१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खैंजडी भजनमा छमछमी नाचे मन्त्री बडू

सिन्धुली — लोपोन्मुख मौलिक खैंजडी भजनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू छमछमी लय मिलाएर नाचे । सिन्धुलीमाडीमा सुरु भएको सिन्धुली महोत्सवको शुक्रबार उद्घाटन गर्दै मन्त्री बडू स्थानीय कलाकारहरुसँगै खैंजडी भजनमा नाचेका हुन् ।

खैंजडी भजनमा छमछमी नाचे मन्त्री बडू

स्थानीय कलाघरका युवा कलाकारहरुसँग मन्त्री बडूले लयमा लय मिलाएर लोपोन्मुख खैंजडी भजनमा नाचेका हुन् । मन्त्री बडूलाई संघीय सांसद श्याम घिमिरे र लेखनाथ दाहालले साथ दिएका थिए । खैंजडी भजन विशेषगरी सप्ताहपुराणमा प्रस्तुत गरिन्छ । पुरुषहरुले मात्र खैंजडी भजन प्रस्तुत गरेर मनोरञ्जन दिने गरेकोमा यतिखेर महिला युवा कलाकारहरुले गरेको प्रस्तुतीलाई दर्शकदीर्घाले निकै रुचाएका थिए । ‘कृषि उद्योग र पर्यटनमा अभिवृद्धि गरौं, समृद्धि र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौं’ भन्ने नारा सहित छैठौं सिन्धुली महोत्सव–२०७९ सुरु भएको छ ।

यस क्रममा मन्त्री बडूले ग्रामीण तहदेखि नै औद्योगिकग्राम स्थापना सरकारको लक्ष्य रहेको बताए । ‘अहिले मुलुकमा खासगरी ग्रामीण तहदेखि नै उद्योगहरु र उद्यमशिलताको स्थापना अहिलेको सरकारको लक्ष्य छ,’ उनले भने, ‘अहिले ७५३ वटै स्थानीय तहमा औद्योगिक ग्रामहरुको स्थापनाको लक्ष्य छ । १०५ वटा घोषणा भइसकेका छन् । यो वर्ष ३० वटा ग्रामीण औद्योगिक ग्रामहरु स्थापना हुँदैछन् ।’ औद्योगिक ग्राम स्थापनाले मुलुक आत्मनिर्भर हुने र त्यसको लागि सरकारले तीनकरोड खर्च गर्ने उनको भनाइ थियो ।

मन्त्री बडूले औद्योगिक क्षेत्र पूर्ण क्षमतामा चल्न जरुरी रहेको बताए । औद्योगिक क्षेत्रहरु जुन चलि रहेका छन, जुन उद्योगहरु निजी क्षेत्रले नै चलिरहेका छन् । ती पनि पूर्ण क्षमतामा चलिरहेका छैनन्,’ उनले भने ‘मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सरकारको आफ्नो योजना रहेको छ । निजी क्षेत्रको सहभागितासहित मुलुकको समृद्धि र उत्पादन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजकताका साथ अगाडि बढिरहेको उनले बताए ।


कार्यक्रममा मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सुनकोसी मरिण डाइभर्सन निर्माणले मधेसको विकासमा ठूलो सहयोग पुगेको चर्चा गर्दै उक्त आयोजना निर्माणले मधेस प्रदेशको जमिनमा सिञ्चाइ सुविधा पुगी खाद्यान्न उत्पादन बढ्ने बताए । सांसद श्यामकुमार घिमिरेले जबसम्म उद्योग र व्यवसायको विकास हुँदैन तबसम्म देशको पनि विकास नहुने बताए । कार्यक्रममा सांसद लेखनाथ दाहालले सिन्धुली महोत्सवले सबैमा उत्साह भर्नुपर्ने उल्लेख गर्दै महोत्सव उत्पादन र रोजगारसँग जोडिनु पर्ने बताए । महोत्सव आयोजक मूल समारोह समितिका संयोजक तथा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठले महोत्सवबाट उठेको रकमले शक्तिशाली दमकल खरिद गरी आगलागीका घटना न्यूनिकरणमा योगदान दिनु महोत्सवको मुख्य उद्देश्य रहेको बताए ।

पुस ८ गतेदेखि १८ गतेसम्म चल्ने छैठौं सिन्धुली महोत्सवले जिल्लाको कृषि, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, स्थानीय व्यापार, उद्योगको विकास, मौलिक उत्पादन, स्थानीय परम्परागत सीप, कला र संस्कृति तथा लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सहयोग पुग्ने बताइएको छ।

उक्त महोत्सव उद्घाटन सहारोहमा वाग्मती प्रदेश सांसद छेत्रबहादुर बम्जन, सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा, एमालेका जिल्ला अध्यक्ष कुमारबहादुर कार्की, सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डीराज ढकाल लगायत वक्ताले महोत्सव सफलताको कामना गरेका थिए । महोत्सवमा कृषि, पशु, घरेलु उद्योग, लघु उद्यम, पर्यटन आदिसँग सम्बन्धित ३५० वटा स्टल प्रदर्शनीमा राखिएको र करिब पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।

कार्यक्रमको आयोजक कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले भारतसँग नजिक रहेको सिन्धुलीमा उद्योग स्थापना गरी निर्याततर्फ लाग्नुपर्ने खाँचो औंल्याए । महोत्सवका लागि विभिन्न जाति तथा कलाकारहरुले सदरमुकाममा आआफ्नो परम्परागत पहिरन तथा कला प्रदर्शन गरेका थिए ।


प्रकाशित : पुस ८, २०७९ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?