

भक्तपुर — यसअघि छोराछोरीको पढाइ बुझ्न आउने अभिभावक बुधबार हातमा फूल, खादा, माला बोकेर सुकसुकाउँदै विद्यालय हाता प्रवेश गरिरहेका थिए । विद्यार्थी विद्यालयको बरन्डामा बसेर रोइरहेका थिए । शिक्षक आफैं सम्हालिन सकेका थिएनन् ।

विद्यालय प्रांगणमा उपस्थित स्थानीय, शिक्षासेवी, राजनीतिज्ञ, जनप्रतिनिधिलगायत व्यक्तित्व एकले अर्कालाई सम्हाल्ने अवस्थामा नै थिएनन् ।
यो दृश्य भक्तपुर नगरपालिका–३ तेखापुखुमा अवस्थित मेधा माध्यमिक विद्यालयका प्रधानाध्यापक गंगाधर हाडाको हृदयाघातबाट निधन भएपछि श्रद्धाञ्जलीसभाको हो । हाडाको निधनले भक्तपुरवासीले शिक्षाको मियो ढलेको महसुस गरेका छन् ।
‘शिक्षा क्षेत्रको एक धरोहरलाई गुमायौं,’ विद्यालयका व्यवस्थापन समितिका पूर्वसदस्य रामेश्वर भुजूले भने । हाडाको सोमबार बिहान विद्यालय जाने क्रममा हृदयाघातका कारण बाटोमै निधन भएको हो । ‘बिहान विद्यालय जाने क्रममा गाह्रो महसुस भएछ र मोटरसाइकल रोकेर पानी किनेर खान खोज्दाखोज्दै ढल्नुभएछ,’ नेपाल शिक्षक संघ भक्तपुरका उपाध्यक्ष एवं गंगाधरका भाइ रामले भने, ‘भक्तपुर अस्पताल पुर्याउँदा उहाँको निधन भइसकेको थियो ।’
हाडा २०६१ फागुन ५ मा साविक कन्या माध्यमिक विद्यालय (हालको मेधा मावि) मा शिक्षकका रूपमा प्रवेश गर्दा विद्यार्थी संख्या ८० थियो । एसएलसी परीक्षामा त्यो वर्ष सबै विद्यार्थी फेल भएका थिए । त्यसअघि पनि एसएलसीको नतिजा निल थियो । कक्षा १, २, ३ मा जम्मा ४ जना विद्यार्थी थिए ।
‘पटक–पटक निल भएपछि त्यो वर्ष पनि विद्यार्थी अनुत्तीर्ण भए निमाविमा झार्ने पत्र प्राप्त भइसकेको थियो,’ भुजूले भने, ‘हाडा सर आउनुभएपछि विद्यार्थी बढ्यो, नतिजामा सुधार भयो । त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।’
अंग्रेजी शिक्षक उनलाई तत्कालै सहायक प्रधानाध्यापक बनाइएको थियो । उनैको मिहिनेत, शिक्षकको समन्वय र सहकार्यले यो विद्यालय जिल्लामै उदाहरणीय बनेको छ । जिल्लाका सामुदायिक मात्र नभई संस्थागत विद्यालयको प्रतिस्पर्धी मानिएको उक्त माविले एक दशकयता एसएलसी/एसईई परीक्षामा शतप्रतिशत उत्तीर्ण गराउँदै आएको छ । नयाँ शैक्षिक सत्रमा मेधामा विद्यार्थी भर्ना गराउन चाहनेको चाप प्रत्येक वर्ष बढ्दो छ ।
‘उहाँको जीवन शिक्षा सुधारमै बित्यो,’ भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले भनिन्, ‘मेधालाई मेधावी बनाएर देशकै उत्कृष्ट विद्यालयका रूपमा चिनाउने काम उहाँले गर्नुभयो ।’ २०२३ कात्तिक ७ मा जन्मिएका हाडा नेपाल शिक्षक महासंघ भक्तपुरका पूर्वअध्यक्ष र नेपाल शिक्षक संघ भक्तपुरका निवर्तमान अध्यक्षसमेत थिए ।
‘घरपरिवारलाई भन्दा बढी समय विद्यालय र विद्यार्थीलाई दिने उहाँले सामुदायिक विद्यालय सुधारका लागि सधैं लड्नुभयो,’ विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य बाबुराजा जोशीले भने, ‘उहाँको सम्मान तथा शिक्षकको प्रेरणाका लागि प्रतिष्ठान खोल्न आवश्यक छ ।’
बुधबार सयौंको संख्यामा उपस्थित विद्यार्थी, अभिभावक, स्थानीय, अन्य विद्यालयका शिक्षक, जनप्रतिनिधि, राजनीतिज्ञ, शिक्षासेवीले उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रकाशित : पुस १४, २०७९ ०८:०७