्नेसम्मको यात्रा कसरी मोडियो त ? घिमिरे भन्छिन्, ‘प्लस–टु सकेर सेनामा लेफ्टिनेन्टको तयारी गरिरहेकी थिएँ । उक्त दुर्घटनापछि सपनाले पनि मोड लियो । अध्ययनका लागि राजधानी आएँ । अपांगता भएकाहरूको माग सम्बोधन गर्न संघर्षमा होमिएँ । यसकै बलमा आज यहाँ छु ।’

उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिकबाट प्रदेश सांसद बनेकी हुन् । सैनिक बन्न नपाए पनि सांसद भएर शपथग्रहण गर्न पाउँदा खुसी लागेको उनले सुनाइन् । ‘एक दिन सांसद हुन्छु भन्ने थियो तर अहिले नै भन्ने लागेको थिएन,’ उनले थपिन्, ‘सांसदको रूपमा धेरैले मबाट अपेक्षा गर्नुभएको छ, अब त्यही अपेक्षा पूरा गर्नुछ । शपथ लिएपछि थप जिम्मेवारी बोध भएको छ ।’

उनी राप्रपा प्रवेश गर्नुअघि विवेकशील साझा पार्टीमा थिइन् । पार्टीको केन्द्रीय कार्यालयमा रहेर उनले लामै समय काम गरिन् । पछि रवीन्द्र मिश्रसँगै उनी पनि राप्रपा प्रवेश गरेकी थिइन् । व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण उनी ह्विलचेयर बास्केटबल खेलाडीसमेत हुन् ।

अपांगता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, व्यवसायलगायत क्षेत्रमा सहजीकरण र सुधार गर्नु सांसदको रूपमा सदनमा उठाउने आफ्नो मुख्य एजेन्डा भएको उनले बताइन् । ‘पार्टीले उठाएका एजेन्डा त हाम्रो टिमले नै उठाउने कुरा हो,’ उनले भनिन्, ‘तर सँगसँगै म सदनमा अपांगता भएका व्यक्तिको पनि प्रतिनिधित्व गर्दै छु । मजस्ता सयौंका लागि केन्द्रित भएर काम गर्नुपर्ने हुन्छ । उहाँहरूको आवाज बन्ने प्रयास पक्कै गर्नेछु ।’

वाग्मती प्रदेशसभामा १ सय १० सदस्य छन् । जसमध्ये अपांगता भएको उनी एक मात्र हुन् । प्रदेशसभा भवन अपांगतामैत्री भए पनि भित्र बस्नको निम्ति समस्या भएको उनले गुनासो गरिन् । ‘संसद् भवन त अपांगतामैत्री बनाइएको रहेछ तर कुर्सीलगायतका संरचना सोअनुसार छैनन्,’ उनले भनिन्, ‘संसद् सचिवालयले पक्कै यसमा विचार गर्ला ।’

सभाहलमा बस्ने व्यवस्था पनि अपांगतामैत्री बनाउनेगरी काम भइरहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए । ‘केही दिनमा उक्त व्यवस्था हुनेछ,’ उनले भने ।

प्रकाशित : पुस १५, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?