झारफुकको बहानामा जब तातो तेल खन्याइयो- वाग्मती - कान्तिपुर समाचार

झारफुकको बहानामा जब तातो तेल खन्याइयो

शरीरको १८ प्रतिशत भाग जल्यो 
अनुहार, मुख, छाती, ढाड, हातखुट्टामा चोट र दाग
लिला श्रेष्ठ

काठमाडौँ — सुनसरी बराहक्षेत्र नगरपालिका–६ कालाबन्जराकी रूपा राई ६ महिनाअघिदेखि खान मन नलाग्ने, निद्रा नलाग्ने, काप्ने, बर्बराउने, छटपटाउने समस्याले अस्वस्थ भइन् । धरान र विराटनगरका स्वास्थ्य संस्थामा जाँच गराउँदा कुनै रोग पत्ता लागेन । ‘अस्पतालका चिकित्सकले नै घरको देउता/पितृ बुझाउनुस् भने,’ रूपाले भनिन्, ‘घरमा दिनहुँ पूजाआजा गर्‍यौं, धामी बोलायौं, केही समयका लागि समस्या समाधान भए पनि निको भएन ।’ 


आफन्तहरूले स्वास्थ्य समस्याबारे जानकारी लिए । रूपाकी दिदीकी छोरी संगम राईलाई एक ‘माता’ ले सन्चो तुल्याएकोबारे कुरा भयो । माता दाबी गर्ने ती हुन्, अर्घाखाँची शीतगंगा नगरपालिका–२ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–८ जरंखु बस्ने १९ वर्षीया सचिना सारु मगर । अस्पतालले निको पार्न नसकेको रोग सन्चो बनाउने, देउता उतार्ने उनको ‘महिमा’ सुनेपछि फेसबुकमा भिडियो कुराकानी गरी रूपा सुनसरीबाट मंसिर २१ गते तारकेश्वर आइपुगिन् ।

‘भिडियोमा कुराकानी हुँदा रोग निको पार्छु भनेपछि छोराछोरी आफन्तलाई जिम्मा लगाएर झारफुककै लागि काठमाडौं आएँ,’ रूपाले सुनाइन्, ‘सुरुका दुई दिन साँझबिहान झारफुक भयो, अर्को दिन मातालाई महिनावारी भएपछि सात दिन झारफुक नहुने भयो । त्यसपछि मलाई महिनावारी भयो ।’ पुस २ गते झारफुककै लागि रूपा माता भनिने सचिनाको कोठामा पुगिन् । ‘जोखना हेर्दै मलाई सेतीदेवी, नागदेवी भन्दै अक्षता र अगरबत्तीले हान्न थालिन्, त्यतिबेलै अर्धचेतमा पुगिसकेकी थिएँ, त्यत्तिकैमा मैले भोलेबाबा भनेछु,’ रूपाले भनिन्, ‘भोलेबाबा हो भने मभन्दा शक्तिशाली हुनुहुँदो रैछ, म गुरु मान्छु भन्न थालिन् । म तपाईंलाई उपचार गर्न सक्दिनँ, इन्डियामा गुरु हुनुहुन्छ कुरा गर्छु भन्न थालिन् ।’ त्यसपछि भारतमा कुनै व्यक्तिसँग भिडियोमा कुरा गरेपछि आफ्नो मुखमा कपडाले बाँधेर बोल्न नदिई यातना दिएको रूपाको भनाइ छ ।

यसअघि दिदीकी छोरी संगम र अरू चार जनालाई पनि हात बाँधेर लडाउने, घाँटीमा न्याक्ने, शरीरमा तातो पन्युँले डाम्ने, तातो तेल र तातो पानी खन्याउने गरेको रूपाले बताइन् । ‘मुखभित्र तातो तेल खन्याएर जिब्रो पिल्स्याउँछु भनेपछि झन् आत्तिएँ, मुख बन्द गरें तर तातो तेल खन्याउन छाडिनन्,’ उनले भनिन्, ‘टाउकाबाटै तातो पानी खन्याउन थालिन्, तातो पानीले नपोलेको भन्दै तेल तताएर खन्याइन् ।’ आफ्नो छाती, ढाड, हातखुट्टामा पन्युँ तताएर डामेको उनको भनाइ छ । अहिले रूपाको अनुहार, मुख, छाती, ढाड, हातखुट्टालगायतमा गहिरो चोट र दाग देख्न सकिन्छ भने एउटा दाँत भाँचिएको र अर्को हल्लिएको छ ।

झारफुकको बहानामा ‘माता’ बाट शारीरिक यातना पाएकी ३३ वर्षीया रूपा हाल नेपाल प्रहरी अस्पताल महाराजगन्जको सर्जिकल वार्डमा उपचाररत छिन् । ‘शरीरका विभिन्न अंगमा तातो तेल/पानी खन्याउने, तातो पन्युँले डाम्ने, त्रिशूलले घोचेर अचेत भएपछि छाडेछन्, भोलिपल्ट मात्र अस्पताल ल्याएका हौं,’ रूपाका श्रीमान् दिकमान राईले भने, ‘मोबाइलसमेत कब्जामा लिएर परिवारसँग सम्पर्क गर्नसमेत दिइएन ।’ घटनाका बेला उनी पर्सामा थिए । श्रीमतीमाथि मरणासन्न हुने गरी यातना दिएको थाहा पाएर शनिबार राति उनी काठमाडौं आएका हुन् । चिकित्सकका अनुसार रूपाको शरीरको १८ प्रतिशत भाग जलेको छ । शुक्रबार उनको शल्यक्रिया हुने र थप दुई साता अस्पताल बस्नुपर्ने अस्पतालले जनाएको छ ।

यसैबीच, झारफुक गर्ने बहानामा तातो पन्युँले डाम्ने, तातो तेल र पानी खन्याई घाइते बनाउने कार्यमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माता भनिने १९ वर्षीया सचिना सारु मगर, सहयोगीहरू उदयपुर रौतामाई गाउँपालिका घर भई तारकेश्वर बस्ने २६ वर्षीय पदमबहादुर मगर, २६ वर्षीया संगम राई, १८ वर्षीय सागर मगर र चितवन, नारायणघाट घर भई तारकेश्वर बस्ने १८ वर्षीय अजित तामाङ छन् । उनीहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१४ को कुटपिट वा अंगभंगसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई वृत्त बालाजुबाट अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

प्रकाशित : पुस ८, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

पानी चुनावी एजेन्डा, धाराबाट थोपा खस्दैन

लिला श्रेष्ठ

भक्तपुर — चाँगुनारायण नगरपालिका–४ खोरियाका शान्ति तामाङको घरमा तीनवटा धारा जोडिएका छन् । तर, कुनैबाट पनि पानी आउँदैन । शान्तिको घरसम्म खानेपानीका लागि जडित पाइपहरू मुहान खोलाखोल्सामै हराइसकेका छन् । उनले डोकोमा पानी नबोकी परिवारको तिर्खा मेटिँदैन ।

डोकोभरि बोतल बोकेर कुवा धाउनु उनको दैनिकी हो । ‘डोकोमा पानी बोक्दाबोक्दै थाप्लो खुइँलिसक्यो, खानेपानीको सुविधा पाएको छैन,’ उनले भने, ‘कात्तिकभरि कुवामा पानी रहन्छ, कुवा सुकेपछि अझ ओरालो झरेर खोल्सामै पुग्नुपर्छ । माघ–फागुनपछि त खोल्सामा समेत पानी रित्तिन्छ ।’

शान्तिको घरबाट झन्डै एक किलोमिटर ओरालो झरेपछि कुवा आइपुग्छ । दिनहुँ बिहान ४ देखि ८ बजेसम्म खोरिया, चापाख्वाल, छापलगायतका बासिन्दा डोकोमा खाली गाग्री र बोतलहरू बोकेर पानी भर्न कुवा झर्छन् । ‘परिवारको एक जनाका लागि पानी ओसार्ने ठेक्का जस्तै छ, मान्छे, गाईबस्तुलाई बोकेकै पानीले पुर्‍याउनुपर्छ,’ उनले भने । पानीको समस्या सधैं झेल्नुपरेको उनी गुनासो गर्छिन् । ‘०७२ सालको भूकम्पपछि कुवासमेत सुक्न थालेको छ । वर्षात्मा कुवाको भर, हिउँद लागेपछि ट्यांकरको भर पर्नुपरेको छ,’ उनी भन्छन् ।

०४६ मा प्रजातन्त्रको पुनःस्थापनापछिको निर्वाचनमा एकलौटी जित हासिल गरेको नेमकिपा, प्रदेशमा पालैपालो विजयी भएको एमाले, कांग्रेसका नेताहरूको अल्पकालीन योजनाबाट चाँगुनारायणवासी थप पीडित बनेको शान्ति बताउँछन् । ‘पटक–पटक खानेपानीको योजना नआएको होइन तर त्यो कहिल्यै दीर्घकालीन बन्न सकेन,’ उनले भने, ‘वर्ल्ड भिजन, खोरिया खानेपानी आयोजना पाइपलाइन विस्तार एवं ट्यांकी निर्माणका योजनाहरू आए, धारामा पानी नझर्दै योजना विफल भयो । यस भेगका बासिन्दा पीडितको पीडित नै छौं ।’

आजकल उनलाई खानेपानीको विषयमा कुरा गरेकै सुन्न मन लाग्दैन । ‘पहिले–पहिले पनि योजनाहरू नबनेको होइन तर ती योजनाहरू कता हराए, किन पानी आएन हामीलाई के थाहा ?’ उनी प्रतिप्रश्न गर्छन्, ‘मेरो घरमा मात्र नआएको भए पो थाहा पाउनु, सबै जना थाप्लो खुइँलिने गरी पानी बोकिरहेका छन्, कसलाई प्रश्न गर्नुहुन्छ ? जसले योजना ल्यायो, त्यसले खायो, हामी कुवाको पानी खाइरहेका छौं ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राजनीतिक पार्टी, स्वतन्त्र उम्मेदवारहरू आ–आफ्नो एजेन्डा बोकेर घरदैलोमा निस्किएका छन् । मुख्य राजनीतिक दलको चुनावी प्रतिबद्धता एक घर एक धारा वितरण कार्यक्रम अभियानकै रूपमा चलाएर परम्परागत मुहानहरूलाई संरक्षण गर्ने, शुद्ध पानी जनताको अधिकारलाई सुरक्षित गर्न पानीको गुणस्तर मापन केन्द्र पायक पर्ने ठाउँमा स्थापना गर्नेछ । यो चुनावमा पनि दलका मुख्य एजेन्डामा खानेपानी जोडिएकै छ । तर, चाँगुनारायण चापाख्वाल, छाप, खोरियालगायत बासिन्दाले कहिल्यै एजेन्डा अनुरूप काम भएको देखेका छैनन् ।

‘एक घर एक धारा भन्ने नारा लगाउँछन् । आफ्नो पीडा सधैंको उस्तै,’ स्थानीय रेजिना मगरले भनिन्, ‘धारा चुनावी एजेन्डा मात्र नबनोस्, पानी आउने धारा पनि बनोस् ।’ अघिल्ला निर्वाचनहरूमा जस्तो एजेन्डामा नलोभिएको चाँगुनारायणका बासिन्दा बताउँछन् । ‘नेतालाई भोट चाहिएको छ, तत्काल पानी खसाल्ने योजना बुन्दै छन्, अब हामीलाई नझुक्याओस्,’ चाँगुनारायण दबा टोलकी ज्ञानमाया गुरुङले भनिन् ।

प्रकाशित : कार्तिक २४, २०७९ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×